बुटवलमा पहिलोपटक 'युनिसेक्स' (पुरूष र महिलाको कपाल काट्ने) सैलुन खोल्दा मोहन ठाकुरलाई उत्साहित गर्नेभन्दा लगानी फसाउने भयो भनेर हतोत्साहित गर्नेहरू धेरै थिए।
यो २०७३ सालको कुरा हो। त्यति बेला बुटवलमा युनिसेक्स सैलुनको चलन नै थिएन।
अरूले नआँटेको काममा हात हाल्ने आँट देखाए मोहनले।
आज उनको त्यो आँट 'समृद्धि युनिसेक्स सैलुन' नामले लोकप्रिय ब्रान्ड बनिसकेको छ।
शून्यबाट सफलतासम्मको यो यात्रामा मोहनको लामो संघर्ष र सकस जोडिएको छ। यो स्टोरीमा हामी मोहनको त्यही संघर्षको कथा सुनाउँदै छौं।
मोहनका बुबा रामविनोद ठाकुर बालिघरे प्रथाका रूपमा रूपन्देहीका चार-पाँचवटा गाउँमा वर्षभरि कपाल काट्ने काम गर्थे। २०५८ सालको एकदिन उनले आँटिलो निर्णय लिए — म अबदेखि गाउँ गाउँ डुलेर हिँड्दिनँ, एउटा ठाउँमा स्थायी रूपले कपाल काट्न बस्छु।
रामविनोदले यो अठोट अमलमा ल्याए।
उनले रूपन्देहीको देवदह शितलनगरमा ट्यांकीमा सैलुन चलाउन थाले। त्यही सैलुन मोहनको पाठशाला बन्यो।
उनले त्यहाँ बुबासँगै दाह्री-कपाल काट्न सिके। दिनभरि स्कुल जान्थे, साँझ-बिहान सैलुनमा सघाउँथे। बिस्तारै उनी पुर्ख्यौली पेसामा आकर्षित हुँदै गए।
रामविनोदलाई भने छोराले कैंची चलाएको कहिल्यै मनपरेन। उनी मोहनलाई यो पेसामा ल्याउनै चाहँदैनथे।
जिन्दगीभरि कपाल काट्दै हिँड्दा अर्काको हेपाइ सहनुपरेको र गुजारा चलाउन धौधौ भएको अनुभव उनले भोगेका थिए। त्यसैले छोराले राम्ररी पढेर सरकारी जागिर खाओस् भन्ने उनको धोको थियो।
मोहन पढाइमा राम्रै थिए। उनले २०६७ सालमा स्नातक पास गरे। त्यसबीच कहिले रेडियो त कहिले गैरसरकारी संस्थामा काम पनि गरे।
तर किन किन, उनको मन सैलुनमै अड्कियो। उनी पितापुर्खाले गर्दै आएको हजाम पेसालाई नै निरन्तरता दिन चाहन्थे।
एउटा कुराले उनको मन सधैं खाइरहन्थ्यो — परम्परागत रूपले सैलुन चलाएर जीविका धान्न सकिँदैन। जिन्दगीमा अगाडि बढ्नुछ भने आधुनिक तरिका अपनाउनैपर्छ। पेसा पुर्ख्यौली नै भए पनि काममा नयाँपन दिनैपर्छ।
यही सोच पछ्याउँदै मोहनले अमरपथको सिंह कम्प्लेक्समा मासिक २० हजार रूपैयाँ भाडा तिरेर युनिसेक्स सैलुन खोले।
सुरूमा ग्राहकहरूले नपत्याइदेलान् भनेर उनले 'निल डेभिड' को ब्रान्डमा सैलुन सञ्चालन गरेका थिए। निल डेभिड, अर्थात् निलेन्द्र कटवाल झापाका ती युवा हुन्, जसले डेभिड नामका बेलायती नागरिकसँग लन्डनमा कपाल काट्न सिके र नेपाल फर्केपछि गुरूकै नाम जोडेर सैलुन चलाए। निलेन्द्रबाट कपाल काट्न सिकेका थुप्रै युवाले देशभर उनकै नामबाट सैलुन चलाएका छन्।
गैरसरकारी संस्थाको जागिर छाडेर हेयर डिजाइनमा एकोहोरिन थालेका मोहन पनि निल डेभिडको व्यक्तित्वबाट प्रभावित थिए। हेयर डिजाइनर पनि सेलेब्रिटी हुन्छन् भन्ने निल डेभिडले उदाहरण बनेर देखाएका थिए।
मोहनले काठमाडौं पुगेर डेभिडलाई भेटे र उनकै नामबाट बुटवलमा युनिसेक्स सैलुन खोल्ने प्रस्ताव राखे।
