कानून पालना नगर्ने ५ सय ९ करदाता कारबाहीमा


आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ। मातहतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३/३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ।

बजार अनुगमन नियमित कार्य भएको भन्दै विभागले चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा बिल विजक जारी नहुने गुनासो धेरैतिरबाट आउने भएकोले बजार अनुगमनलाई तिव्रता दिएको जनाएको छ।

६ दिनमा ३६६ टोलीबाट ३१८६ वटा करदाताको अनुगमन गर्दा कर कानून पालना नगर्ने ५०९ करदाता कारबाहीमा परेका छन्।
जसअनुसार भदौ २७ गतेका दिन मात्र ८४ वटा अनुगमन टोलीले ३८५ वटा करदाताको अनुगमन गरी ४० वटा करदाताहरुलाई कारोवार स्थलमै तत्काल कानूनी कारवाही गरिएको छ।

त्यसैगरी भदौ २८ गतेका दिन ६७ वटा टोलीले ६७२ वटा करदाताको कारोवार स्थल आकस्मिक रुपमा अनुगमन गरेकोमा कानून परिपालना नगरेका १२७ करदातालाई जरिवाना गरेको विभागले जनाएको छ। भदौ २९ गते ६५ वटा अनुगमन टोलीले ६५० वटा करदाताको अनुगमन गरेकोमा १०३ वटा करदाता कारबाहीमा परेका छन्।

भदौ ३० गते ५० वटा टोलीले ४८१ वटा करदाताको अनुगमन गरेर ७३ जनालाई कारवाही गरेको तथा असोज १ गते ४८ वटा टोलीले ४७८ करदाताको अनुगमन गर्दा ७१ करदाताले कर कानुनको परिपालना नगरेको देखिँदा कार्यस्थलमै कारवाही गरिएको विभागले जनाएको छ।
असोज २ गते ५२० करदाताको कारोवार अनुगमन गर्दा ९५ कारवाहीमा परेका छन्।

अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद भएको छ।

त्यस्तै नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरिएको विभागले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.