प्रमुख भन्सार कार्यालयहरूमा निरन्तर हुने सरूवाले भन्सार प्रशासनको स्थायित्वमा प्रश्न उठाएको छ।
भैरहवा, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयका प्रमुखहरूलाई १० महिना नपुग्दै फेरबदल गरिएको छ।
२०८० कात्तिकमा जिम्मेवारी सम्हालेका यी प्रमुखहरू सोमबार सरूवामा परेका हुन्।
१० महिना नपुग्दै सरूवामा परेका भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा सरूवा गरिएको छ।
त्यस्तै उपसचिव मानबहादुर पौडेललाई कृष्णनगर भन्सार कार्यालयबाट जनकपुर भन्सारमा, रामप्रसाद रेग्मीलाई मेची भन्सार कार्यालयबाट भैरहवा भन्सारमा र ध्रुवराज विश्वकर्मालाई नेपालगञ्जबाट गौतम बुद्ध विमानस्थल भन्सार कार्यालयमा सरूवा गरिएको छ।
सोमबार भन्सारसँग सम्बन्धित १९ जना उपसचिवहरूको सरूवा गरिएको थियो। मंगलबार यो सरूवा सर्कुलर गरिएको हो।
अर्थमन्त्री परिवर्तन भएपछिको नियमित सचिवदेखि विभागीय प्रमुखसम्मको सरूवा हुँदै आएको छ। तर कर्मचारीहरूले यो पटकको सरूवालाई शंका र असन्तुष्टिका दृष्टिले हेरिरहेका छन्।
अहिले भन्सारमा सबै नयाँ अनुहार देखिएको छ। भन्सार अन्तर्गत पाँच जना सहसचिव हुने गरेकोमा पाँच जना नै परिवर्तन भएका छन्।
भन्सार विभागमा एक जना महानिर्देशकसहित दुई जना उपमहानिर्देशक सहसचिव रहन्छ। त्यस्तै वीरगञ्ज र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सहसचिवको दरबन्दी रहेको छ। अहिले सबै जनाको सरूवा गरेर नयाँलाई जिम्मेवारी दिइएको छ।
यद्यपि धेरै जना पहिले भन्सारमा काम गरेका र राजस्वका क्याडर भएका कारण काममा प्रभाव नपर्ने अर्थमन्त्रालयका अधिकारीहरूले बताएका छन्।
तर अहिलेको सरूवा प्रति धेरै गुनासो गरिएको छ। उनीहरूले सरूवा गर्दा कामको आधार र कार्यकालको अवधिलाई ध्यानमा राख्नुपर्ने भए पनि नेतृत्व परिवर्तनपछि नेतृत्वसँग नजिक भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने चलन बढ्दै गएको गुनासो गरेका छन्।
'कामको आधारमा सरूवा गरिनु पर्ने हो, तर अहिले नेतृत्वसँग निकट रहेका व्यक्तिहरूलाई मात्र फाइदा पुर्याउने केन्द्रित सरूवा भइरहेको छ,' भन्सार कार्यालयका एक कर्मचारीले भने।'
यो प्रवृत्तिले योग्य र अनुभव भएका कर्मचारीहरूको मनोबल गिराउने जोखिम बढेको उनीहरू बताउँछन्।
उपसचिव रामप्रसाद पाठकलाई रसुवा भन्सारबाट वीरगञ्ज भन्सारमा सरूवा गरिएको छ। रसुवामा १६ महिना बिताएपछि पाठकलाई वीरगञ्ज पठाइएको हो। यसअघि, पाठक मेची भन्सार काँकडभिट्टा भन्सार प्रमुखका रूपमा कार्यरत थिए।
अहिले रसुवा भन्सारको प्रमुखको जिम्मा उपसचिव तुलसी भट्टराईलाई दिइएको छ। उपसचिव युक्त सुवेदीलाई सुख्खा बन्दरगाह भन्सारबाट आन्तरिक राजस्व कार्यालय हेटौंडा पठाइएको छ।
कुन भन्सार कार्यालयमा को पठाइयो?
कर्मचारीको नाम | सरूवापछिको कार्यालय |
तुलसीप्रसाद भट्टराई | रसुवा भन्सार कार्यालय |
रोजेन्द्रप्रसाद चुडाल | मेची भन्सार कार्यालय |
मानबहादुर पौडेल | जनकपुर भन्सार कार्यालय |
रामप्रसाद पाठक | वीरगञ्ज भन्सार कार्यालय |
जनार्दन पौडेल | नेपालगञ्ज भन्सार कार्यालय |
रामप्रसाद रेग्मी | भैरहवा भन्सार कार्यालय |
राजेन्द्र बस्नेत | जलेश्वर भन्सार कार्यालय |
फणिन्द्र खतिवडा | कृष्णनगर भन्सार कार्यालय |
उषा पोखरेल | चोभार सुक्खा बन्दरगाहा |
ध्रुवराज विश्वकर्मा | गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय |
नारद गौतम | भन्सार जाँचपास परीक्षण कार्यालय |
अनन्तप्रसाद तिमिल्सिना | कैलाली भन्सार कार्यालय |
विशेषगरी, असोज र कात्तिक महिना भन्सार प्रशासनको लागि सबैभन्दा महत्त्वपूर्ण समय हो। यस समयको सरूवाले राजस्व संकलनमा नकारात्मक असर पुर्याउने भन्सारका अधिकारीहरूको भनाइ छ।
चाडपर्वको बेला बढी मात्रामा सामान आयात हुने हुँदा, भन्सार छलीका घटना पनि बढ्न सक्छन्। नयाँ ठाउँमा गएपछि जिम्मेवारी बुझ्न र काममा तालमेल मिलाउन दुईदेखि तीन महिना लाग्न सक्छ जसले गर्दा राजस्व चुहावटको खतरा अझ बढ्न सक्छ।
अहिलेको सरूवालाई धेरैले अस्थिरताको संकेतको रूपमा लिएका छन्।
यसले भन्सार प्रशासनको स्थायित्वमा प्रश्न उठाएको छ र समयमै प्रभावकारी कदम नचालिएमा, राजस्व संकलनमा नकारात्मक असर पर्ने सम्भावना रहेको अधिकारीहरूले औंल्याएका छन्।
'समयमै सरूवा गरिनु पर्छ तर, काम र जिम्मेवारीको आधारमा गरिनुपर्छ,' एक भन्सार अधिकारीले भने।