भारतमा म्याकडोनाल्ड्सका १६९ वटा रेस्टुरेन्ट बुधबारबाट बन्द


भारतका १६९ वटा ‘म्याकडोनाल्ड्स’ रेस्टुरेन्ट बुधबारबाट बन्द हुने भएका छन्। भारतमा म्याकडोनाल्ड्सका यी शाखा रेस्टुरेन्ट (आउटलेट) कोन्नाट प्लाजा रेस्टुरेन्टस् प्रालिले संचालन गर्दै आएको थियो।

इकोनोमिक टाइम्सका अनुसार कोन्नाटसँग सेप्टेम्बर ५ तारिखमा ‘फ्रेन्चाइजी’ सम्झौता सकिएको र ६ तारिखबाट म्याकडोनाल्ड्स नामबाट संचालित सबै रेस्टुरेन्ट बन्द गरिने भएको हो।

यी रेस्टुरेन्टमा करिब ७ हजार कर्मचारी थिए।

म्याकडोनाल्ड्सले अगस्ट २१ मै कोन्नाटलाई सम्झौता अवधि सेप्टेम्बरमा ५ मा सकिनेछ भन्ने इमेल गरेको थियो। अब कोन्नाटले म्याकडोनाल्ड्सको लोगो, ब्राण्ड, ट्रेडमार्क, डिजाइन, बौद्धिक सम्पति केही पनि प्रयोग गर्न पाउने छैन।

कोन्नाट संचालक बिक्रम बख्शीका कारण पनि यी रेस्टुरेन्ट बन्द भएका हुन्। उनीसँग म्याकडोनाल्ड्सको लामो समयदेखि कानुनी विवाद चलिरहेको थियो।

बख्शीलाई म्याकडोनाल्ड्सले कार्यकारी निर्देशकको पदबाट हटाएपछि दुईबीच सुरु भएको विवाद अदालतसम्म पुगेको थियो। बख्शीसँगको यो विवाद सुल्झाउन असम्भव भएको भन्दै म्याकडोनाल्ड्सले भारतका यी १६९ शाखा बन्द गरेको हो।

बुधबारबाटै यी सबै रेस्टुरेन्ट बन्द गर्न आदेश पठाइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.