चालु वर्षमा सरकारको आम्दानी र खर्चबीचको खाडल बढेको छ।
६ महिनाको अवधिमा ९३ अर्ब रूपैयाँको बजेट घाटा पुगेको हो। गत वर्ष यो अवधिमा ४८ अर्ब रूपैयाँको घाटा बजेट पुगेको थियो।
६ महिनामा सरकारले ६ खर्ब ६७ अर्ब रूपैयाँ बराबरको बजेट खर्च भएको छ। यसै समयमा सरकारले ऋण बाहेक ५ खर्ब ७४ अर्ब रूपैयाँ आय गरेको छ।
यस्तो अपुग खर्च पूरा गर्नको लागि सरकारले बजेट बनाउने क्रममा नै घाटा बजेटको व्यवस्था गरेको हुन्छ। यस्तो घाटा बजेट आन्तरिक तथा बाह्य ऋणबाट पूर्ति गर्ने गरिन्छ।
समग्रमा सरकारको खर्च गत वर्षको तुलनामा १८ प्रतिशतले र ऋण बाहेकको आम्दानी ११ प्रतिशतले बढेको छ।
६ महिनाको अवधिमा चालु तथा प्रशासनिक खर्च ३ प्रतिशतले बढेर ४ खर्ब ५२ अर्ब पुगेको छ।
यसमा मुख्यत: सार्वजनिक ऋणको ब्याज खर्च बढेको छ। चालु खर्च अन्तर्गत प्रशासनिक खर्च, प्रदेश तथा स्थानीय तहलाई दिने अनुदान र सार्वजनिक ऋणको ब्याज खर्च पर्छ।
पुँजीगत खर्च गत वर्षको तुलनामा १५ प्रतिशतले बढेर ५६ अर्ब ९३ करोड पुगेको छ। रकमका आधार १५ प्रतिशत बढी देखिए पनि बजेट विनियोजन अनुसार खर्च गरिएको प्रतिशत भने गत वर्ष र यो वर्ष उस्तै छ।
यो वर्षको लागि सरकारले तीन खर्ब ५२ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। चालु वर्षको पहिलो महिना साउनमा उल्लेख्य पुँजीगत खर्च बढे पनि त्यसपछिका महिनामा भने गत वर्ष बराबर पनि खर्च हुन सकेको छैन।
यो वर्ष भने करिब २३ अर्ब रूपैयाँ निर्माण व्यवसायीको बक्यौता भुक्तानीमा सकिएको अर्थका अधिकारीहरूले बताएका छन्। अर्थका अनुसार गत वर्षको करिब २८ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको थियो।
यो वर्ष परियोजनाहरूमा निर्माण गतिविधिहरू थप सुस्त देखिएको छ। यसले ठूलो रकम गत वर्षको भुक्तानी गरेर पनि समग्रमा पुँजीगत खर्च बढ्न सकेको छैन।
सार्वजनिक ऋणको सावाँ भुक्तानी तथा सार्वजनिक संस्थानमा गरिएको लगानी अन्तर्गतको (वित्तीय व्यवस्थापन) खर्च ९८ प्रतिशले बढेको छ। अघिल्लो वर्ष ६ महिनामा यस्तो खर्च ८० अर्ब रूपैयाँको भएको थियो।
यो वर्ष भने एक खर्ब ५८ अर्ब रूपैयाँ पुगेको छ। यसमध्ये करिब एक खर्ब ५१ अर्ब रूपैयाँ सार्वजनिक ऋणको सावाँ भुक्तानीमा सकिएको छ। ७ अर्ब बराबरको खर्च सार्वजनिक संस्थानमा लगानी बढाइएको हो।
६ महिनाको अवधिमा राजस्वमा करिब १३ प्रतिशतको वृद्धिदर छ। अनुदानमा उल्लेख्य सुधार आएको छ। तर अन्य प्राप्ति भने घटेको छ।
विगतको बेरूजु असुली कम भएको कारण अन्य प्राप्ति अन्तर्गतको आम्दानी घटेको अर्थका अधिकारीको भनाइ छ।
अन्य प्राप्ति अन्तर्गत बेरूजु तथा प्रदेश तथा स्थानीय तहको सरकारले खर्च नगरेर फिर्ता भएको अनुदानबाट आएको रकम पर्ने गर्छ।
यो अवधिमा कर राजस्व १०.३३ प्रतिशतले बढेको छ। यो अवधिमा चार खर्ब ९८ अर्ब ३९ करोड रूपैयाँ बराबरको कर राजस्व संकलन भएको छ। गत वर्ष यसै समयमा चार खर्ब ४३ अर्ब ५५ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको थियो।
