लहरै जलाइएका गाडीका अवशेष। आधा जलेका रूखका ठुटाठुटी। अगाडिको भाग जलेको खानेपानी ट्यांकी। असरलल्ल स–साना बोतल। फुटाइएको भवनको सिसा यत्रतत्र छरिएका।
यो दुर्दान्त हो कोटेश्वर–लोकन्थली मूल सडकको छेवैमा उभिएका दुई भवनको। यी भवनको यो दुर्दशा गत शुक्रबार राजावादीहरूको विध्वंशको परिणाम हो।
कोटेश्वरबाट सय मिटर दक्षिणपूर्व सय मिटरजति अगाडि बढेपछि जडिबुटी चोक आउँछ। चोकनजिकै पूर्वतर्फ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिडिटेडको मुख्य कार्यालय छ। नेपाल सरकारको पूर्ण स्वामित्वको यो कम्पनी २०३७ सालमा स्थापना भएको थियो। यसको परिचय भने बिक्रम सम्वत् २०५० को दशकबाट मात्रै विस्तार भयो।
'सञ्चो' उत्पादन गरेपछि यही ब्रान्डमा यो कम्पनीले उचाइ लिँदै गएको थियो। तर शुक्रबार कम्पनी राजावादीहरूको अकल्पनीय निशानामा पर्यो।
तीनकुनेमा विध्वंश निम्त्याएर तितरवितर भएका प्रदर्शनकारी कोटेश्वरबाट ठाउँठाउँमा आगो झोस्दै हिँडेका थिए। जटिबुटी चोक पुग्नेबित्तिकै उनीहरूको आँखामा सञ्चो कारखानाभित्रका सरकारी नम्बर प्लेटका गाडीहरूमा पर्यो। विध्वंश हातैमा बोकेर हिँडेका उग्र प्रदर्शनकारीले कम्पनीभित्र लहरै राखिएका गाडीमा क्रमैसँग आगो झोस्न थाले।
उनीहरूको निशानामा गाडी मात्रै परेनन्, आफ्नै बुतामा उभिएर साढे चार सय जनालाई रोजगारी दिइरहेको र नाफामा चलेको सरकारी कम्पनीको भवनमा पनि पर्यो। उनीहरूले जहाँबाट अनुकूल हुन्छ, त्यहीँबाट अगुल्टो झोस्न थाले। केही प्रदर्शनकारीले 'ऊ त्यहाँ छ गाडी, त्यो पनि सल्का..! घरमा आगो झोस्... कर्मचारी पनि नछाड्...!' भन्दै विध्वंशका निम्ति हौस्याए।
प्रदर्शनकारीको हातहातको आगो र ढुंगामुढा त्यो भवनले कतिञ्जेल थेगोस्!
पाँच घन्टा बढी समय कम्पनीमा आगो दन्कियो। कर्फ्यु आदेशपछि पनि सडक नछाडेका प्रदर्शनकारीले सेना समेतलाई बाटो नदिएर दमकल रोके। कर्मचारीले हार नखाई दमकल बोलाइरहे।
आगो दन्किएको झन्डै तीन घन्टापछि सात बजेतिर दमकल आइपुग्यो। तर आगो नियन्त्रणमा लिन कठिन भयो। शुक्रबार मध्यरात मात्रै आगो नियन्त्रणमा आयो। त्यतिञ्जेल भवन भग्नावशेषमा परिणत भइसकेको थियो।
-1743682502.jpg)
-1743682500.jpg)
कम्पनी परिसरका गाडी, सञ्चो उत्पादन गर्ने मेसिन, गोदाममा रहेको ठूलो परिमाणको सञ्चो, प्याकेजिङ गर्ने कागज, बोतल लगायत सामान जलिसकेका थिए।
घटना भएको ६ दिनपछि, बिहीबार हामीलाई यी कुरा भनिरहँदा कम्पनीकी महाप्रबन्धक संगीता यादव भयग्रस्त नै थिइन्।
'काठमाडौंमा ठूलो प्रदर्शन उठ्ला र त्यसको निशाना आफ्नै कारखाना होला भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ,' उनले भनिन्।
