आजकाल बजारमा अर्गानिक खाद्यवस्तुको खोजी हुने गरेको छ।
यस्ता खाद्यवस्तु बेच्ने छुट्टै पसल पनि भेटिन्छन्। व्यवसायीहरूका अनुसार मानिसहरू आफ्नो स्वास्थ्यप्रति सजग हुँदै गएकाले लोकल (स्थानीय) र अर्गानिक उत्पादन खोज्न थालेका छन्।
लोकल र अर्गानिक भनेर चामल, दाल, सिमी, बोडी, घ्यु, मह, तोरीको तेल, विभिन्न तरकारी लगायतका सामान किन्न पाइन्छ।
यहाँ हामीले लोकल चामलको कुरा गरेका छौं। यसका लागि दश वर्षअघिदेखि 'जय मनकामना राइस मिल' चलाइरहेका उमेश मिश्रको सहयोग लिएका छौं।
उनका अनुसार बजारमा विभिन्न प्रकारका लोकल चामल पाइन्छ। लोकल चामल किन्ने ग्राहकको संख्या पनि बढ्दो क्रममा छ। यो चामलमा कुनै पनि किसिमको रसायन प्रयोग भएको हुँदैन।
बास्नादार हुनु र खाना नरम हुनु लोकल चामलको खास विशेषता हो।
'लोकल चामलको खाना आडिलो हुन्छ। यसको भात फर्रर्र हुँदैन, सिता आपसमा टाँसिएको हुन्छ,' उमेश भन्छन्, 'नरम हुने भएकाले बुढाबुढी र बालबालिकाका लागि राम्रो हुन्छ।'
लोकल उत्पादन मिल, मार्ट र अर्गानिक उत्पादनका पसलहरूमा पाइन्छ।
हाल बजारमा विभिन्न जातका धानको लोकल चामल उपलब्ध छ।
बसमतीः
पकाउँदा मिठो बास्ना आउने भएकाले यो चामलको नाम बासमती रहेको हो। यसको बास्ना प्राकृतिक हुन्छ।
बसमती धान पहाड र तराई सबैतिर फल्छ। चिसो ठाउँमा फलेको धानको चामल तुलनात्मक रूपमा नरम हुन्छ।
ठाउँअनुसार नाम पनि फरक छ। तराइमा बासमती भन्छन्। धेरैजसो पहाडी क्षेत्रमा झिनुवा बासमती भन्छन्।
काठमाडौंमा धेरैजसो बासमती चामल नुवाकोट र सिन्धुपाल्चोकबाट आउने गरेको छ। यो चामलका लागि सिन्धुपाल्चोकको मेलम्ची प्रख्यात छ।
बजारमा यसको मूल्य प्रतिकिलो १५० देखि १८० रूपैयाँसम्म छ।
ताइचिनः
ग्राहकहरूले ताइचिन चामल खिर र सेलरोटी बनाउन खोजी गर्छन्। ताइचिन धान चिउरा बनाउन पनि खोजी हुन्छ।
उमेशका अनुसार रस बढी आउने भएकाले छ्याङ बनाउन पनि यो चामल प्रयोग हुन्छ।
ताइचिन चामल विशेष गरी भक्तपुर, नुवाकोट र तराइका विभिन्न क्षेत्रबाट आउने गरेको छ। बजारमा यसको मूल्य प्रतिकिलो १२० देखि १५० रूपैयाँसम्म छ।
अनदीः
अनदी चामल विशेषगरी चाम्रे खान प्रयोग हुन्छ। यो धानको खेती धेरैजसो लमजुङमा हुन्छ। पछिल्लो समय चितवनमा पनि खेती हुन थालेको छ।
उमेश भन्छन्, 'यो चामल महँगो छ। सधैँ उपभोग गर्न सकिन्न। यसमा कार्बोहाइड्रेट धेरै हुन्छ। पहिले पहिले तिजमा दर खान प्रयोग गरिन्थ्यो।'
बजारमा यसको मूल्य प्रतिकिलो २८० देखि ३५० रूपैयाँसम्म छ।
पोख्रेली:
पोख्रली चामल दैनिक खानामा बढी प्रयोग हुन्छ। यो जातको चामल लाम्चो आकारको हुन्छ।
काठमाडौंको बजारमा नुवाकोट, सिन्धुपाल्चोक, कास्की लगायतका जिल्लाबाट आउने गरेको छ।
