म आलुचपको खासै सोखिन त होइन, तर कुनै दिन खान मन लाग्यो भने सधैं जाने एउटै पसल छ।
ओमबहालको यो पसल चार वर्ष पुरानो हो। तर आज पनि यहाँ हरेक साँझ आलुचाप खानेहरूको भिड लाग्छ। यो पसल एउटा परिवारले चलाउँछ, जसले तरकारी बेचेर आफ्नो व्यवसाय सुरू गरेको थियो।
यो पसलका सञ्चालक आशाकाजी महर्जन हुन्। उनी कोरोना लकडाउन अघिसम्म तरकारी बेच्थे। तरकारी बेचेर खासै उन्नति नभएपछि उनी विकल्पको खोजीमा थिए।
विकल्पका रूपमा उनले देखे, आलुचप र बाराको व्यापार।
खासमा तरकारी बेच्न बस्दा उनी आफूलाई खान भनेर घरैबाट आलुचप बनाएर ल्याउँथे। साथीभाइलाई पनि खान दिन्थे। उनले पकाएको आलुचप धेरैलाई मन पर्थ्यो। ज-जसले उनको आलुचप चाखे, तिनले एउटै सल्लाह दिए, 'आशा दाइ, तपाईं आलुचपकै व्यापार किन गर्नुहुन्न?'
आशाकाजीलाई सुझाव मन पर्यो।
उनले घर-सल्लाह गरे। तरकारी छाडेर आलुचाप पसल थाप्नेमा सबैको सहमति जुट्यो। साथमा बारा पनि बेच्ने उनीहरूले निधो गरे।
यसरी ओमबहालमा आशाकाजीको 'फेमस' आलुचप पसल खुल्यो।
उनले अहिलेसम्म पसलको प्रचारप्रसार गरेका छैनन्। ब्रान्डिङ पनि गरेका छैनन्। ओमबहालमा उनको नाम नै ब्रान्ड हो। र, आलुचप खान आउने ग्राहकहरू ब्रान्ड एम्बेसडर। जो एकचोटि खान आउँछन्, फेरि फेरि आइरहन्छन्। साथमा साथीभाइ पनि लिएर आउँछन्।
'झोछेँ घुम्न आउने भाइबहिनीहरूले नै मेरो पसल फेमस बनाइदिएका हुन्। म उहाँहरूलाई धन्यवाद दिन्छु,' आशाकाजीले भने, 'त्यसमा पनि केही फुड भ्लगर भाइहरूले मेरो पसलको भिडिओ बनाएर युट्युबमा राखेपछि त टाढा टाढाबाट पनि मानिसहरू आउन थाले।'
'कहिलेकाहीँ त यति भिड लाग्छ, लाइन लगाएर खुवाउनुपर्छ। एकैचोटि तीन-चार जना बस्दा पनि भ्याइनभ्याइ हुन्छ,' उनले भने।
आशाकाजी महर्जन। तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटीयो पसलमा आशाकाजीको पूरै परिवार संलग्न छ। उनीहरू हरेक दिन बिहान उठ्नेबित्तिकै आलुचप र बारा बनाउन सरसामग्री ठिक पार्छन्।
सुरूमा आलु उसिन्छन्, तास्छन् र तासेको आलुलाई लाम्चो र गोलो आकारमा काट्छन्। आलुचप बनाउँदा आलुलाई बेसनको झोलमा डुबाउनुपर्छ। त्यो बेसनको झोल पनि उनीहरू घरमै बनाउँछन्। सँगसँगै, आलुचप र बाराको अचार पनि तयार पार्छन्। यी सबै काम परिवारका सदस्यहरू मिलेर गर्छन्।
उनीहरूको घर र पसल नजिकै छ। त्यसैले घरमा बनाएका सरसामग्री पसल ल्याउन खासै गाह्रो पर्दैन।
सबै सामग्री तयार गरेपछि दिउँसो १२ बजेतिर पसल खोल्छन्। त्यसपछि राति ८-९ बजेसम्मै उनीहरू आलुचप र बारा बनाएर बेच्नमा व्यस्त हुन्छन्।
'धेरै भिड भएको दिन घरमा उसिनेर ल्याएको आलु सकिन्छ। त्यस्तो बेला काँचै आलु प्रयोग गर्छौं,' आशाकाजीले भने, 'हामीले एकदिनका लागि भनेर एउटा ठूलो भाँडामा बेसनको झोल बनाएका हुन्छौं। त्यो एक भाँडा सकिएपछि फेरि अर्को बनाउँदैनौं, पसल बन्द गर्छौं।'
यसो भन्दै गर्दा उनले आफ्नो हातको घाउ देखाए र भने, 'ग्राहकहरूलाई धेरै कुराउन नपरोस् भनेर छिटो छिटो आलु तास्दा हातै काटियो।'
आलुचप जस्तै आशाकाजीको पसलमा बारा पनि एकदमै लोकप्रिय छ। बारा बनाउन सामान्यतया दिनभरलाई पुग्ने गरी मासको पिठो तयार पारेर ल्याएका हुन्छन्। कुनै दिन पिठो पुगेन भने तुरून्तै मास पिन्न पठाउँछन्।
एक दिनमा कति जना ग्राहक आउँछन् त?
