सरकारले विभिन्न अवस्थामा कतिपय वस्तुको अन्तर्राष्ट्रिय व्यापार रोक लगाउन सक्ने गरी प्रस्ताव ल्याएको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरिएको निकासी पैठारी नियमन विधेयकमा विभिन्न उद्देश्य प्राप्तिको लागि कुनै वस्तुको आयात निर्यात बन्देज लगाउन वा नियन्त्रण गर्न सक्ने प्रस्ताव गरिएको हो।
हाल निकासी पैठारी नियमन ऐन २०१३ को व्यवस्था अनुसार कतिपय वस्तुहरूको आयात निर्यात रोक लगाउने गरिएको छ।
प्रस्तावित नयाँ परिवेस अनुसार विभिन्न उद्देश्य प्राप्ति गर्न, गोपनीयता संरक्षण गर्न, सिर्जित दायित्व कम गर्न वा कर संकलन प्रभावकारी बनाउनको लागि आयात वा निर्यातमा बन्देज लगाउने व्यवस्था गरिएको छ।
यस्ता छन् २० अवस्थाः
–राष्ट्रिय सुरक्षा तथा राष्ट्र हितको संरक्षण गर्न
–सार्वजनिक सदाचार वा नैतिकता कायम राख्न
–मानव, पशुपन्छी वा वनस्पति जीवनको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरबाट संरक्षण गर्न
–लोपोन्मुख जीवजन्तु, पशुपन्छी वा वनस्पति तथा त्यस्तो जीवजन्तु, पशुपन्छी वा वनस्पतिको स्रोत प्रयोग गरिएको घरेलु उत्पादन वा उपयोग समेतमा बन्देज गर्ने गरी प्राकृतिक स्रोत र वातावरणको संरक्षण गर्न
–कलात्मक, ऐतिहासिक, पुरातात्त्विक वा सांस्कृतिक महत्त्वको वस्तु तथा राष्ट्रिय सम्पदाको संरक्षण गर्न
–सुन (धुलो, पाता वा कुनैपनि स्वरूपमा रहेको सुन), चाँदी, हिरा, बहुमूल्य जवाहिरात वा त्यस्तै अन्य बहुमूल्य धातु वा तिनबाट बनेको गरगहना, बहुमूल्य धातु मिश्रित अन्य वस्तु वा बहुमूल्य पत्थरको निकासी वा पैठारीलाई व्यवस्थित गर्न
–न्यून आपूर्ति वा अधिक आपूर्ति भएको वस्तुको प्राप्ति तथा वितरणको लागि उचित व्यवस्था गर्न
–विदेशी मुद्राको सञ्चितिमा ह्रास आएको कारणबाट अर्थतन्त्रमा उत्पन्न हुन सक्ने संकट हटाउने, रोक्ने वा अत्यन्त न्यून अवस्थामा रहेको विदेशी मुद्राको सञ्चितिमा वृद्धि गर्ने गरी मुलुकको बाह्य वित्तीय स्थिति र भुक्तानी सन्तुलनको सुरक्षा गर्न, (तर, यस्तो बन्देज व्यापारिक नमूनाको पैठारीमा रोक लगाउने वा पेटेन्ट, ट्रेडमार्क, प्रतिलिपि अधिकार र सोसँग सम्बन्धित कानुनी व्यवस्थाको परिपालनामा रोक लगाउने गरी प्रयोग गर्न नसकिने व्यवस्था गरिएको छ।)
–पेटेन्ट, ट्रेडमार्क, औद्योगिक डिजायन, प्रतिलिपि अधिकार, भौगोलिक पहिचान (जिओग्राफिकल इन्डिकेसन), व्यापारिक गोपनीयता (ट्रेड सेक्रेट) को संरक्षण जस्ता बौद्धिक सम्पत्तिको संरक्षण गर्न
–अन्तर्राष्ट्रिय व्यापारमा उपभोग्य सामग्रीको वर्गीकरण, स्तर निर्धारण वा बजारीकरणका मापदण्ड कायम गर्न
–अत्यावश्यक खाद्य वस्तु वा उत्पादनको आपूर्ति तथा वितरणमा उचित व्यवस्था गर्न वा त्यस्तो खाद्य वस्तु वा उत्पादनको अभाव हुनबाट रोक्न
– नयाँ सिप वा प्रविधियुक्त उद्योगको विकास, प्रवर्द्धन र संरक्षण गर्न
–प्रतिस्पर्धात्मक क्षमता भएको प्रशोधन उद्योगको लागि आवश्यक पर्ने स्वदेशी कच्चा पदार्थको उपलब्धतालाई सुनिश्चित गर्न
–अप्रत्यासित रूपमा ठूलो मात्रामा पैठारी भएको वस्तुबाट त्यस्तै प्रकृतिको वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई पर्न सक्ने गम्भीर हानी नोक्सानीबाट संरक्षण गर्न
–अस्वस्थ वा अनधिकृत व्यापारिक क्रियाकलापलाई रोक लगाउन वा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न
–अनधिकृत निकासी वा पैठारीलाई नियन्त्रण वा निरुत्साहित गर्न
–संयुक्त राष्ट्र संघको वडापत्र तथा नेपाल पक्ष भएको बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय सन्धि सम्झौता कार्यान्वयन गर्न तथा सोबाट सिर्जित दायित्व पूरा गर्न
त्यस्तै, कुनै सर्त वा निश्चित अवधि तोकेर पनि आयाता निर्यातमा बन्देज लगाउन सक्ने व्यवस्था गरिएको छ।
जसअनुसार द्वेषपूर्ण र जालसाजीपूर्ण अभ्यासको रोकथाम गर्न वा सेवा सम्बन्धी करारको परिपालना नगरेको कारणबाट सिर्जित असर सम्बोधन गर्न) व्यक्तिगत तथ्यांक प्रशोधन र सम्प्रेषण गर्दा व्यक्तिको गोपनीयता तथा व्यक्तिगत अभिलेख र खाताको गोपनीयताको संरक्षण गर्न, कुनै व्यावसायिक सुरक्षा मापदण्ड कायम गर्न, सेवा वा सेवा प्रदायकको सम्बन्धमा राष्ट्रिय कर प्रणाली अन्तर्गत प्रभावकारी किसिमले कर लगाउने वा संकलन गर्ने कार्य सुनिश्चित गर्नको लागि पनि आयात निर्यात बन्द गर्न सकिने प्रस्ताव गरिएको छ।
माथि उल्लेखित सर्त वा उद्देश्य पूरा गर्नको लागि आयात निर्यातमा बन्देज लगाउने वा नियन्त्रण गर्दा उल्लिखित वस्तु निकासी वा पैठारी गर्न पाउने व्यक्ति र सोको परिमाण तोक्न सकिने व्यवस्था गरिएको छ।
बन्देज वा नियन्त्रण गर्नु पहिले सरकारले आदेश जारी गर्नु पर्ने हुन्छ। यस अघि कोभिड–१९ को समयमा वा विदेशी मुद्राको सञ्चिति घटेको समयमा सरकारले विभिन्न वस्तुको हरूको आयातमा बन्देज लगाएको थियो।
अहिले पनि सुन लगायतका वस्तुको आयात गर्दा कोटा निर्धारण गरिएको छ।