तुलनात्मकरूपमा यो चामल सस्तो छ। अहिले बजारमा लोकल पोख्रेली चामल प्रतिकिलो ९० देखि १२० रूपैयाँमा पाइन्छ।
जिरा मसिनोः
यो चामल जिराको दाना जस्तै हुने भएकाले जिरा मसिनो भनिएको हो। यो जातको चामल बासमतीभन्दा नरम हुन्छ।
यसको बढीजसो खेती पहाडी भेगमा हुन्छ।
यो चामलको नाम ठाउँअनुसार फरक छ। यसलाई कतैकतै 'खुमल चार' पनि भन्छन्।
यो चामल दैनिक खानामा बढी प्रयोग हुन्छ। यसको मूल्य बजारमा प्रतिकिलो १२० देखि १४० रूपैयाँसम्म छ।
जेठो बुढोः
जेठो बुढो कास्कीको सुपरिचित चामल हो। यो धान सेपिलो ठाउँमा राम्ररी फल्छ। कास्कीतिर यसलाई पोख्रेली मसिनो पनि भन्छन्। यसको खाना बास्नादार र नरम हुन्छ।
उमेशका अनुसार यो चामल उच्च वर्गका मानिसहरू बढी उपभोग गर्छन्। होटल–रेस्टुरेन्टमा पनि राम्रो माग छ।
धेरैजसो थकाली खानामा जेठो बुढो चामल नै प्रयोग हुन्छ। बजारमा माग धेरै भएकाले मूल्य फेरबदल भइरहन्छ।
हाल यो चामलको मूल्य माग र आपूर्तिअनुसार प्रतिकिलो दुई सयदेखि तीन सय रूपैयाँसम्म छ।
सिरम्लाः
सिरम्ला चामल विशेष गरी खट्टे खान प्रयोग हुन्छ। उमेशका अनुसार यो जातको धानखेती पर्वतमा धेरै छ। विस्तारै अन्यत्र पनि फैलिँदै गएको छ।
उनी भन्छन्, 'यो चामल पहेँलो रंगको हुन्छ। जाडो महिनामा खट्टे खान ग्राहकले यो चामल खोज्छन्।'
मनभोगः
उमेशका अनुसार यो चामल विशेषगरी धादिङको मलेखुतिर उत्पादन हुन्छ। नुवाकोटबाट पनि आउने गरेको छ। यो चामलको दाना डल्लो हुन्छ। पकाउँदा भने दानाको आकार केही लाम्चो बन्छ।
यो चामलको खाना बास्नादार र नरम हुन्छ। हाल बजारमा यसको मूल्य दुई सयदेखि २५० रूपैयाँसम्म छ।
मार्सीः
मार्सी भन्नासाथ जुम्ली मार्सी चामलको कुरा आउँछ। जुम्लाको मार्सी चामल बजारमा प्रख्यात छ।
मार्सी धानको खेती जुम्लासहित अन्य केही उच्च पहाडी क्षेत्रमा हुने गरेको छ। यो जात धेरै पुरानो मानिन्छ।
मार्सी चामल फिक्का रातो रंगको हुन्छ। उमेशका अनुसार यसमा आइरन, स्टार्च र सेलेनियमको मात्रा अन्य जातमा भन्दा धेरै हुन्छ। तुलनात्मकरूपमा स्वादिलो पनि हुन्छ। यसको खाना अडिलो पनि हुन्छ भन्ने मानिन्छ।
हाल बजारमा मार्सी चामलको मूल्य प्रतिकिलो २७५ रूपैयाँसम्म छ। हरेक वर्ष मूल्य बढ्दो क्रममा छ।
ब्ल्याक राइसः
यो जातको धान जुनसुकै हावापानीमा उत्पादन हुन्छ। चामलको रंग कालो हुने भएकाले 'ब्ल्याक राइस' नाम रहन गएको हो। यो चामल उच्च वर्गमा दैनिक खानामा प्रयोग हुन्छ।
बजारमा यसको मूल्य प्रतिकिलो पाँच सयदेखि आठ सय रूपैयाँसम्म छ।
ब्राउन राइसः
प्रशोधनका क्रममा बाहिरी बोक्रा (खस्रो भुस) मात्रै निकालिएको चामल ब्राउन राइस हो। यो खैरो रंगको हुन्छ।
यसमा पोषकतत्त्व बढी हुन्छ। फाइबर पनि बढी हुने भएकाले ब्राउन राइसले तौल घटाउन मद्दत गर्छ।
बजारमा यसको मूल्य दुई सयदेखि २५० रूपैयाँसम्म छ।