त्यो दिनको एक फोन-कलले सृष्टि शाक्यलाई आफ्नो सपना पूरा हुन लागेजस्तो भयो।
व्यवसायी मिलर श्रेष्ठले अचानक फोन गरेर उनलाई भनेका थिए, 'काठमाडौंका मलहरूमा प्रशस्तै कोठा खाली छन् रे। सिभिल मलमा पनि कोठा पाइएको छ। हामी मिलेर किताब पसल खोल्ने हो? के विचार छ तिम्रो?'
त्यो कोरोना लकडाउन भर्खरै सकिएको बेला थियो। कोरोना महामारीले सपिङ कम्प्लेक्सहरूको व्यवसाय खस्किएका बेला सिभिल मलमा कोठा खाली छ भन्ने सूचना पाउनासाथ उनले पहिलो कल सृष्टिलाई नै गरेका थिए।
सृष्टिकी बहिनी र मिलर मिलेर 'चिया नोटबुक्स' भन्ने कपी ब्रान्ड चलाउँछन्। यस आधारमा सृष्टि र मिलरको पुरानो चिनजान थियो।
उनीहरूलाई अर्को कुराले पनि जोडेको छ — दुवै किताबका अत्यन्तै सोखिन छन्।
सृष्टि त फुर्सद पायो कि किताबको संसारमा हराइहाल्छिन्। आफूलाई मन परेका किताबको टिप्पणी र समीक्षा लेख्छिन्। किताबसम्बन्धी कार्यक्रमहरू विरलै छुटाउँछिन्। मिलरलाई पनि किताब पढ्न अत्यन्तै रूचि छ।
'हाम्रो भेट नै किताबको कार्यक्रममा भएको थियो,' सृष्टिले भनिन्, 'हामी जहिल्यै किताबकै कुरा गर्थ्यौं। आफूले पढिरहेका किताब, मन परेका किताब र मन नपरेका किताबमाथि चर्चा गर्थ्यौं।'
किताबका 'कीरा' सृष्टिलाई किताबका अर्का 'कीरा' मिलरले किताब पसल नै खोल्ने प्रस्ताव राखेपछि असहमतिको गुञ्जायसै थिएन।
'एक नियमित पाठकका रूपमा मैले काठमाडौंका सबैजसो किताब पसल चहारेकी छु। एउटा पाठकले किताब पसलमा कस्तो माहोल खोज्छ भन्ने मलाई राम्ररी थाहा छ,' सृष्टिले भनिन्, 'किताबप्रेमीका रूपमा आफूलाई मन पर्ने वातावरण भएको पसल खोल्ने मेरो सानैदेखिको सपना थियो। मिलर दाइ र म यसबारे कुराकानी गरिरहन्थ्यौं। त्यस दिन उहाँले किताब पसल खोलौं भनेर प्रस्ताव राखेपछि मलाई त आफ्नो सपना पूरा गर्ने बाटो भेटेजस्तै भयो।'
उनीहरू दुवै सिभिल मलको खाली कोठा हेर्न गए। चित्त बुझ्यो।
दुवैलाई आफ्नो सपनाले आकार लिँदै गरेको भान भयो।
सपिङ कम्प्लेक्समा किताब पसल खोल्ने आइडिया कतिपयले मन पराएनन्।
भने— नेपालका प्रायः मलमा किताब पसल हुँदैन। त्यसैले कोही पनि किताब किन्न मलमा आउँदैन!
