यो वर्ष नेपाली चियाको माग र मूल्य बढेको छ।
नेपालको चियाको लागि मुख्य बजार भारत हो। तर विगतका वर्षहरूमा भारतले लगातार गैरभन्सार अवरोधहरू सिर्जना गरेपछि निर्यातमा समस्या देखिने गरेको थियो।
सम्बद्ध व्यवसायीहरूका अनुसार यो वर्ष अहिलेसम्म गैरभन्सार अवरोध भएको छैन। नेपाली चियाले विगत वर्षको तुलनामा यो वर्ष मूल्य पनि बढी पाएको छ।
चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) को अवधिमा विश्वका १५ राष्ट्रमा एक करोड १३ लाख २६ हजार केजी चिया निर्यात भएको छ। यसमध्ये भारतमा मात्रै भने एक करोड १० लाख केजी चिया निर्यात भएको छ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यो वर्ष परिमाणात्मक रूपमा ३३ र मूल्यको हिसाबले ४८ प्रतिशतले निर्यात बढेको छ। यसले गत वर्षको तुलनामा उल्लेख्य मूल्य बढेको देखाएको छ।
गत वर्ष पहिलो ६ महिनामा ८५ लाख १६ हजार केजी चिया दुई अर्ब १४ करोड रूपैयाँमा निर्यात भएको थियो। यो वर्ष भने एक करोड १३ लाख २६ हजार केजी चिया तीन अर्ब १६ करोड रूपैयाँमा निर्यात भएको छ।
'यो वर्ष हाम्रो चियाले राम्रो मार्केट पाएको छ। विगतमा भारतबाट धेरै गैरभन्सार अवरोध भोग्नु परेको थियो। यो वर्ष अहिलेसम्म त्यस्तो कुनै पनि अवरोध छैन,' नेपाल चिया उत्पादक संघका निवर्तमान अध्यक्ष तथा मित्तल टि स्टेटका सञ्चालक सुरेश मित्तलले भने।
उनले भारतमा चिया उत्पादन घटेको कारण नै नेपाली चियाको धेरै माग भएको र मूल्य पनि बढेको बताए।
भारतीय समाचार पोर्टल गांव जक्सनका अनुसार भारतको मुख्य चिया उत्पादन हुने मुख्य क्षेत्र मध्येको एक दार्जिलिङमा चियाको उत्पादन घट्दो क्रममा छ।
२०२३ को तुलनामा दार्जिलिङमा २०२४ मा १४ प्रतिशतले चिया उत्पादन घटेर ६० लाख केजी मात्रै उत्पादन भएको छ। जबकि एक दशकअघि दार्जिलिङमा साढे ९१ लाख केजीसम्म चिया उत्पादन भएको थियो।
सन् २०११ मा ९१ लाख ४० हजार, सन् २०१६ मा ८१ लाख ३० हजार किलो चिया उत्पादन भएको थियो।
गत वर्ष भने करिब ७० लाख केजी चिया उत्पादन भएको थियो। जलवायु परिवर्तनको कारण अहिले चियाको समयमा मुना नपलाउने समस्या देखिएको छ।
चिया उत्पादक अग्रवालका अनुसार गत वर्ष भारतमा समग्रमा १० प्रतिशतभन्दा बढी उत्पादन घटेको छ।
त्यसो त नेपालमा पनि चियाको उत्पादन घट्दो क्रममा देखिन थालेको उनले बताए। यो वर्ष अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत चियाको उत्पादन घटेको छ।
कृषि तथ्यांक २०७८/७९ अनुसार नेपालका ३४ जिल्लाको २० हजार २१९ हेक्टर जमिनमा चिया खेती हुने गरेको छ भने वार्षिक दुई करोड ६४ लाख केजी चिया उत्पादन हुने गरेको छ।
सबभन्दा धेरै चिया उत्पादन भने झापा जिल्लामा हुने गरेको छ। झापामा मात्रै ७३ प्रतिशत अर्थात् एक करोड ९४ लाख केजी उत्पादन हुने गरेको छ। झापापछि धेरै चिया उत्पादन गर्ने जिल्लामा इलाम पर्छ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा चियाको उत्पादन घट्दो क्रममा देखिएको छ। साथै चिया उत्पादन गर्ने क्षेत्र पनि कम भएको छ।
अधिकांश कृषि उपजहरू आयात गर्नु परे पनि चिया, अदुवा, अलैँची लगायतका कृषि उत्पादन निर्यात पनि हुने गरेका छन्।
यो वर्ष चिया जस्तै अलैँचीको मूल्य पनि विश्व बजारमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा परिमाणात्मक रूपमा अलैँचीको निर्यात घटे पनि मूल्य भने बढेको छ।
परिमाणात्मक रूपमा यो वर्ष अलैँची ७ प्रतिशतले घटेर २६ लाख ७४ हजार केजी मात्रै निर्यात भएको छ। तर निर्यात मूल्य भने १७ प्रतिशतले बढेको छ।
६ महिनाको अवधिमा पनि मूल्यको हिसाबले बढेको छ। यो अवधिमा चार अर्ब ५६ करोड ६५ लाख रूपैयाँको अलैँची निर्यात भएको छ। गत वर्ष यसै अवधिमा भने तीन अर्ब ९० करोड ७७ लाख रूपैयाँको निर्यात भएको थियो।