राजावादीको प्रदर्शन भड्किँदा उनी कार्यालयभित्रै थिइन्। प्रशासन प्रमुख, उत्पादन प्रमुख, खरिद शाखाका प्रमुख सहित बैठक कक्षमा उनीहरूको छलफल भइरहेको थियो। कम्पनीलाई सातै प्रदेशमा विस्तार गर्ने र सञ्चो ब्रान्डमा नयाँ उत्पादन बजार पठाएर नयाँ आयाम थप्ने ध्येयले उनीहरू चार बजेसम्म छलफलमै थिए।
त्यतिञ्जेल तीनकुनेको प्रदर्शनले बाटो बिराइसकेको थियो। हिंसात्मक बनिसकेर दर्जनौं राउन्ड गोली चलिसकेको थियो। दुई जनाको मृत्यु नै भइसकेको थियो।
उनीहरूलाई त्यसको सुइँको थिएन। छलफल चलिरहेकै बेला प्रदर्शनकारी ढुंगा हान्दै जडिबुटीतर्फ अघि बढे। के भयो, कसो भयो भनेर सोच्न नभ्याउँदै एक हुल प्रदर्शनकारी जडिबुटी कम्पनीभित्र छिरिहाले।
त्यसपछि के भयो, उनी वर्णन गर्न सक्दिनन्।
सुरूमा त बैठक कक्षमा रहेका उनीहरू ज्यान जोगाउन त्यही हल पछाडिको कोठामा लुकेर बसे। गाडीमा आगो झोसिसकेका प्रदर्शनकारी हातहातमा राँको बोक्दै भवनभित्र पस्न थाले। उनीहरू ज्यान जोगाउन झ्यालबाट झरेर प्रांगणमा ओर्लिए।
'त्यसपछि प्रदर्शनकारीले देखिहाले। यिनीहरूलाई पनि ढुंगा हान् भन्दै प्रहार गर्न थाले। हामी त जेनतेन जोगियौं। तर यो बिक्री केन्द्र पनि भएकाले एक जना ग्राहक आउनुभएको थियो। उहाँको टाउकोमा लाग्यो, रगत बग्न थालिहाल्यो,' महाप्रबन्धक यादवले सुनाइन्।
जलिरहेको भवन छाडेर कर्मचारीहरू तितरवितर भए। महाप्रबन्धक यादव पनि ज्यान जोगाउन भागिन्। उनीहरूलाई निकै परसम्म प्रदर्शनकारीले पिछा गरिरहेका थिए। नदेखेपछि उनीहरू लाखापाखा लागे।
'भवन, भित्रका सामान के भयो होला भन्ने चिन्ता घर पुगेपछि पनि लागिरह्यो। प्रशासन प्रमुख धर्मलाल नेपाल कार्यालयमै हुनुहुन्थ्यो। उहाँले जानकारी गराइरहनुभयो,' यादवले भनिन्।
प्रदर्शनकारी तितरवितर भएपछि जडिबुटी आसपास बस्ने कम्पनीमै आबद्ध श्रमिकहरू आएर आगो निभाउन मद्दत गरेको उनले सुनाइन्। तर उनीहरूको बुताले मात्रै नियन्त्रणमा आउने कुरा थिएन। दमकल आएपछि चार बजेदेखि लागेको आगो राति १२ बजे मात्रै नियन्त्रणमा आयो। शनिबार मध्याह्नसम्म पनि धुवाँ आइरहेको थियो।
यसरी २९ वर्षको अनवरत मिहिनेत र परिश्रममा खडा भएको सञ्चो ब्रान्ड आफै बिसञ्चो बन्न पुग्यो।
अहिले कम्पनी परिसर युद्धग्रस्त क्षेत्रजस्तो देखिएको छ। बिहीबार वनमन्त्री ऐनबहादुर शाही दलबलसहित अवलोकनका लागि कम्पनी पुगेका थिए। त्यही क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम पनि त्यहीँ थिइन्।