यो वर्ष एक खर्ब २२ अर्ब ३९ करोड बराबरको आयकर संकलन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो।
समग्रमा ६ प्रतिशतले बढे पनि पुस महिनामा मात्रै २१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सरकारले एफपिओ तथा वार्गेन पर्चेज गेन अन्तर्गत करिब १३ अर्ब रूपैयाँ अतरिक्त कर उठाउन सकेको कारण यो वर्ष वृद्धिदर कम देखिएको राजस्वका अधिकारी बताउँछन्।
बहाल कर १० प्रतिशतले बढेर एक अर्ब २८ करोड पुगेको छ। ब्याजकर १५ प्रतिशतले घटेर १६ अर्ब नौ करोड संकलन भएको छ।
मूल्य अभिवृद्धिकर १६ प्रतिशतले बढेर ६४ अर्ब ५८ करोड संकलन भएको छ। अन्तशुल्क २२ प्रतिशतले बढेर ५७ अर्ब ४१ करोड संकलन भएको छ।
गैर कर राजस्व गत वर्षको तुलनामा ३२ प्रतिशतले बढेको छ। यसको अर्थ सरकारले संकलन गर्ने विभिन्न शुल्कहरूबाट हुने आम्दानी बढेको भन्ने हुन्छ। ६ महिनाको अवधिमा ७० अर्ब २० करोड रूपैयाँको गैर कर प्राप्त भएको छ। गत वर्ष यो समयमा ५२ अर्ब ९४ करोड संकलन भएको थियो।
विदेशी अनुदान पनि बढेर ७ अर्ब ३६ करोड पुगेको छ। गत वर्ष यो अवधिमा दुई अर्ब २७ करोड प्राप्ति भएको थियो।
अन्य प्राप्ति भने गत वर्षको भन्दा ११ अर्ब १० करोड रूपैयाँले कम छ। गत वर्ष यस्तो प्राप्ति १८ अर्ब ८९ करोड रूपैयाँको थियो। यो वर्ष सात अर्ब ७८ करोड रूपैयाँको छ।
समग्रमा ऋण बाहेकको आम्दानी गत वर्षको भन्दा ५६ अर्ब ६१ करोड रूपैयाँले बढेर पाँच खर्ब ७४ अर्ब ७५ करोड पुगेको छ।
सरकारले ६ महिनाको अवधिमा राजस्वबाट मात्रै ६ खर्ब ७५ अर्ब स्रोत उठाउने लक्ष्य निर्धारण गरे पनि अनुदान र अन्य प्राप्तिसमेत जोड्दा पनि एक खर्बको खाडल देखिएको छ।
तालिकामा ६ महिनाको खर्च आम्दानी:
शीर्षक | यो वर्ष ६ महिना | गत वर्ष ६ महिना | घटबढ |
समग्र राजस्व | पाँच खर्ब ५९ अर्ब ६० करोड | चार खर्ब ९६ अर्ब ४९ करोड | ६३ अर्ब १० करोड |
कर राजस्व | चार खर्ब ८९ अर्ब ३९ करोड | चार खर्ब ४३ अर्ब ५५ करोड | ४५ अर्ब ८४ करोड |
गैरकर राजस्व | ७० अर्ब २० करोड | ५२ अर्ब ९४ करोड | १७ अर्ब २६ कोड |
अनुदान | सात अर्ब ३७ करोड | दुई अर्ब ७५ करोड | ४ अर्ब ६१ करोड |
अन्य प्राप्ति | सात अर्ब ८९ करोड | १८ अर्ब ८९ करोड | ११ अर्ब १० करोड (कम) |
ऋणबाहेकको जम्मा आम्दानी | पाँच खर्ब ७४ अर्ब ७६ करोड | पाँच खर्ब १८ अर्ब ५५ करोड | ५६ अर्ब ६१ करोड |
|
जम्मा खर्च | ६ खर्ब ७६ अर्ब ६० करोड | ५ खर्ब ६६ अर्ब ६२ करोड | एक खर्ब नौ करोड |
चालु खर्च | चार खर्ब ५२ अर्ब | चार खर्ब ३७ अर्ब ३८ करोड | १४ अर्ब ६२ करोड |
पुँजीगत खर्च | ५६ अर्ब ९३ करोड | ४९ अर्ब २३ करोड | ७ अर्ब ६९ करोड |
वित्तीय व्यवस्थापन खर्च | एक खर्ब ५८ अर्ब ८६ करोड | ८० अर्ब | ७८ अर्ब ६५ करोड |