सृष्टि र मिलर भने अडिग थिए।
विकसित देशहरूमा सपिङ मल घुम्न जाँदा उनीहरूले एउटा न एउटा किताब पसल देखेकै हुन्थे। सिंगापुर होस् वा मलेसिया, थाइल्यान्ड वा युएई; जुनसुकै देशमा किताब पसलले नै सपिङ मलको शोभा बढाइरहेको उनीहरूलाई अनुभव हुन्थ्यो।
'हामीकहाँ भने मल भन्नेबित्तिकै लुगाफाटो किन्ने, रेस्टुरेन्ट जाने वा सिनेमा हेर्ने मात्र बुझिन्छ। हामी यो धारणा बदल्न चाहन्थ्यौं,' सृष्टिले भनिन्, 'नेपालका मलमा कसैले पनि किताब पसल नदेखेको हुँदा सबैका लागि नौलो हुन्छ भन्ने हामीलाई लाग्यो।'
नभन्दै त्यस्तै भएको छ।
सृष्टि र मिलरले सुन्धाराको सिभिल मलमा खोलेको 'बुक भर्स' किताबप्रेमीहरूका लागि नयाँ गन्तव्य बनेको छ। किताब पसलको बाहिरी र भित्री डिजाइन साह्रै 'कूल' छ। यहाँ एउटा टेलिफोन बुथजस्तो 'बुक बुथ' छ, जसलाई पृष्ठभूमिमा राखेर धेरैले सेल्फी खिच्छन्।
आन्तरिक सजावटकै कारण बुक भर्समा आउने ग्राहकहरू अरू ठाउँमा पनि सेल्फी वा सामूहिक फोटो खिचाइरहेका देखिन्छन्।
किताबप्रेमीहरूले अरू पसलको तुलनामा यहाँ शान्त वातावरण पनि पाउँछन्।

सिभिल मलको तेस्रो तलामा रहेको बुक भर्स सन् २००२ नोभेम्बरमा खुलेको हो। यो स्टोर टिकटक र इस्टाग्राममा खुबै चर्चित छ।
बुक भर्सले नयाँ पुस्ताका पाठक आकर्षित गर्न आफ्नो छुटै इन्स्टाग्राम र टिकटक अकाउन्ट चलाइरहेको छ, जहाँ स्टोरमा आएका नयाँ किताबबारे जानकारी दिन भिडिओहरू पोस्ट गरिन्छ।
किताबलाई सादा कागजले बेरेर त्यसमाथि किताबको संक्षिप्त जानकारी पनि दिइन्छ। पाठकलाई कुन किताब हो थाहा हुँदैन। उनीहरू सादा कागजमा लेखिएको संक्षिप्त जानकारी पढ्छन् र मन लागे किन्छन्।
बुक भर्सले युवा पुस्ता आकर्षित गर्न यस्ता धेरै उपाय अपनाइरहेको सृष्टि बताउँछिन्।
किताब पढ्नमा कसरी रूचि जगाउन सकिन्छ भन्ने आइडिया उनले स्कुलमै सिकेकी हुन्। जेम्स स्कुल पढेकी सृष्टिले त्यति बेलैदेखि साताको कम्तीमा एउटा किताब पढ्न थालेकी थिइन्।
स्कुलमा साताको एकचोटि लाइब्रेरी क्लास हुन्थ्यो। त्यति बेला जुन विषयको भए पनि एउटा किताब घर लैजानैपर्थ्यो। अर्को साता त्यो किताब फिर्ता गरेर नयाँ लैजानुपर्थ्यो।
'स्कुलले मन लागेको किताब पढ भनेर हामीलाई छान्न दिन्थ्यो। आफूखुसी छान्न पाएपछि हामीमा किताब पढ्ने रूचि बढ्यो। रूचि अनुसार किताब पढ्न पाउँदा रमाइलो हुँदो रहेछ भन्ने त्यही बेला थाहा पाएँ,' सृष्टिले भनिन्, 'बुक भर्समा पनि आनन्दले किताब छान्न पाइन्छ। हतार गर्नु पर्दैन।'
बुक भर्सले किताब सम्बन्धी छलफल कार्यक्रम पनि गर्दै आएको छ। आफ्ना ग्राहकलाई सदस्य पनि बनाउँछ। सदस्यहरूले किताब किन्दा छुट पाउँछन्।
मैले सृष्टिसँग उनको किताबप्रेम र पठनबारे पनि कुरा गरेँ।
उनी किताब पढ्दा अर्कै संसारमा पुगेको अनुभव हुने बताउँछिन्। स्कुलदेखि किताब पढ्ने बानी लागेको उनलाई प्लस-टूमा विज्ञान पढ्न थालेपछि पाठ्यक्रम बाहिरका किताब पढ्ने समय कम भयो। त्यो दुई वर्षमा उनले बाहिरी किताब खासै पढिनन्। त्यसपछि उनी काठमाडौं विश्वविद्यालय भर्ना भइन्। त्यहाँ राम्रो पुस्तकालय भएकाले प्रशस्तै पढ्न पाएको उनी बताउँछिन्।
