पछिल्लो एक वर्षमा १३ थरीका खानीहरू उत्खनन् गरिएको छ।
सुन, चाँदी, हिरा, मोती, फलाम, ढुंगा, माटोदेखि पेट्रोल तथा कोइलासम्म सबै खानीमा आधारित सामग्री हुन्।
सुन, फलाम, तामा जस्ता बहुमूल्य धातुहरू नेपालमा हुन सक्ने आकलनका आधारमा अहिले खोजतलास भइरहेको छ भने चुनढुंगा, डोलोमाइट, ग्राभेल, कोइला लगायतका १३ प्रकारका खनिजको उत्खनन् गरिने गरेको छ।
कुनै पनि सूचना, जानकारी वा शंकाको आधारमा सम्बन्धित खनिज भए/नभएको पुष्टि गर्न पहिले खोजतलास गरिन्छ।
खोजतलासबाट सम्बन्धित धातु वा खनिज पत्ता लागेमा उत्खनन् गरिन्छ।
पछिल्लो आर्थिक वर्ष (२०८०–८१) मा खानी उत्खनन् र रोयल्टी संकलनमा वृद्धि भएको खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट नारायण बाँस्कोटाले बताए।
आर्थिक वर्ष २०७९–८० को तुलनामा केही खनिजको उत्पादन घटे पनि समग्र रोयल्टी संकलनमा सुधार आएको छ।
सिमेन्ट कम्पनीहरूले व्यवसाय घटेको बताइरहेका बेला चुनढुंगाको उत्खनन् भने बढेको देखिएको छ। चुनढुंगाको प्रयोग सिमेन्ट उत्पादनको क्रममा गरिने गर्छ। यो सिमेन्टको लागि प्रमुख कच्चापदार्थ हो।
पछिल्लो आर्थिक वर्षमा ९९ लाख ६९ हजार २७७ टन चुनढुंगाको उत्खनन् भएको छ। जसबाट सरकारलाई ६० करोड ३६ लाख रूपैयाँ रोयल्टी प्राप्त भएको छ।
आर्थिक वर्ष २०७९–८० मा ८२ लाख ९० हजार ५७ टन चुनढुंगा उत्खनन् गरिएको थियो। जसबाट सरकारले ४९ करोड ७८ लाख ८१ हजार रूपैयाँ रोयल्टी संकलन गरेको थियो। यस वर्ष भने चुनढुंगाको उत्खनन् करिब १७ लाख टनले बढेको छ भने रोयल्टी ११ करोड बढेको छ।
हालसम्म चुनढुंगा उत्खनन्का लागि सरकारले करिब ९५ वटा लाइसेन्स जारी गरेको छ। पाल्पाको ११ स्थानमा चुनढुंगाको उत्खनन् भएको छ। पाल्पाका १० वटा पालिकामध्ये तिनाउ गाउँपालिकामा मात्रै पाँचवटा चुनढुंगा खानी छन्।
नेपालका ठूला सिमेन्ट उद्योगहरू सर्वोत्तम, होङ्सी, पाल्पा, सिजी लगायतले पाल्पा जिल्लाबाटै चुनढुंगा लिन्छन्।
त्यस्तै, मकवानपुर जिल्लामा आठवटा, रोल्पामा ६, धादिङमा चार र दाङमा चारवटा चुनढुंगा उत्खनन् भएको छ।
यी बाहेक अर्घाखाँची, काभ्रेपलाञ्चोक, चितवन, धनकुटा, ललितपुर, नुवाकोट, प्युठान, सिन्धुली, तनहुँ र उदयपुरमा चुनढुंगा खानी सञ्चालन छन्।
नेपालको खानी क्षेत्रमध्ये सबभन्दा बढी उत्खनन् भएको र धेरै रोयल्टी तिर्ने क्षेत्र चुनढुंगा नै हो। अन्यको खानीको उत्खनन् र रोयल्टी नगन्य मात्रै देखिन्छ।
पछिल्लो आर्थिक वर्षमा कोइलाको उत्खनन्मा कमी आएको देखिन्छ। आर्थिक वर्ष २०८०–८१ भर दुई हजार २६५ टन कोइला उत्खनन् भएको छ। जबकि आर्थिक वर्ष २०७९–८० मा दुई हजार ८०५ टन कोइला उत्खनन् भएको थियो।
उत्खनन् घटेसँगै रोयल्टी पनि घटेको छ। पछिल्लो वर्षमा रोयल्टी ९५ हजार रूपैयाँले घटेर चार लाख १७ हजार संकलन भएको छ।
डोलोमाइट खानीको उत्पादनमा केही कमी आएको छ। आर्थिक वर्ष २०७९–८० मा १९ हजार ५८२ टन डोलोमाइट उत्खनन् गरिएको थियो। पछिल्लो वर्ष अर्थात २०८०–८१ मा भने १४ हजार २४४ टन उत्खनन् भएको छ। रोयल्टी सात लाख १२ हजार प्राप्त भएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
त्यस्तै, काइनाइट रत्नको उत्खनन्मा पनि कमी आएको छ। आर्थिक वर्ष २०७९–८० मा १०३ केजी काइनाइट रत्न उत्खनन् गरिएको थियो। आर्थिक वर्ष २०८०–८१ मा भने ३९.३ केजी मात्रै उत्खनन् भएको छ।
क्वार्जाइटको उत्खनन्मा भने उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०७९–८० मा १६ हजार ७०० वर्गमिटर क्वार्जाइट उत्खनन् गरिएको थियो। पछिल्लो आर्थिक वर्षमा भने ५२ हजार ७३४ वर्गमिटर उत्खनन् भएको खानी तथा भूगर्भ विभागले जनाएको छ। जसले करिब १० लाख ५४ हजार ६९४ रूपैयाँ रोयल्टी प्रदान गरेको छ।
ग्राभेल खानीको उत्खनन्मा पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०७९–८० मा चार हजार २३५ घनमिटर ग्राभेल उत्खनन् भएकोमा पछिल्लो वर्ष ७ हजार ५७५ घनमिटर उत्खनन् भएको छ।
पछिल्लो आर्थिक वर्षमा ११ हजार पाँच घनमिटर जेनरल क्ले, चार हजार केजी लिड, ६३९ टन मार्बल चिप्स उत्खनन् भएको छ। त्यस्तै, दुई हजार ३३५ टन तालक तथा १६ हजार २४४ घनमिटर ढुंगा उत्खनन् भएको विभागले जनाएको छ।
नेपालको खानी क्षेत्रले समग्रमा ६० करोड ७३ रुपैयाँ रोयल्टी संकलन गरेको छ। यो आर्थिक वर्ष २०७९–८० को तुलनामा करिब १० करोड रूपैयाँले बढी हो।
खानी क्षेत्रको उत्पादनमा विभिन्न उतारचढाव देखिए पनि समग्र राजस्व संकलनमा सकारात्मक सुधार देखिएको छ।
यद्यपि खानीको खोजतलास र यसको प्रयोग न्यून मात्रै भएको खानी तथा भूगर्भ विभागका अधिकारीहरू बताउँछन्।