मन्त्री शाही र सांसद गौतमले अवस्था बुझिरहँदा बिलखबन्दमा थिए कारखानका श्रमिकहरू। ज्यालादारीमा पैसा पाउने गरी झन्डै ६० जना श्रमिक त्यहाँ काम गर्छन्। त्यसमध्ये अधिकांश महिला छन्।
कम्पनीमा १९ वर्षदेखि ज्यालादारीमा काम गरिरहेकी सरस्वती रायमाझीका अनुसार न्यून वेतनमा कडा परिश्रम गर्नुपरेकाले केही समयअघि उनीहरू मुद्दा–मामिलामा समेत पुगेका थिए। अदालतले न्यूनतम वेतन–सुविधा दिएर मात्रै श्रमिकलाई काममा लगाउनू भनेर आदेश दिएकाले उनीहरू कार्यान्वयनको प्रतीक्षामा थिए।
'त्यसअघि नै राजावादीले हाम्रो रोजीरोटीमा आगो झोसिदिए,' उनले भनिन्।
अब साँझ–बिहान आफ्नो चुह्लो कसरी जलाउने, श्रमिकहरूले उपाय भेटिसकेका छैनन्।
कम्पनीले भने त्यही खरानीमाथि टेको उभ्याएर मर्मतको उपाय लाग्छ कि भनेर प्रयास थालेको छ। आफ्नै आम्दानीमा उभिए पनि आफै पुनर्निर्माण गर्न सक्ने गरी कम्पनीको खाता दर्बिलो छैन। गत वर्ष मात्रै एक करोड रूपैयाँ खर्च गरेर नयाँ मेसिन ल्याइएको थियो। जडान गर्दा झन्डै पाँच करोड खर्च भएको थियो। आगोले त्यो मेसिनमा पनि क्षति पुर्याएको छ।
महाप्रबन्धक यादवका अनुसार शुक्रबारको विध्वंशबाट कम्पनीमा २८ करोड रूपैयाँको क्षति भएको प्रारम्भिक आकलन छ। सबै विवरण आइसक्दा क्षतिको रकम बढ्न सक्छ।
'तैपनि सरकारले १० करोड रूपैयाँ दिने हो भने कम्पनी सञ्चालनमा ल्याउन सकिन्छ,' यादवले भनिन्।
बिहीबार मन्त्री, सांसद अवलोकनमा आउँदा पनि उनी यही भनिरहेकी थिइन्। वनमन्त्री शाहीले कम्पनीको प्रस्ताव तालुकवाला मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगिसकेको र सरकारले यसबारे छिट्टै निर्णय लिने आश्वासन दिए।
-1743682501.jpg)
-1743682501.jpg)
महाप्रबन्धक यादवका अनुसार कम्पनीभित्र गोदाममा रहेको सबै सञ्चो जलिसकेको छैन। सञ्चोबाहेक कम्पनीका अरू उत्पादन सुगन्धित तेल, सञ्चो जटा तेल लगायत उत्पादन गोदाममा छन्। तत्काल बजारमा लैजान समस्या छैन। १४ लाख वटा भन्दा बढी सञ्चो गोदाममा भएकाले केही समय माग धान्न सक्छ।
सरकारले तत्कालै १० करोड रूपैयाँ दिए स्टक रहेकै बखत थप उत्पादन गरेर बजारमा सञ्चो अभाव हुन नदिने उनी बताउँछिन्।
'टहरामै भए पनि उत्पादन गर्न सकिन्छ भन्ने विश्वास छ,' उनले भनिन्।
सञ्चो नेपाली मात्र नभएर विश्वस्तरकै ब्रान्ड बन्ने बाटोमा छ। रूघाखोकी लाग्दा घरघरमा प्रयोग हुने सञ्चो विदेश समेत पुग्छ। धेरै नेपालीहरूले आफू जहाँ पुग्छन्, त्यहाँ सञ्चो लैजान्छन्। नेपालबाट मगाउँछन्।
कोभिड कालखण्ड सञ्चो उत्पादनको स्वर्णिम समयजस्तै रह्यो। त्यति बेला वार्षिक झन्डै ७० लाख वटा सञ्चो उत्पादन गरेको कम्पनी आशातीत नाफामा रहेको प्रशासकीय प्रमुख धर्मलाल नेपालले बताए।
