पछिल्लो दुई आर्थिक वर्षदेखि प्लाइउड नेपालको प्रमुख निर्यात सामग्री बनेको छ।
प्लाइउड काठबाट बनाइएको सामग्री हो जुन काठको पातलो पानाहरू जोडेर बनाइएको हुन्छ। चालु वर्षमा प्लाइउड नेपालबाट धेरै निर्यात हुने वस्तुहरूमध्ये पाँचौं नम्बरमा छ।
७० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि हुने नेपाली वस्तुको सूचीमा भने पहिलो नम्बरमा भएको व्यवसायीहरूको भनाइ छ।
पछिल्लो दुई आर्थिक वर्षदेखि भारतीय बजारमा नेपाली प्लाइउडको माग अत्यधिक छ। पछिल्लो २३ महिनामा मात्रै साढे ११ अर्ब रूपैयाँको निर्यात भएको हो।
वर्ष २०७९ को साउनदेखि २०८० असारसम्म ४ अर्ब ७१ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो। २०८० साउनदेखि २०८१ असारसम्म ६ अर्ब ६८ करोड रूपैयाँ बराबरको प्लाइउड भारतीय बजारमा पठाइएको छ।
त्यसअघिका वर्षहरूमा प्लाइउडको निर्यात नगन्य मात्रै थियो। आर्थिक वर्ष २०७७/७८ मा जम्मा एक करोड ४६ लाख रूपैयाँ बराबरको निर्यात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा जम्मा ३५ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो।
व्यवसायीहरूका अनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्य तिरबाट भारतमा प्लाइउडकाे माग बढी भएको हो।
त्यतिबेला निर्माणमा आएको सुस्तताको कारण नेपाली बजारमा प्लाइउडको मागमा कमी आएको थियो। ठूलो मात्रामा व्यवसायीहरूले स्टक राखेर बसेका थिए। त्यही समयमा भने भारतमा प्लाइउडको मूल्य अत्यधिक बढ्यो जसको प्रभाव नेपाली उद्योगमा परेको उनीहरूको भनाइ छ।
'हाम्रोमा अति न्यून माग भएको समयमा भारतमा मूल्य धेरै बढ्यो, केही सस्तो खोज्दै भारतीय पार्टीहरू हामीसँग सम्पर्कमा आएर हामीले निर्यात सुरू गरेका थियौं,' ओमउड प्लाइउड उद्योगका सञ्चालक सीताराम अग्रवालले भने।
भारतीय बजारमा पनि माग हुन थालेपछि नेपालमा भटाभट प्लाइउड उद्योग खुल्न थाले। नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार अहिलेसम्म करिब २० अर्ब रूपैयाँ लगानीमा ८० वटा उद्योग सञ्चालन रहेका छन्। यस्ता उद्योगले ठूलो मात्रामा रोजगारी समेत सिर्जना गरेको छ। यी उद्योगमा हाल २५ हजार बढीले रोजगारी पाएका छन्।
८० वटा उद्योगमध्ये ६० वटाले भारतीय बजारमा प्लाइउड निर्यात गरिरहेका छन्। सरकारले प्लाइउड निर्यातमा पनि नगद अनुदानको व्यवस्था गरेको छ। निर्यात गरेबापत गत वर्ष ४५ वटा उद्योगले नगद अनुदान माग गर्दै उद्योग विभागमा निवेदन समेत दिएका छन्।
प्लाइउड उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चापदार्थ नेपालमा नै पाइन्छ। विशेषगरी काठको गोलिया, केमिकल र फेस भेनर (प्लाइउडको बाहिरी लेयर) यसका प्रमुख कच्चा पदार्थ हुन्।
गोलिया नेपालमा नै प्रशस्त पाइन्छ भने केमिकल र फेस भेनर आयात गर्नुपर्छ। जम्मा लागतमा आयात गर्ने मुख्य दुई वस्तुको योगदान २० देखि २५ प्रतिशत हुन्छ। अर्थात् ७५ देखि ८० प्रतिशत मूल्य अभिवृद्धि हुने व्यवसायीहरूको भनाइ छ।
गत वर्षको तुलनामा यो वर्ष भारतीय बजारमा प्लाइउडको मूल्य अझ धेरै बढेको कारण व्यवसायी उत्साहित पनि छन्।
भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको ११ महिनाको अवधिमा १० करोड ३९ लाख केजी प्लाइउड ६ अर्ब ६८ करोड रुपैयाँमा निर्यात भएको छ। यसको औसत मूल्य प्रतिकेजी ६४ रूपैयाँ पर्न आउँछ।
जबकि गतवर्ष यस्तो औसत मूल्य ५४ रूपैयाँ रहेको थियो। गत आर्थिक वर्षको यही अवधिमा सात करोड ६४ लाख केजी प्लाइउड चार अर्ब ७५ करोड रूपैयाँ निर्यात भएको थियो।
