अर्थतन्त्रमा जारी सुधार
कोरोना महामारीपछि हाम्रो अर्थतन्त्र निरन्तर संकटमा रह्यो, चुनौतीहरू सामना गर्यो, आर्थिक वृद्धि सुस्त भयो।
लामो समय शिथिल जस्तै रहेको अर्थतन्त्रमा पछिल्ला केही महिनायता सुधारका संकेत देखिन थालेका छन्। केही आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन्।
के अर्थतन्त्रले अब सुधारको बाटो पक्रिएको हो? यसका आधार र कारण के हुन्? कहाँ कहाँ समस्या बाँकी छन्? यो सुधार दिगो होला? यो सुधारलाई थप अघि बढाउन सरकार, निजी क्षेत्रले के गर्नुपर्छ?
'अर्थतन्त्रमा जारी सुधार' शृंखलामा सेतोपाटी बिजनेस टिमले यिनै प्रश्नहरू सरोकारवालाहरूलाई सोधेको छ।
शृंखलाको यो भागमा प्रस्तुत छ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः
१. अर्थतन्त्र अहिले सुधारको बाटोमा गएको हो?
बन्द कोठाभित्र बस्दा हामी धेरैलाई अर्थतन्त्र ठप्प नै छ कि जस्तो लाग्छ। तर तुलनात्मक रूपमा आर्थिक गतिविधि विस्तार भइरहेकै अवस्था छ। सार्वजनिक सवारी साधनमा बढिरहेको मान्छेको ओहोरदोहोर, विद्यालय, अस्पताल लगायत क्षेत्रमा भइरहेका गतिविधि, थोक तथा खुद्रा व्यापारमा देखिएको सुधार, सार्वजनिक र निजी निर्माणमा देखिएको विस्तार र अन्तर्राष्ट्रिय व्यापारमा भएको बढोत्तरीले अर्थतन्त्र सुधारोन्मुख देखिएको छ।
हामी सबैलाई थाहा छ, समष्टिगत आर्थिक स्थायित्वका परिसूचकहरू, मुख्यगरी मूल्य वृद्धि विगत १७ महिनादेखि र विदेशी विनिमय सञ्चिति दुई वर्षयता नै सुविधाजनक छन्।
२. के के सूचकांकले अर्थतन्त्रमा सुधार देखाएका छन्?
तथ्यांकीय रूपमा हेर्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धिको अनुमान छ। यो हाम्रो औसत आर्थिक वृद्धि भन्दा माथि हो। र, यो वर्ष अन्तर्राष्ट्रिय एजेन्सीहरूले गरिरहेको प्रक्षेपणको वरिपरि नै वृद्धिदर छ।
चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ४ प्रतिशत मात्र आर्थिक वृद्धि भयो। गत आर्थिक वर्ष ३.८७ प्रतिशत र त्यो भन्दा अघिल्लो आर्थिक वर्ष १.९५ प्रतिशत आर्थिक वृद्धि भयो। यसरी आर्थिक वृद्धिको पछिल्लो तथ्यांकले आर्थिक गतिविधिमा भइरहेको विस्तार पुष्टि गर्छ।
यसैगरी पछिल्ला केही महिनाहरूमा मासिक आयात नै एक खर्ब ६० अर्ब रूपैयाँको छ। चालु आर्थिक वर्ष कात्तिकसम्म मासिक औसत एक खर्ब २८ अर्ब रूपैयाँको आयात थियो। मंसिरदेखि फागुनसम्मको एक खर्ब ५८ अर्ब रूपैयाँ छ। त्यस्तै, पुसदेखि फागुनसम्म एक खर्ब ६१ अर्ब रूपैयाँ छ।
यसैगरी यो वर्ष जनवरीदेखि मार्चसम्म करिब ३ लाख ११ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२४ को पहिलो तीन महिनामा करिब ३ लाख ५ हजार पर्यटक आएका थिए।
आयात निर्यात व्यापार, पर्यटन लगायत क्षेत्रमा देखिएको विस्तारले पनि अर्थतन्त्र सुधारोन्मुख भइरहेको देखाएको छ। साथै नारायणघाट–बटवल सडक र मुग्लिङ–पोखरा सडक निर्माणले गति लिएसँगै आर्थिक गतिविधि पनि विस्तार हुन थालेको छ।
३. के कारणले सुधार भएको हो भन्ने लाग्छ तपाईंलाई? कि एउटा 'बिजनेस साइकल' पार गरेर स्वाभाविक रूपमा आएको सुधार हो यो?
