गत आर्थिक वर्षमा नेपालको निर्यात व्यापार करिब तीन प्रतिशतले घट्यो।
आर्थिक वर्ष २०७९-८० मा एक खर्ब ५७ अर्ब रूपैयाँको निर्यात व्यापार भएको थियो। गत वर्ष एक खर्ब ५२ अर्ब रूपैयाँको मात्रै भयो।
यो नेपाली वस्तुले पाएको निर्यात मूल्यको आधारमा निकालिएको तथ्यांक हो।
कतिपय वस्तुहरूको परिमाणात्मक रूपमा निर्यात बढेको छ। तर, बजार मूल्य घटेको कारण असर पुगेको छ।
जस्तैः आर्थिक वर्ष २०७९-८० मा १० करोड ३३ लाख स्क्वायर मिटर जुटबाट बुनिएका कपडाको निर्यात भएको थियो। यो कपडा अन्तर्राष्ट्रिय बजारमा पठाउँदा नेपाली उद्योगीले चार अर्ब ७७ करोड रूपैयाँ मूल्य पाएका थिए।
तर, गत वर्ष अर्थात् आर्थिक वर्ष २०८०-८१ मा परिमाणात्मक निर्यात ५७ लाख स्क्वायर मिटरले बढेर १० करोड ९० लाख पुग्यो। उद्योगीले पाउने मूल्य भने १७ करोड रूपैयाँले घटेर चार अर्ब ६० करोड मात्रै भयो। यसको अर्थ वस्तुको मूल्य घटेको असर निर्यात मूल्यमा देखिएको हो।
गत वर्ष नेपालबाट धेरै निर्यात भएका पाँच वटा वस्तुले भने उल्लेख्य मात्रामा अन्तर्राष्ट्रिय बजारमा मूल्य पाएका छन्।
धेरै मूल्य बढ्नेमा अर्धतयारी सिमेन्ट अर्थात् क्लिंकर छ। भन्सार तथ्यांक अनुसार आर्थिक वर्ष २०७९-८० को तुलनामा क्लिंकरको मूल्य २५० प्रतिशत बढेको छ। आर्थिक वर्ष २०७९-८० मा एक टन क्लिंकर बराबर एक हजार ५९ रूपैयाँ मूल्य परेको। तर, आर्थिक वर्ष २०८०-८१ मा भने तीन हजार सात सय १३ रूपैयाँ मूल्य परेको छ।
गत वर्ष परिमाणको आधारमा क्लिंकरको निर्यात जम्मा २७ प्रतिशतले बढेको छ। तर, निर्यात मूल्यको आधारमा भने ३४७ प्रतिशतले बढेको भन्सार तथ्यांकले देखाएको छ। एक अर्ब ८८ करोड २० लाख रूपैयाँ बराबरको नेपाली क्लिंकर भारतीय बजारमा बिक्री भएको छ।
धेरै मूल्य बढेको अर्को वस्तुमा तयारी सिमेन्ट पनि रहेको छ। परिमाणात्मक रूपमा तयारी सिमेन्टको निर्यात २८२ प्रतिशतले मात्रै बढेको छ। तर, निर्यात मूल्यको हिसाबले भने ४४९ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७९-८० मा ६ लाख सात हजार टन सिमेन्टको निर्यात मूल्य ३५ करोड ९० लाख रूपैयाँ थियो। गत वर्ष २३ लाख ३२ हजार टन तयारी सिमेन्ट निर्यात मूल्य एक अर्ब ९७ करोड पुगेको छ। नेपाली तयारी सिमेन्ट भारतमा मात्रै निर्यात हुने गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा धेरै मूल्य पाउने वस्तुमा अलैँची पनि छ। भन्सार तथ्यांक अनुसार गत वर्ष अलैँची परिमाणात्मक रूपमा करिब ५० प्रतिशतले कमी आएको छ। तर, निर्यात मूल्यको हिसाबले भने चार प्रतिशतले मात्रै कमी आएको छ।
आर्थिक वर्ष २०७९-८० मा ९९ लाख ९१ हजार केजी अलैँची आठ अर्ब २७ करोड रूपैयाँमा निर्यात गरिएको थियो। यसको अर्थ एक केजी अलैँचीको आठ सय २७ रूपैयाँ मूल्य परेको छ।
गत आर्थिक वर्षमा ५० लाख १८ केजी अलैँची ७ अर्ब ९४ करोड रूपैयाँमा निर्यात भएको छ। यस हिसाबले एक केजीको औसत मूल्य एक हजार ५८२ रूपैयाँ पुगेको छ।
भारतीय बजारमा धेरै मूल्य भएको कारण खोजिएको प्लाइउडले पनि गत वर्ष धेरै मूल्य पाएको छ। प्लाइउड उत्पादक सिताराम अग्रवालका अनुसार भारतमा अभाव र बढी मूल्य पर्न थालेपछि नेपाली प्लाइउड सस्तो मूल्यमा भारतमा बिक्री हुन सुरू गरेको थियो। तर, दुई वर्षकै अवधिमा नेपाली प्लाइउडमा मूल्य पनि उल्लेख्य बढेको छ।
आर्थिक वर्ष २०७९-८० मा ८ करोड ५८ लाख केजी बराबरको प्लाइउड निर्यात हुँदा चार अर्ब ७० करोड मूल्य पुगेको छ। अर्थात् एक केजी बराबरको औसत मूल्य एक केजी बराबर ५५ रूपैयाँ मूल्य परेको छ।
आर्थिक वर्ष २०८०-८१ मा ११ करोड ५३ केजी प्लाइउड सात अर्ब ४१ करोड रूपैयाँमा निर्यात भएको छ। जसको औसत मूल्य एक केजी बराबर ६४ रूपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा प्लाइउडको निर्यात परिमाणात्मक रूपमा ३४ प्रतिशतले बढ्दा मूल्यको हिसाबले भने ५७ प्रतिशतले बढेको छ।
गत वर्ष निर्यात हुने फलफूलको जुसको पनि मूल्य बढेको छ। आर्थिक वर्ष २०७९-८० मा एक लिटर बराबर ८० रूपैयाँको दरले सात करोड ८९ लाख लिटर जुस निर्यात भएको छ। गत वर्ष भने एक लिटर बराबर ९५ रूपैयाँको दरले नौ करोड १६ लाख लिटर जुस निर्यात भएको छ। समग्रमा गत वर्ष जुसको परिमाणात्मक निर्यात १६ प्रतिशतले बढे पनि मूल्यको हिसाबले ३१ प्रतिशत बढेको छ।
पछिल्लो दुई आर्थिक वर्षदेखि नेपाली कच्चा पदार्थमा आधारित वस्तुहरूको निर्यात राम्रो भएको छ। तर, सामान्य मूल्य अभिवृद्धि गरेर बिक्री गरिने वस्तुहरूको निर्यात भने क्रमशः घट्दै गएको छ।