यो वर्ष ११ महिनामा परिमाणको आधारमा ३६ प्रतिशत निर्यात बढेको छ। निर्यात मूल्य भने ६० प्रतिशतले बढेको छ।
व्यवसायी भन्छन्ः निर्यातमा भारतको अवरोध हट्यो, तर नेपालको नीति बाधक बन्दै
भारततर्फ उच्च गतिमा निर्यात भइरहेको प्लाइउड २०८० को माघ दोस्रो साताबाट एकाएक रोकियो। भारतले भारतीय गुणस्तर चिन्ह (आइएसआई) प्राप्त उत्पादन मात्रै निर्यात गर्ने नीति लिएपछि कडाइ गर्यो।
यससँगै नेपाली उद्योगीहरूले आइएसआइको लागि निवेदन दिए। तर, अनुगमको लागि भारतले प्राविधिक पठाएन।
त्यसपछि नेपाली उद्योगीले व्यक्तिगत रूपमा र सरकारको तर्फबाट पनि लबिइङ गरे केही समयपछि भारतले निर्यात खुलाएको थियो। भारतले २०२५ को फेब्रुअरीबाट आइएसआई अनिवार्य गर्दै अहिलेलाई खुला गरेको हो। यसपछि उद्योगीरूले आइएसआई लिन सुरू गरेका छन्।
तर, आर्थिक ऐन २०८१ ले लिएको काठको निर्यात महसुलबाट व्यवसायी खुसी छैनन्।
प्लाइउडको प्रारम्भिक कच्चा पदार्थ (गोलिया) निर्यातमा प्रोत्साहन गर्ने गरी कर फेरबदल गरेको नभन्दै कच्चा पदार्थ प्राप्त गर्न मुस्किल पर्ने गुनासो उनीहरूको छ।
प्लाइउडको लागि प्रारम्भिक कच्चा पदार्थ गोलो पारिएको काठ (गोलिया काठ)हो भने अर्ध तयारी कच्चा पदार्थ भेनियर हो।
अध्यक्ष घिमिरेका अनुसार गोलिया काठबाट निकालिएको १.५ एमएमको सिट (पाता)लाई भेनियर भनिन्छ। यसको प्रशोधनबाट उत्पादन हुने प्लाइउड न्यूनतम ५ एमएमको हुन्छ।
प्लाइउड उद्योगले प्रयोग गर्ने गोलिया काठमा मसला, लहरे पीपल, देवदारु लगायतका रूख हुन्।
आर्थिक ऐन २०८१ बाट ४६ प्रकारका रुखका गोलिया काठको निर्यात शुल्कलाई डेढ सय प्रतिशतसम्मले कम गरिएको छ।
विगतमा यस्ता काठको निर्यातमा २०० प्रतिशत महसुल लाग्ने गरेकोमा अहिले ५० प्रतिशतमा झारिएको छ।
यसरी उल्लेख्य मात्रामा निर्यात महसुल घटाएपछि सोझै काठ निर्यात हुने तर, प्लाइउड उद्योगले कच्चा पदार्थ समेत नपाएर बन्द हुने अवस्था सिर्जना हुने गुनासो उद्योगीको छ। मूल्य अभिवृद्धि भएका उत्पादनको नभई प्रारम्भिक कच्चा सामग्रीको निर्यातलाई प्रोत्साहन पुगेको उत्पादक संघका अध्यक्ष घिमिरेले बताए।
अर्थ मन्त्रालयका अधिकारीहरूले भने प्लाइउड केन्द्रित उद्योगलाई चाहिने काठमा निर्यात महसुल नघटाइको दाबी गरे।
'कतिपय कम प्रयोग हुनेको बढे पनि प्रमुख कच्चा पदार्थमा बढाइएको छैन, काठ निर्यातलाई सहजीकरण हुने भएको कारण केही महसुल त घटाइएको हो तर प्लाइउड र भेनियर उद्योगलाई असर पर्दैन,' अर्थका एक अधिकारीले भने।
व्यवसायीका अनुसार प्लाइउडमा प्रमुख रूपमा उत्तिस र मसलाको रूखको गोलिया प्रयोग हुन्छ। मसलाको गोलियाको निर्यातमा महसुल घटाइएको छ। साथै उत्तिसको घटेको हो वा होइन प्रस्ट पारिको छैन।
'अर्थ मन्त्री र अर्थ मन्त्रालयका अधिकारीहरूले पनि प्लाइउडलाई असर गर्दैन भन्ने गरेको सुनिएको छ। तर, हामीले भेट्न समेत पाएनाैं, मसला, सल्ला लगायत अन्यमा पनि भनिएको छ। उत्तिस हो कि होइन हामीले कसरी थाहा पाउने?' संघका अध्यक्ष घिमिरेले भने, 'यदि सरकारले प्लाइउडमा प्रयोग हुन्छ भन्ने थाहा नपाएको कारण मसलाको गोलियामा महसुल घटाएको हो भने यसलाई सच्याउनु पर्यो।'
व्यवसायीहरूका अनुसार गोलियाबाट भेनियर बनाउने क्रममा १५ प्रतिशत मूल्य अभिवृद्धि हुन्छ भने प्लाइउड बनाउँदा ७० प्रतिशत मूल्य अभिवृद्धि हुन्छ।
विगतमा कति व्यवसायीले निर्यातलाई सहजीकरण गर्न भेनियरमा निर्यात महसुल घटाउन आग्रह गर्दै आएका थिए। प्लाइउड व्यवसायीहरूले निर्यात शुल्क नघटाउन आग्रह गरेका थिए।
तर, सरकारले प्रारम्भिक कच्चा पदार्थ गोलियामा नै शुल्क घटाइदिए पछि दुबै थरीका व्यवसायी रुष्ट भएका छन्।