'मेरो निम्ति विश्वविद्यालयको सबभन्दा मनपर्ने ठाउँ नै पुस्तकालय थियो,' उनले भनिन्।
सृष्टिले 'बुकस्टाग्राम' भन्ने नाममा आफ्नो इन्स्टाग्राम अकाउन्ट खोलेकी थिइन्, जसमा आफूले पढेका किताबबारे चर्चा गर्थिन्। सामाजिक सञ्जालमार्फत् आफूजस्तै किताबप्रेमीसँग चिनजान बढाउने उद्देश्यले इन्स्टाग्राम अकाउन्ट खोलेको उनको भनाइ छ।
उनी आफ्नो इन्स्टाग्राममा किताबको समीक्षा लेख्छिन्। कुन किताब पढ्न रूचिकर छ भनेर सुझाव दिन्छिन्। विभिन्न विधाका किताब मन पराउने पाठकलाई बजारमा आएका नयाँ किताबबारे जानकारी दिन्छिन्। सँगसँगै, अरू व्यक्तिहरूले पनि उनलाई कुन किताब पढ्ने भनेर सुझाइरहेकी हुन्छन्।
उनी इन्स्टाग्रामका आफ्ना फलोअरसँग उनीहरूले पढेका र मन परेका किताबबारे चर्चा पनि गर्छिन्। किताब पढ्ने बानी कसरी बढाउने भनेर छलफल पनि गरिरहेकी हुन्छिन्।
'हरेक मान्छेलाई फरक फरक खालको किताब मन पर्छ। सामाजिक सञ्जालको अन्तर्क्रियाले मलाई मान्छेहरूको रूचि बुझ्न सजिलो भयो,' उनले भनिन्, 'त्यसले नै हो जस्तो लाग्छ, मलाई किताब पसल खोल्ने आत्मविश्वास बढेको। कुन उमेर समूहको मान्छेलाई कस्तो किताब मन पर्छ र बजारमा कस्ता किताब बढी पढिन्छन्, बढी रूचाइन्छन् भन्ने मलाई थाहा छ।'
टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालले पनि नयाँ पुस्तामा किताबप्रति रूचि बढाएको उनको भनाइ छ।
यस्ता सामाजिक सञ्जाल हेरेर मान्छेहरू समय नष्ट गरिरहेका छन् भन्ने भनाइसँग सृष्टि सहमत छैनन्। सामाजिक सञ्जालमा के हेर्ने र कसरी सदुपयोग गर्ने भन्नेले फाइदा-बेफाइदा छुट्टिने उनी बताउँछिन्।
'तपाईं किताब सम्बन्धी अकाउन्ट फलो गर्नुहुन्छ र त्यहाँ आउने कुरा नियमित फलो गर्नुहुन्छ भने त्यसले स्वाभाविक रूपमा किताब पढ्ने हुटहुटी जगाउँछ,' उनले भनिन्, 'बुक भर्समा आउने धेरै पाठक हाम्रो इन्स्टाग्रामका फलोअर छन्। उनीहरू सामाजिक सञ्जालमा चर्चा कमाएका किताब खोजी खोजी किन्न आउँछन्। त्यस्ता किताबको माग नै बढी हुन्छ।'

अहिले पाठकहरूमा धेरै रूचि देखिएको विधा कुन हो त?
जबाफमा उनले भनिन्, 'पाठकलाई यही विधा मन पर्छ भन्ने हुँदैन। सबैको आ-आफ्नै स्वाद हुन्छ। कसैलाई फ्यान्टासी मन पर्छ, कोही रोमान्सका सोखिन हुन्छन्। कसैलाई व्यक्तित्व विकासका किताब मन पर्छ भने कोही इतिहास, भूगोल, अर्थ-राजनीति लगायतका गैरआख्यान मन पराउँछन्।'
उनका अनुसार नयाँ पुस्ताका धेरै पाठकलाई 'डार्क रोमान्स' पढ्ने रूचि छ। डार्क रोमान्स भनेको रोमान्स विधाकै एक अंग हो। तर यसमा थोरै झैझगडा, विवाद, यौन र हिंसाका अंश पनि हुन्छन्। आजभोलि पहिलेजस्तो सरल रोमान्सभन्दा डार्क रोमान्सका किताब बढी बिक्ने सृष्टिको अनुभव छ।
युवाहरूले धेरै मन पराउने अर्को विधा 'मर्डर मिस्ट्री' हो। ऐतिहासिक र क्लासिक्स उपन्यास पढ्ने पाठकहरूको पनि छुट्टै समूह छ। नयाँ पुस्तालाई सिधा र सरलभन्दा रहस्यमयी कथाहरूमा बढी रूचि भएको उनी बताउँछिन्।
के तपाईंहरू बुक भर्समा आउने ग्राहकलाई पनि कुन किताब पढ्ने भनेर सुझाव दिनुहुन्छ?