केही हदसम्म स्वाभाविक रूपमा व्यापार चक्रको कारण पनि हुन सक्छ। आर्थिक संकुचनपछि विस्तार हुने स्वाभाविक विषय नै हो। योबाहेक राजमार्ग विस्तारका कामले पाएको तीव्रता, कोभिडपछि शिथिल अन्तर्राष्ट्रिय पर्यटन व्यवसायमा आएको सुधार, ठूला राजनीतिक दलबीचको सहकार्यले व्यावसायिक वातावरणमा बढेको विश्वासले पनि केही हदसम्म आर्थिक गतिविधि चलायमान बनाउन काम गरिरहेको छ।
छिमेकी मुलुक भारतको अर्थतन्त्रले निरन्तर लिइरहेको विस्तारित गति र विश्व स्तरमा ठूला देशहरूमा देखिन थालेको अन्तर्मुखी नीतिका कारण समेत आन्तरिक अर्थतन्त्र विस्तारलाई प्रत्यक्ष, परोक्ष रूपमा टेवा पुर्याएको हुन सक्छ।
४. कुन कुन क्षेत्रमा वा कहाँ कहाँ अझै समस्याहरू बाँकी छन्?
आर्थिक वृद्धिका मुख्य निर्धारक भनेको कृषि, निर्माण र पर्यटन क्षेत्र हुन्। अर्थतन्त्रमा यी क्षेत्रहरूको यातायात, औद्योगिक उत्पादन, थोक तथा खुद्रा व्यापार जस्ता कुल गार्हस्थ्य उत्पादनमा ठूलो हिस्सा भएका क्षेत्रहरूसँग अग्र र पृष्ठ सम्बन्ध हुन्छ। यसर्थ सार्वजनिक एवम् निजी निर्माण, भूकम्प पछिको पुनर्निर्माण, पर्यटकीय गतिविधिलाई प्रवर्द्धन गर्न थप कदम चाल्नुपर्ने हुन्छ। यसबाट थप विश्वासयोग्य वातावरण निर्माण हुनेछ।
यसैगरी नेपाल दुई वर्षका लागि सम्पत्ति शुद्धीकरणको आधारमा एफएटिएफको 'ग्रे' सूचीमा छ। अन्तर्राष्ट्रिय रंगमञ्चमा यसको ठूलो असर हुन्छ। संस्थागत विकास, पारदर्शिता र अन्तर्राष्ट्रिय समन्वयको यसमा ठूलो भूमिका छ। यसर्थ आन्तरिक र बाह्य समन्वय अभिवृद्धि गर्दै लगानीको वातावरण थप सुदृढ बनाउनु आजको पहिलो आवश्यकता हो।
५. यो सुधार क्रमिक रूपले अघि बढ्छ वा दिगो हुन्छ भन्नेमा तपाईंलाई कति विश्वास छ?
आर्थिक वृद्धिमा देखिएको सुधार अझै पनि अनुमानयोग्य बनाउन समग्र वातावरण तदनुरूप निर्माण गर्नुपर्ने हुन्छ। हामीले आर्थिक वृद्धि र दिगो विकासलाई एक अर्काको परिपूरकका रूपमा अगाडि बढाउनुपर्ने हुन्छ। यसका लागि लगानीयोग्य वातावरण निर्माण, उदार अर्थतन्त्रको परिधिभित्र रहेर बहुजन हितका लागि गरिने नियमन पहिले सर्त हो।
समष्टिगत आर्थिक स्थायित्व र आर्थिक वृद्धिलाई पृथकीकरण गरेर भन्दा पनि सांगोपांगो हेर्नु दिगो सुधारको पहिलो सर्त हो। दिगो सुधारका लागि व्यावसायिक, राजनीतिक र 'टेक्नोक्र्याटिक' तीनै तहमा समान सोच र समन्वय भएमा सुधार दिगो हुन सक्छ।
६. अर्थतन्त्रमा देखिएको सुधारलाई थप अघि बढाउन सरकारले के गर्नुपर्छ?