मेरो यो प्रश्नमा उनले भने, 'यो त गनिसाध्य छैन। कति आउँछन् कति! कसैले एउटा मात्र खान्छन्, कसैले एकैचोटि पाँचवटा खान्छन्। कसैले घरपरिवारका लागि प्याक गरेर लैजान्छन्।'
आशाकाजीलाई तरकारी बेचेरभन्दा आलुचप बेचेर धेरै लाभ भएको छ। उनले अहिलेसम्म ग्राहकबाट नराम्रो प्रतिक्रिया सुनेका छैनन्। अझ टाढा टाढाबाट आलुचप र बारा खान आएको थाहा पाउँदा उनी सन्तुष्ट हुन्छन्।
'एकदिन बौद्धका एक जना भाइ मेरो पसल खोज्दै खोज्दै आइपुगे। साह्रै खुसी लाग्यो,' आशाकाजीले भने, 'मैले आफ्नो कामबाट मान्छेको मन जित्न सकेँ, त्योभन्दा धेरै जिन्दगीमा अरू के चाहियो?'

यो पसलको विशेषता के भने, यहाँ जुनसुकै समय तातो आलुचप र बारा खान पाइन्छ। उनी ग्राहकले अर्डर गरेपछि उनीहरूकै अगाडि पकाएर बेच्ने गर्छन्।
अर्को कुरा, उनको पसलमा पुरानो तेल घरि घरि प्रयोग हुँदैन। उनी हरेक दिन तेल फेर्छन्। ग्राहक बढी भएको बेला त दिनमै दुई-तीनचोटि तेल फेर्नुपर्छ।
'आलुले तेल बढी सोस्छ। त्यसैले हामी बासी तेल प्रयोग गर्दैनौं,' उनले भने, 'तेल फेरिरहने हुँदा हाम्रो परिकार घरमै पाकेजस्तो स्वस्थ हुन्छ।'
र तेस्रो कुरा, उनको पसलमा मूल्य सस्तो छ। आलुचप एउटाको १० रूपैयाँ पर्छ भने बारा ३० रूपैयाँमा पाइन्छ। अचेल यही मूल्यमा आलुको चाना ठुल्ठूलो काटेर चप बनाउने गरेका छन्। यसले पनि ग्राहक आकर्षित गरेको उनी बताउँछन्।
'मान्छेहरू साह्रै भोकाएर आएका हुन्छन्। त्यही देखेर ठुल्ठूलो चानाको आलुचप बनाउन थालेका हौं। चाना ठूलो बनाए पनि मूल्य बढाएनौं,' उनले भने।
यसरी पसल थापेर आलुचप र बारा बेच्न थालेपछि आशाकाजी आफू भने कम खान थालेका छन्। पहिले तरकारी बेच्दा खाजा नै आलुचप खान्थे, अचेल दिनभरि पकाउँदा पकाउँदा खान मन नलाग्ने उनी बताउँछन्।
'मरमसला पुगेको छ कि छैन भनेर चाख्नेबाहेक यसै खान मन लाग्दैन,' उनले भने, 'अरूले स्वाद मानी मानी खाएको देखेरै सन्तुष्ट भइने रहेछ।'
उनको पसलमा दिउँसो स्कुल र कलेजका विद्यार्थी आउँछन् भने साँझको समय झोछेँ घुम्न आएका युवाहरूको भिड लाग्छ।
तपाईंले पनि आशाकाजीको आलुचप खानुभएको छैन भने एकचोटि चाख्न जानुस् है!
***