मेरो यो प्रश्नमा सृष्टिले भनिन्, 'सामान्यतया हामी कुन किताब पढ्ने भनेर सुझाव दिँदैनौं। बुक भर्समा आउने पाठकहरूले आफ्नो रूचि अनुसारको किताब आफै खोजून् भन्ने हाम्रो मान्यता हो। तैपनि कोही पाठक कुन किताब पढ्ने भनेर अलमलिएका छन् भने स्टोरमा बस्ने हाम्रा कर्मचारीले मद्दत गर्छन्। यसका लागि हामीले आफ्ना सबै कर्मचारीलाई किताबबारे कसरी कुराकानी गर्ने भनेर सिकाएका छौं। ग्राहकको रूचि बुझ्ने र कसलाई कुन किताब सिफारिस गर्ने भनेर पनि सिकाएका छौं।'
उनले अगाडि भनिन्, 'फ्यान्टासीमा रूचि भएकालाई कुन किताब सिफारिस गर्ने र रोमान्समा रूचि भएकालाई कुन किताब सिफारिस गर्ने भनेर भन्छौं।'
बुक भर्स सञ्चालन गरेयता काठमाडौंको पठन संस्कृति नजिकबाट हेर्न पाएकी सृष्टि पछिल्लो समय सबै उमेर समूहमा पढ्ने बानी बढेको बताउँछिन्। त्यसमा पनि २० देखि ३० वर्ष उमेरका व्यक्ति बढी किताब किन्न आउने उनको अनुभव छ।
'धेरै आमाबाबुले बच्चाहरू पनि लिएर आउनुहुन्छ। बच्चालाई सानैदेखि पढ्न सिकाउनुपर्छ भन्ने ट्रेन्ड विकास भएको देखिन्छ,' उनले भनिन्, 'त्यही भएर हामीले बुक भर्समा केटाकेटीदेखि सबै उमेर समूहका पाठकको रूचिअनुसारका किताब राखेका छौं।'
'पढ्ने भनेको पनि लत वा बानी हो। सानै उमेरदेखि यो लत बसाल्न सकियो भने पछिसम्म हातमा किताब नलिई चित्त नबुझ्ने हुन्छ। अचेल धेरै आमाबुबा आफ्ना केटाकेटीलाई मोबाइलमा भुलाउन खोज्छन्, जुन एकदमै गलत हो। मोबाइलको सट्टा किताब राखिदिए बच्चाहरूको सिर्जनात्मक क्षमता बढ्छ,' सृष्टिले भनिन्।

सृष्टि आज पनि नियमित रूपले किताब पढ्छिन्। अहिले एकसाथ तीनवटा किताब पढिरहेको उनी बताउँछिन्।
उनी ओलिभिया ब्लेकको 'जनवरिज', प्राध्यापक डा. पुष्पा श्रेष्ठको आत्मकथा 'द पावर अफ अ रूपीं' र अर्को एउटा फ्यान्टिसी उपन्यास पढिरहेकी छन्।
'म धेरैजसो अंग्रेजी किताब पढ्छु,' उनले भनिन्, 'स्कुलदेखि अंग्रेजीलाई बढ्ता महत्त्व दिएर पढाइएकाले मेरो नेपाली कमजोर छ। तर पछिल्लो समय नेपाली समाज बुझ्न नेपाली किताबहरू पनि पढ्ने कोसिस गरिरहेको छु।'
आफू मात्र होइन, नयाँ पुस्ताका युवाहरू नेपालीभन्दा धेरै अंग्रेजी किताब पढ्ने उनी बताउँछन्। उनकै पसलमा आउनेमध्ये ७५ प्रतिशत अंग्रेजी किताबका पाठक छन् भने बाँकी २५ प्रतिशतले मात्र नेपाली किताब खोज्छन्।
यसको मुख्य कारण स्कुलहरूले दिने शिक्षा नै हो। खासगरी सहरी क्षेत्रका स्कुलले अंग्रेजी भाषालाई धेरै महत्त्व दिन्छन्। कतिपय स्कुलले त नेपाली भाषा बोल्यो भने जरिवाना तिराउँछन्। घरमा विभिन्न मातृभाषा बोल्ने केटाकेटीको त नेपाली भाषा साह्रै कमजोर हुन्छ। नेपाली भाषालाई उपेक्षा गर्ने यो प्रवृत्ति स्कुलहरूले बदल्नुपर्ने सृष्टिको भनाइ छ।
कुराकानीको आखिरीमा मैले उनीसँग आफ्नो रूचिअनुसारको किताब सिफारिस गरिदिन आग्रह गरेँ।
उनले मेरो निम्ति सिफारिस गरेका किताबमध्ये एउटा सिसेलिया अहेमको 'पिएस आई लभ यू' हो।
यसबाहेक आरजे प्यालासियोको 'वन्डर' पनि उनको सिफारिसमा परेको छ। यसमा एउटा बच्चालाई उसको मुखको बनावटका आधारमा साथीहरू जिस्क्याउने गर्छन्।
उनले जेरी स्पाइनलको 'स्टार गर्ल' पनि सिफारिस गरिन् र भनिन्, 'यसले हामीलाई आत्मविश्वासी हुन सिकाउँछ।'
***