विद्यमान अधिक तरलता, न्यून ब्याजदर, पेट्रोलियम पदार्थको न्यून मूल्यको अवस्थालाई अवसरका रूपमा सदुपयोग गर्दै पूर्वाधार निर्माण, विकास परियोजना लगायत कामलाई अगाडि बढाउनुपर्छ। जाजरकोट, डोटी, बझाङ जिल्लामा गत वर्ष भूकम्पले पुर्याएको क्षति पश्चातको पुनर्निर्माणलाई द्रुत्तत्तर गतिमा शीघ्र अगाडि बढाउनुपर्छ।
हामीले विकास, निर्माण र सुधारका लागि बाह्य निर्भरतामा मात्र जोड दिने वा रमाउने प्रवृत्ति त्यागेर जानुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय सहयोग र समन्वय उपयोग गर्दै आफू अनुकूलको नीति तर्जुमा गरी विकास निर्माणका काम अगाडि बढाउनुपर्छ।
हाम्रा संस्थाहरू कमजोर हुँदै गएका छन्। स्वार्थ समूहबाट संस्था निर्देशित हुन थाले भन्ने सन्देशलाई पनि राज्य र निजी क्षेत्रले चिर्न सक्नुपर्छ। सरकार र निजी क्षेत्रले एकअर्कालाई नियमन र नवप्रर्वतनको परिपूरक एवं पहरेदारको रूपमा हेर्ने हो भने आर्थिक वृद्धि र विकास दिगो हुन सक्छ।
७. अब सरकार, निजी क्षेत्रले के गर्नुपर्छ? आगामी बाटो के हो?
काठमाडौं बाहिर ठूला सहरको विकास, गुणस्तरीय शैक्षिक र स्वास्थ्य संस्थाको स्थापना, कृषि उपजको उत्पादन र बजारीकरणको सुनिश्चतता जस्ता विषयमा सरकारका तीनै तह र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक छ। निक्षेप र कर्जाको ब्याजदर घटेर न्यून बिन्दुमा आएकाले पुँजी पलायन, कर्जाको गुणस्तर खस्किने, सम्पत्तिको मूल्य अनुचित बढ्ने, अनौपचारिक व्यापार बढ्ने आदि जोखिमबाट पनि सरकार र निजी क्षेत्र सजग रहनुपर्ने हुन्छ।
हामीले तुलनात्मक लाभ भएको भनिएका क्षेत्रहरू कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला उद्योग, सूचना प्रविधि लगायत क्षेत्रमा सरकारले नियामकीय सहजीकरण गर्ने र निजी क्षेत्रले लगानी गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने हो भने सहजै उच्च आर्थिक वृद्धि हासिल गर्न सकिन्छ।
हामीले प्रजातन्त्र, जनसांख्यिक लाभ, डिजिटाइजेसन र भौगोलिक विविधताको लाभ लिन ढिला गर्नु हुँदैन। अझ हाम्रा छिमेकी मुलुकहरूले अमेरिकामा गर्ने निर्यातमा उच्च भन्सार लाग्ने भएसँगै नेपालले छिमेकी मुलुकको लगानी समेत आकर्षित गर्ने सक्ने सम्भावना छ। उपलब्ध सबै अवसरको लाभ लिन निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको समन्वय आजको आवश्यकता पनि हो।
यी पनि पढ्नुस्ः
के अर्थतन्त्र अब सुधारको बाटोमा लागेको हो– चन्द्र ढकालसँग अन्तर्वार्ता
अर्थतन्त्रको यो सुधार अस्थायी हो, दिगो बनाउन धेरै गर्नुपर्छ– पवन गोल्यान