भन्सार नाका कडा गर्ने क्रममा बेला बखत प्रहरी प्रशासनले निम्न वर्गीय परिवारलाई ज्यादति गरेको देखिन्छ। यी विषय संसदमा समेत उठेका छन्।
व्यावहारिक रूपमा प्रहरी प्रशासनले तीन/चार केजी सामान भन्सार नतिरी ल्याउँदा पनि कारबाही गर्दैन।
सशस्त्र प्रहरी बलले यसबारे एउटा अध्ययन गरेको थियो। सो अध्ययनले १२ सयभन्दा बढी व्यक्ति पेसेवर रूपमा यस्तो काममा मात्रै केन्द्रित भएको देखाएको छ।
यी १२ सय जति नेपाली नागरिकले हरेक दिनजसो सानो झोलामा भारतबाट सामान ल्याउने र नेपाल भित्र्याउने देखिएको हो।
'अहिले भारतसँग मात्रै सबै क्षेत्रमा गरेर १२ सय झोले/पोके (झोला पोकामा तीन/चार केजी सामान ल्याउने) छन्, उनीहरू दिनमा नै ६/७ पटक भारत जान्छन् र सामान ल्याउँछन्,' बुधबार संसदको अर्थ समितिमा गरिएको छलफलमा सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले भने।
त्यसअघि उनले भन्सार छलि गर्न नदिने सशस्त्र प्रहरी वल खटिए पनि दुई/चार केजी सामान ल्याउने निम्न वर्गीय नागरिकको सामान खोस्न नसकिने बताएका थिए। त्यसक्रममा अर्थसमिति सदस्य सूर्यबहादुर थापाले आफूहरूले अनुगमन गर्ने क्रममा एउटै व्यक्तिले पटक–पटक सामान ओसारेको देखेको भन्दै नियन्त्रण गर्नुपर्ने बताएका थिए।
थापालाई जबाफ दिने क्रममा शसस्त्र प्रहरी वल प्रमुख अर्यालले आफूहरूले यस विषयमा अध्ययन नै गरिएको बताए।
उनले १२ सय जना पेसेवर (आफ्नो घरको भान्साको लागि बाहेक) रूपमा नै काम सामान ओसार्ने गरेको प्रतिक्रिया दिए।
उनीहरूले पूर्वको मेची भन्सारदेखि पश्चिमको गड्डाचौकी कञ्चनपुर भन्सार कार्यालयसम्मका छोटी भन्सार तथा पैदल यात्रु ओहोरदोहोर गर्ने क्षेत्रहरूबाट दिनभर सामान बोक्ने काम मात्रै काम गरेका हुन्छन्। धेरै यस्ता नागरिकहरू शारीरिक रूपमा अशक्त, वृद्ध, महिला तथा बालबालिका बढी हुन्छन्।
व्यावहारिक रूपमा कारबाही गर्न समेत मुस्किल पर्ने अर्यालको तर्क छ।
उनीहरूले एकै दिनमा नै औसत चार सय क्विन्टलभन्दा बढी सामान पोकामा ओसार्ने उनले बताए। जस अनुसार ३५ देखि ४० लाख रूपैयाँको सामान दिनमा यसरी भित्रिने गर्छ।
यसअघि वीरगञ्ज भन्सार कार्यालयले पनि अनौपचारिक रूपमा गरेको अध्ययनले पनि पेसेवर रूपमा भारतबाट पोकामा सामान ल्याउनेको संख्या धेरै भएको कारणले नै भन्सार छलिमा सहयोग पुगेको निष्कर्ष निकालेको थियो।
त्यस्ता व्यक्तिहरू निश्चित समय मात्रै नभएर वर्षौंदेखि यही काम गरिरहेको बताइएको छ।
'उनीहरू आफ्नो लागि सामान ओहोरदोहोर गर्ने होइनन्। दिनभर सामान ल्याउँछन्, साँझ निश्चित रकम खटनपटनमा लगाएको व्यक्तिले दिन्छ,' त्यतिबेला एक भन्सार अधिकारीले भनेका थिए, 'हरेकजसो उपभोग्य वस्तुमा नेपालको तुलनामा भारतमा सस्तो छ, भन्सार नतिरी सामान ल्याउँदा व्यापारीलाई पनि धेरै लाभ हुन्छ।'
पेसेवर रूपमा यस्तो काम गर्ने व्यक्तिहरूलाई अन्य जागिरबाट प्रतिस्थापन गर्नुपर्ने सशस्त्रको सुझाव छ।
'यी व्यक्तिलाई नियन्त्रण गरेर वा २/४ दिन सामान खोसेर यो समस्या समाधान हुने होइन। यी व्यक्तिलाई अन्य जागिरबाट प्रतिस्थापन गर्ने गरी नीति ल्याउन आवश्यक छ,' अर्यालले समितिमा भने।
उनले खुला सीमानाकाको कारण चोरी पैठारी नियन्त्रणमा ठूलो समस्या पर्ने गरेको बताए।
'हाल मुख्य भन्सार कार्यालय भएका नाकाहरू ३७, छोटी भन्सार कार्यालय भएका नाकाहरू ४३ रहे पनि मानिस आवतजावत गर्न मिल्ने अन्य ८५८ वटा भन्सार कार्यालयविहीन बाटोहरू छन्, जसको दुरूपयोग भई तस्करी हुने देखिएको छ,' अर्यालले भने।
उनले कतिपय वस्तुको आयात प्रतिबन्ध, दशगजा क्षेत्रमा लाग्ने बजार, सीमावर्ती क्षेत्रमा मूल्यमा ठूलो अन्तर पनि भन्सार छलिको लागि सहयोग पुगेको प्रतिक्रिया दिए।
बोर्डर आउट पोष्ट (बिओपी) को संख्या कमी र भएका बिओपीमा समेत जनशक्ति कम भएको सशस्त्रले जनाएको छ।
हाल २५४ बिओपीमध्ये १०० वटामा सवारीसाधन नभएको गुनासो सशस्त्रको छ।
भन्सार तथ्यांक अनुसार चालु वर्षको पछिल्लो तीन महिनालाई छोड्ने हो भने साढे दुई वर्षदेखि नेपालको अन्तर्राष्ट्रिय व्यापार घट्दो छ।
अहिलेको तथ्यांक अनुसार भन्सार नाकाबाट मात्रै दिनको चार अर्ब ५६ करोड रूपैयाँ बराबरको सामान आयात हुने गरेको छ।