ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीबाट कानुनविपरीत दस करोड रूपैयाँ ऋण लिएको पाइएको छ।
पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण,एड्भान्स (पेश्की) लगायत विभिन्न शीर्षकमा गोरखा मिडियाले सूर्यदर्शन सहकारीबाट दस करोड रूपैयाँ लगेको उल्लेख गरेको छ।
सूर्यदर्शन ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडियाका सञ्चालक जिवी (गितेन्द्र राई)कै नेतृत्वमा खुलेको सहकारी हो। उनीविरूद्ध वचतकर्ताले उजुरी दिएपछि अहिले फरार छन्। उनको नाममा प्रहरील पक्राउपूर्जी जारी गरेको छ।
सहकारीबाट गोरखा मिडियाले कानुन मिचेर ऋण लिने समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एमडी थिए। उक्त मिडियामा उनी सेयर धनीसमेत थिए।
त्यसैले यो प्रकरणमा उनीमाथि पनि प्रश्न उठेको छ।
यसमा पहिला सहकारीबाट ऋण लिने कानुनी व्यवस्थाहरू के-के छन् भन्ने बुझौं।
नेपालको कानुनअनुसार कुनै पनि सहकारीले आफ्ना सदस्यको मात्र बचत स्वीकार गर्न पाउँछ। त्यस्तै ऋण पनि सदस्यहरूलाई मात्र दिन सक्ने प्रस्ट व्यवस्था कानुनमा छ। सहकारी ऐन-२०७४ को दफा ५० मा यो व्यवस्था उल्लेख छ।
अर्थात् सहकारीमा सदस्यता भएका व्यक्तिले मात्र ऋण लिन पाउँछन्।
२०७२ सालमा आएको कम्पनी सम्बन्धी निर्देशिकाले गरेको व्यवस्था अनुसार पनि निजी कम्पनीले सहकारीको सेयर लिन पाउँदैन। अर्थात् निजी कम्पनीले सहकारीबाट ऋण लिन पनि पाउँदैन।
सैद्धान्तिक रूपमै सहकारी र कम्पनीको प्रकृति फरक भएकाले कानुनले दुवैबीचको सम्बन्ध र कारोबार छुट्ट्याएको वरिष्ठ अधिवक्ता मेघराज पोखरेल बताउँछन्।
'ऐनले सहकारीका सदस्यहरूलाई मात्र बचत गर्न र ऋण दिन पाइने भनेको छ। कम्पनी सम्बन्धी निर्देशिकाले पनि कम्पनीले सहकारीमा सेयर राख्न नपाइने भनेको छ। यसो हुँदा सहकारीले निजी कम्पनीमा ऋण दिन पाउँदैन। कम्पनी सहकारीको सदस्य हुन पनि पाउँदैन। सरकारी र नाफामूलक निजी कम्पनीबीच ऋण वा सेयरको कारोबार भएको छ भने त्यो गैरकानुनी हो।'
यसबाट प्रस्ट हुन्छ — गोरखा मिडिया नेटवर्कले सहकारीबाट ऋण लिनु कानुनविपरीत हो।
अब प्रश्न उठ्छ, गोरखा मिडियाका एमडी रहिसकेका लामिछानेलाई कम्पनीले सहकारीबाट ऋण लिनु कानुनविपरीत हुन्छ भन्ने थाहा थिएन?
अर्को मुख्य विषय — कुनै पनि कम्पनीले कतैबाट ऋण लिनुअघि आफ्नो बोर्डबाट पास गराउनुपर्ने सामान्य नियम हुन्छ।
प्रश्न यो पनि उठ्छ — के उनलाई यति सामान्य कुरा पनि थाहा थिएन? आफू सेयरधनी र एमडी भएको कम्पनीले कानुनविपरीत ऋण लिएको विषयमा लामिछानेको केही जिम्मेवारी हुन्छ कि हुन्न?