सञ्चोको बिक्री बढेकैले पाँच करोड खर्चेर नयाँ मेसिन जोडिएको थियो। नयाँ मेसिनबाट घन्टाको ६ हजार वटा सञ्चो उत्पादन गर्ने लक्ष्य थियो। वर्षको एक करोड वटा उत्पादन गर्ने लक्ष्य शुक्रबारकै छलफलमा लिइएको थियो।
नेपालमा सञ्चालित कतिपय जडिबुटी कारखाना र हर्बल कम्पनीहरूले कच्चा पदार्थ बाहिरबाट आयात गर्छन्। तर जडिबुटी उत्पादन तथा कम्पनी प्रशोधन लिमिटेड यसको अपवाद हो। जडिबुटी कम्पनीको नाममा सरकारले बाराको तामागढीमा पाँच सय बिघा जमिन दिएको छ। त्यहाँ उनीहरूले सुगन्धित तेलका लागि आवश्यक बिरूवा लगाएका छन्।
मोरङको बेलबारी, कैलालीको टीकापुर, जाजरकोटमा शाखा कार्यालय स्थापना भइसकेको छ। लुम्बिनी प्रदेशबाहेक सबैतिर शाखा कार्यालय बन्ने यादवले बताइन्।
'कम्पनी आफैले जडिबुटी खेती गरिरहेको छ। किसानसँग समन्वय गरेर पनि कच्चा पदार्थ आपूर्ति भइरहेको छ,' उनले भनिन्।
केन्द्रीय कार्यालयमा ६० जना श्रमिक छन्। शाखा कार्यालयहरूमा गरेर ४५० जना जति छन्। जडिबुटी कम्पनीसँग करिब एक हजार किसान जोडिएका छन्। जडिबुटी कम्पनीले उनीहरूसँग कच्चा पदार्थ लिने, प्रशोधन गर्ने र त्यसबाट निस्किएको तेलको मूल्यमा उनीहरूलाई भुक्तानी दिने गरेको महाप्रबन्धक यादवले बताइन्।
कम्पनीले उत्पादन गरेको सुगन्धित तेल निजी व्यापारीले किनेर विदेश निर्यात गरिरहेको उनको भनाइ छ।
'यसको अर्थ हामीले विदेशी मुद्रा भित्र्याउन मात्र सहयोग गरेका छैनौं कि देशको पैसा बाहिर नजान पनि धेरै सहयोग गरिरहेका छौं,' उनले भनिन्।
कम्पनीका उपप्रबन्धक धर्मलाल नेपालले कम्पनीले सञ्चो उत्पादनमा निकै ठूलो फड्को मारिसकेको बताए। वार्षिक २०–३० हजार पिसबाट सुरू उत्पादनले ७० लाखको मानक स्थापित गरिसकेको छ।
'सञ्चो नेपालको मौलिक ब्रान्ड भएकाले यसको जगेर्ना र प्रवर्द्धन आवश्यक छ,' उनले भने।
उनका अनुसार सञ्चो विभिन्न तेलहरूको सम्मिश्रण हो। यसमा मेन्था (मिन्ट) को तेल मुख्य रूपमा प्रयोग हुने उनले बताए। यसका साथै युकेलिप्टसको पात, तेजपत्ता, टिमुर, लेमनग्रासको तेल पनि मिश्रण हुन्छ। यी तेल कम्पनीले आफ्ना विभिन्न शाखाहरूमा उत्पादन गर्छ। यसपछि जडिबुटीमा रहेको मुख्य केन्द्रीय कार्यालयमा ल्याएर मिश्रण गर्दै सञ्चोको रूपमा प्याकेजिङ गर्छ।
'गत वर्ष कम्पनीले १६ करोड रूपैयाँ आम्दानी भएको थियो। कोभिड कालभरि कम्पनीले राम्रो नाफा कमायो। पछिल्लो समय लगानी बढाएकाले आय–व्यय बराबरजस्तै थियो,' उनले भने, 'अब प्रतिफलमा जाने बेलामा आगोले खाइदिइहाल्यो। अब कसरी उठ्ने हो!'
-1743682501.jpg)
-1743682500.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी