प्राइभेट कम्पनीले गर्ने आम्दानी र आम्दानी बापत तिर्ने करमा उल्लेख्य सुधार देखिएको छ। यो वर्षमा यस्तो आय तथा आयकरमा ३६ प्रतिशतको वृद्धिदर छ।
प्राइभेट कम्पनीबाट आर्थिक वर्ष २०७५/७६ मा नै ३७ अर्ब ३९ करोडको आयकर संकलन भएको थियो।
कोभिडको कारण आर्थिक वर्ष २०७६/७७ मा उल्लेख्य मात्रामा घट्यो। त्यसपछिका वर्ष पनि उतारचढावका बीच गत वर्षसम्म आइपुग्दा ३९ अर्ब नौ करोड रूपैयाँ बराबरको मात्रै यस्तो कर संकलन भएको थियो।
पछिल्ला दुई आर्थिक वर्षमा प्राइभेट कम्पनीको आय अवस्था स्थिर देखिएको थियो।
चालु वर्षको ६ महिनाको अवधिमा नै २६ अर्ब ४६ करोड ४८ लाख रूपैयाँ यस्तो आयकर संकलन भएको छ। यो गत वर्षभर प्राइभेट कम्पनीको आयबाट संकलन भएको आयकरसँग तुलना गर्दा ६७ प्रतिशत बराबरको रकम हो।
गत आर्थिक वर्षको यसै समयमा भने जम्मा १७ अर्ब १६ करोड ८५ लाख रूपैयाँको संकलन थियो। चालु वर्षको ६ महिनामा यस्ता कम्पनीले बुझाउने आयकर नौ अर्ब ३० करोड अर्थात ३६ प्रतिशतले बढी छ।
चालु वर्षमा सरकार राजस्व संकलनको लक्ष्यबाट धेरै पछि भए पनि प्राइभेट कम्पनीको राजस्व संकलन भने लक्ष्य अनुसार नै भएको आन्तरिक राजस्व विभागले जनाएको छ।
समग्रमा आयकर संकलन २.४७ प्रतिशतले मात्रै बढेको छ। तर, प्राइभेट कम्पनीको आयकरमा देखिएको वृद्धिले यस्ता कम्पनीको मनोबल वृद्धिको संकेत गर्छ।
पुस मसान्तसम्ममा करदाताले आगामी दिनमा हुन सक्ने आयको अनुमानको आधारमा ४० प्रतिशत बराबरको कर बुझाएका हुन्छन्।
'उनीहरूले सामान्यतः चालु वर्षको ५ महिनाको कारोबार तथा आम्दानी अवस्था र आगामी दिनमा हुन सक्ने आम्दानीको आधारमा कर विवरण बुझाएका हुन्छन्। अहिले प्राइभेट कम्पनीमा राम्रो सुधारको संकेत देखिएको पाइन्छ,' आन्तरिक राजस्व विभागका एक अधिकारीले भने।
आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ।
यसको अर्थ पुस महिनासम्म करदाताले त्यस आर्थिक वर्षमा कति आम्दानी हुन्छ भन्ने अनुमान गरेको हुन्छ। त्यस्तो अनुमानयोग्य आम्दानीबाट पुस महिनामा ४० प्रतिशत, चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ।
त्यस्तै असार महिनामा थप ३० प्रतिशत करसहित शत प्रतिशत बुझाउनु पर्ने हुन्छ।
पब्लिकभन्दा प्राइभेट कम्पनीको बढी राजस्व
विगतका वर्षहरूमा संस्थागत आयकरमा सबभन्दा बढी योगदान पब्लिक कम्पनीको हुने गरेको छ। यो वर्ष भने प्राइभेट कम्पनीको सबभन्दा अघि देखिएको छ।
चालु वर्षको पहिलो ६ महिनामा पब्लिक कम्पनीबाट २६ अर्ब २१ करोड ३९ लाख रूपैयाँ मात्रै आयकर संकलन भएको छ। जबकि गत वर्ष यही समयमा ४० अर्ब ५१ करोड ५८ लाख रूपैयाँ राजस्व संकलन भएको थियो।
आर्थिक वर्ष २०७४/७५ मा पब्लिक र प्राइभेट कम्पनीले बुझाउने आयकरको हिस्सा समान थियो। त्यसपछिका वर्षहरूमा पब्लिकको हिस्सा उल्लेखनीय बढ्दै गएको थियो भने प्राइभेटको वृद्धिदर नगन्य मात्रै थियो।
८ वर्षमा पब्लिक र प्राइभेट कम्पनीले बुझाएको आयकर
यो वर्ष पब्लिकसँग सरकारी कम्पनीले बुझाउने आय कर पनि घटेको छ। विशेषगरी दूरसञ्चार र बैंक तथा वित्तीय संस्थाको आयमा आएको गिरावटको प्रभाव देखिएको करका अधिकारीहरू बताउँछन्।
राजस्व अधिकारीहरूका अनुसार सरकारी संस्थान र केही बैंक तथा वित्तीय कम्पनी गरी १२ वटा निकायबाट गत वर्षको भन्दा करिब तीन अर्ब आयकर कम संकलन भएको छ।
जस्तै नेपाल दूरसञ्चार प्राधिकरण गत वर्ष पुस महिनामा ४० करोड कर आयकर संकलन गरेको थियो। यो वर्ष भने यस्तो कर उपलब्ध गराएको छैन।
आगामी किस्तामा आम्दानी हुन सक्ने आकलन गरिएमा कर बुझाउनु पर्ने हुन्छ।
विद्युत प्राधिकरणबाट संकलन हुने आयकरको पहिलो किस्ता पनि घटेको छ। गत वर्ष ६५ करोड तिरेकोमा यो वर्ष ५० करोड मात्रै तिरेको छ।
नेपाल टेलिकमले गत वर्ष पहिलो किस्तामा ८० करोड आय कर बुझाएको थियो। अहिले जम्मा २५ करोड बुझाएको छ।
राष्ट्रिय वाणिज्य बैंकको आयकरमा पनि घटेको छ। त्यस्तै केही प्राइभेट क्षेत्रका बैंकहरूको आयकर पनि उल्लेख्य कमी आएको छ।
![company-1739258985.jpg](https://www.setopati.com/uploads/posts/company-1739258985.jpg)