सेतोपाटीले यिनै प्रश्न सोध्न सोमबार बेलुकी लामिछानेलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। पटकपटक गर्दा पनि उनको फोन उठेन। सहकारी र गोरखा मिडियाबारे कुरा गर्नु छ भन्दै सेतोपाटीले उनलाई मेसेज पनि पठाएको थियो। तर उनले कुनै प्रतिक्रिया दिएनन्।
छानविन समितिको प्रतिवेदनमा गोरखा मिडियाले लिएको एक करोड रूपैयाँ ऋण लामिछानेले तिरेको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ — रवि लामिछानेको नाममा पुलेसो कर्जा ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको।
छानबिन समितिका संयोजक तथा सहकारी विज्ञ दीपक प्रकाश आचार्यका अनुसार गोरखा मिडियाले २०७८ असार मसान्तमा लिएको एड्भान्स रकम लामिछानेले २०७९ असार मसान्तमा तिरेको देखिन्छ। लामिछानेले सूर्यदर्शन सहकारीबाट सोझै ऋण लिएको भने अहिलेसम्म देखिएको छैन।
लामिछानेले यो ऋण आफैं लिएका हुन् कि होइनन्, आफैं तिरेका हुन् कि उनका नामबाट फर्जी खाता बनाएर तिरिएको हो भन्ने कुरा अझै प्रस्ट छैन।
गोरखा मिडियाले लिएको ऋण लामिछानेले चलाएको हो कि होइन भन्ने बुझ्न उनको वित्तीय स्टेटमेन्ट हेर्नुपर्ने आचार्यले बताए।
'हामीले हरेक व्यक्तिको स्टेटमेन्ट हेरेका छैनौं। सहकारीका खाता र विवरणहरू मात्र झिकाएर अध्ययन गरेका हौं। त्यही विवरणमा रवि लामिछानेले गोरखा मिडियाले लिएको एड्भान्सबापतको एक करोड रूपैयाँ तिरेको देखिन्छ,' उनले सेतोपाटीसँग भने, 'रवि लामिछानेले गोरखा मिडियाको खाताबाट रकम लिएको हो कि होइन भनेर हेर्न गोरखा मिडिया र उहाँको स्टेटमेन्ट हेर्नुपर्छ।'
२०७८ असारमा लामिछानेको नामबाट ऋण मागको फारम भरेको एउटा कागजात पनि फेला परेको आचार्यले बताए। तर ऋण माग गर्दा चाहिने नागरिकता लगायत अरू कागजात भने त्यसमा छैनन्। त्यसैले उनको फर्जी खाता खोलिएको हो कि होइन, लामिछाने यसमा संलग्न छन् कि छैनन् भन्नेबारे विस्तृत अनुसन्धान हुनुपर्ने देखिन्छ।
लामिछानेले पनि आफ्नो नागरिकताको फोटोकपी लगायत कागजात सहकारी सञ्चालकले दुरूपयोग गरेको हुन सक्ने बताएका छन्। उनले शनिबार पोखरामा आयोजित सभामा र शुक्रबार राती सहकारी पीडितसँग पनि यही कुरा बताएका थिए। ऋण पाऊँ भन्दै आफू सहकारीमा कहिल्यै नगएको र कहिल्यै ऋण नतिरेको उनले बताइरहेका छन्।
लामिछानेले नै ऋण लिए कि लिएनन् वा, सो पैसा चलाए कि चलाएनन् भन्ने विषयलाई छोड्ने हो भने पनि आफू सेयरधनी र एमडी रहेको कम्पनीले कानुन विपरित सहकारीबाट ऋण लिएकोमा उनको संलग्नताबारे प्रश्न उठ्छ। यसमा उनको जवाफ अहिलेसम्म आएको छैन।
गोरखा मिडियाले ऋण लिएको सहकारी सूर्यदर्शनले भने अरू कम्पनीलाई पनि ऋण/खर्च दिएको पाइएको छ।
