ग्यास प्रज्वलनशील पदार्थ हो। यसको प्रयोगमा उद्योगी, व्यवसायी तथा प्रयोगकर्ता सबै सजग हुनपर्छ।
खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्केको घटना हामीले सुन्दै आएका छौं। केही साता अघि मात्रै पनि कमलपोखरीस्थित शानदार मःम पसलमा सिलिण्डर पड्किँदा चार जनाको मृत्यु नै भयो भने केही घाइते भए।
भान्सामा प्रयोग हुने सिलिन्डरका साथै रेगुलेटर, पाइप र चुल्हो गुणस्तरीय नहुनुले पनि दुर्घटना निम्त्याउँछ।
ग्यास चुल्होसम्म लैजान पाइप प्रयोग गरिन्छ। तर यसमा कस्तो प्रकारको पाइप प्रयोग गर्ने? यसबारे हामीलाई ग्यास
बिक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष चन्द्र थापाले जानकारी दिएका छन्।
ग्यासबाट हुने दुर्घटना घटाउन पाइपको पनि उत्तिकै महत्त्व हुने उनी बताउँछन्।
'पाइप त हो नि भनेर हामी जस्तो पनि प्रयोग गर्छौं,' उनले भने, 'तर त्यसले गर्दा पनि दुर्घटना निम्त्याउन सक्छ।'
ग्यास पाइपका हकमा प्लास्टिकको प्रयोग नगरी तारै तारले जेलिएको रबरको पाइप प्रयोग गर्नुपर्ने उनी सुझाउँछन्।
'प्लास्टिकको पाइप फुट्ने र मुसाले खाने डर हुन्छ। त्यस्तो पाइप प्रयोग गर्न हुँदैन,' थापाले भने, 'प्लास्टिकको पाइप ग्यास चुल्होका लागि बनेकै होइन। यसको प्रयोग छुट्टै छ।'
बिक्रेता र उपभोक्ता दुवैलाई ज्ञान नहुँदा प्लास्टिकको पाइप प्रयोग भइरहेको छ। उनका अनुसार उपभोक्तालाई कम मूल्य पर्ने र बिक्रेतालाई पनि बढी नाफा हुने हुँदा प्लास्टिकको पाइप खपत हुने गरेको छ।
रेगुलेटर, पाइप र ग्यास चुल्हो नेपालमै उत्पादन हुँदै आएको छ। भारतबाट पनि ठूलो परिमाणमा आयात हुन्छ। स्वदेशी वा विदेशी जहाँको प्रयोग गरे पनि गुणस्तरमा ध्यान दिनुपर्ने र यसका लागि आधिकारिक गुणस्तर चिन्ह प्राप्त सामान मात्र प्रयोग गर्नुपर्ने उनी बताउँछन्।
'नेपाली र भारतीय जुनसुकै सामान प्रयोग गरे भयो, तर गुणस्तर प्रमाणित हुनुपर्यो। नेपालमा उत्पादन भएको सामानलाई गुणस्तर तथा नापतौल विभागले 'एनएस' चिह्न दिएको हुन्छ।
त्यस्तै भारतबाट आएको सामानमा 'आइएसआई' चिह्न अंकित हुन्छ,' उनले भने, 'अन्य देशबाट आएका सामानमा पनि ती देशको गुणस्तर चिन्ह राखिएको हुन्छ। हामीले त्यस्ता सामान मात्र प्रयोग गर्यौं भने धेरै दुर्घटनाबाट जोगिन सक्छौं।'