छानबिन समितिको प्रतिवेदन अनुसार सूर्यदर्शन सहकारीले दर्जनभन्दा बढी कम्पनीमा एड्भान्स भन्दै ४५ करोड रूपैयाँभन्दा धेरै रकम खर्च गरेको छ। सूर्यदर्शनले सदस्य नै नभएका व्यक्तिको नाममा बचत र ऋण कारोबार गरेको छ। अप्राकृतिक व्यक्ति र कम्पनीसँग कारोबार गरेको छ। अस्वाभाविक कारोबार गरेको छ। र, सहकारीका कुनै पनि नियम पालना गरेको छैन। यसरी गैरसदस्यसँग कारोबार गरेर नै सहकारीले रकम अपचलन गरेको प्रतिवेदनले जनाएको छ।
एड्भान्स र विभिन्न ऋण शीर्षकमा रकम निकालेर अप्रासंगिक व्यक्तिका नाममा कर्जा खाता खोली उक्त एड्भान्स ऋणमा बदलेको पनि प्रतिवेदनमा उल्लेख छ।
'एड्भान्स मिलाउन पनि ऋण खाता खोलेको हुन सक्छ। यस्ता धेरै उदाहरणहरू छन्,' छानबिन समितिका संयोजक तथा सहकारी विज्ञ आचार्यले भने, 'कारोबार हेर्दा सहकारी सञ्चालकले अपचलन गर्ने मनसाय राखेको देखिन्छ। यो कुरा हामीले प्रतिवेदनमै लेखेका छौं।'
सहकारीबाट कम्पनीमा गएको पैसा, त्यहाँबाट कहाँ गयो भन्नेबारे छानबिन गर्न भने आफूहरूको क्षेत्राधिकार नभएको विज्ञ समितिले जनाएको छ।
'हामीले सहकारीको समग्र कारोबार अध्ययन गरेका हौं। नियममा चलेको छ कि छैन भनेर हेरेका छौं,' आचार्यले भने, 'सूर्यदर्शन सहकारीले कुनै पनि नियम पालना गरेको देखिएन।'
सूर्यदर्शनबाट पीडितहरूले घेराउ गर्न थालेपछि पोखरा महानगर अन्तर्गतको सहकारी शाखाले गत साउन ४ गते सहकारी विज्ञ आचार्य र चार्टर एकाउन्टेन्ट (सिए) अनिल लामिछानेलाई समावेश गराई दुई सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले बुझाएको प्रतिवेदनमा सूर्यदर्शनले सहकारी ऐनविपरीत लगानी गरेको उल्लेख छ। सूर्यदर्शनले ऋण प्रवाह गर्दा अपनाएका प्रक्रिया पूरा भएको छ कि छैन भनेर पनि समितिले जाँच गरेको थियो।
प्रतिवेदन अनुसार सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ जम्मा भएको देखिन्छ। चार सय ३३ वटा कर्जा खातामार्फत एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार रूपैयाँ ऋण लगानी गरेको देखिन्छ।
पोखरा महानगरले सूर्यदर्शनको सफ्टवेयर हेरेर उक्त विवरण संकलन गरेको थियो। महानगरको सहकारी शाखाले प्रतिवेदन बुझाएपछि कास्की प्रहरीले एक महिना म्याद दिएर सूर्यदर्शन सहकारीका पीडितबाट उजुरी आह्वान गर्यो।
उक्त आह्वानअनुसार हालसम्म एक हजार ३६ जनाले उजुरी गरेका छन्। सहकारीले १७ हजार ५ सय बचतकर्ताको बचत रकम अपचलन गरेको आरोप लागेको छ। सूर्यदर्शनका सञ्चालक जिबी राई र समितिका अन्य सदस्यसहित १८ जना अहिले फरार छन्। सहकारीका कोषाध्यक्ष कुरमा रम्तेल मात्र पक्राउ परेका छन्।
*सम्पादन गरिएको।