'त्यति बेला सबै कुरा काठमाडौंकै राम्रो हुन्छ भन्ने भ्रम थियो। ऋण खोजेर सुरू गरेको सैलुन चलेन भने बर्बाद हुन्छ भन्ने डरले मैले पनि काठमाडौंकै ब्रान्डको सहारा लिनुपर्यो,' मोहनले भने।
मोहनले सैलुन त खोले, तर आधुनिक शैलीको सैलुनमा मान्छे तान्ने काम निकै चुनौतीपूर्ण रह्यो। एक-डेढ सय रूपैयाँमा दाह्री-कपाल काट्ने बानी परेकाहरूलाई वातानुकूलित र सुविधासम्पन्न सैलुनमा चार-पाँच सय तिर्नु फजुल खर्च हुन्थ्यो।
त्यसबाहेक कोठाको महँगो भाडा, कर्मचारीको तलब र निल डेभिड ब्रान्ड प्रयोग गरेबापत् हरेक महिना १५ हजार तिर्न निकै गाह्रो भयो। उनले त्यो ब्रान्ड लिएबापत् ३ लाख रूपैयाँ अग्रिम पनि बुझाएका थिए।
पहिलो वर्ष ग्राहकहरू खासै आएनन्। जेनतेन धानेपछि दोस्रो वर्षबाट भिड बढ्दै गयो। रेडियो र गैरसरकारी संस्थामा काम गर्दा बढाएको जनसम्पर्कले पनि ग्राहक बढाउन सहयोग पुगेको उनी बताउँछन्।
दोस्रो वर्षपछि उनले निल डेभिड ब्रान्ड छाडे। पछिल्लो पाँच वर्षदेखि उनको सैलुन 'समृद्धि' नामबाट चलिरहेको छ। तीन सय ६५ वर्गफुटको कोठाबाट सुरू भएको सैलुन १६ सय वर्गफुटमा फैलिएको छ। एक जना कर्मचारी मात्र थिए, आज १६ जना काम गर्छन्। पहिले महिनाको २० हजार भाडा तिर्न हम्मे हम्मे पर्थ्यो, अहिले दुई लाख भाडा सजिलै तिर्छन्।
बुटवलमा मात्र होइन, मोहन आफैले सुरू गरेको समृद्धि हेयर ड्रेसिङकै नामबाट तिलोत्तमाको मणिग्राम, नवलपरासीको बर्दघाट, कपिलवस्तुको जीतपुर र पोखरामा पनि सैलुन खुलेको छ। सबै शाखामा गरी ५० जनाले रोजगारी पाएका छन्।
आठ लाख रूपैयाँबाट सुरू गरेको बुटवलको सैलुनमा मात्र २ करोडभन्दा बढी लगानी पुगिसकेको छ। बाहिरका शाखामा स्थानीय युवा साझेदार छन्। छिट्टै भैरहवा र चितवनमा पनि शाखा खुल्दैछ।
यसै वर्ष अस्ट्रेलियाको सिड्नीमा पनि समृद्धिको शाखा सञ्चालनमा आउने उनले जानकारी दिए।

खासगरी सामाजिक सञ्जालमा प्रचार गर्न थालेपछि पोखरा, नेपालगन्ज, धनगढी, धरान र काठमाडौंका ग्राहक समेत कपाल काट्न बुटवल आउने गरेको उनी बताउँछन्। पछिल्लो समय पोखराबाट धेरै ग्राहक आउन थालेपछि त्यहीँ शाखा खोलेको उनको भनाइ छ।
'काठमाडौंमा मेरा केही ग्राहक छन्, जो बुटवलमा काम परेका बेला अघिल्लो दिन समय लिनुहुन्छ, बिहान जहाज चढेर आउनुहुन्छ, आफ्नो काम सकेर कपाल काटीवरी साँझ फर्कनुहुन्छ,' उनले भने, 'पहिले मसँग कपाल काटेकाहरू कोही विदेश पुगिसके। उहाँहरू पनि नेपाल आउँदा मैकहाँ आउनुहुन्छ।'
यसरी मोहनको सैलुन धाएर कपाल काट्न आउनेमा आयुर्वेदिक चिकित्सक कलावती विश्वकर्मा एक हुन्। बर्दियामा काम गर्ने उनी कपाल र अनुहार मेकअप गर्न समृद्धि हेयर सैलुन नै आउने गर्छिन्।
'बर्दियामा त्यति विश्वासिलो सैलुन छैन। कि नेपालगन्ज जानुपर्छ, नभए बुटवल आउनुपर्छ,' उनले भनिन्, 'मलाई यहाँको काम विश्वसनीय लाग्छ।'
मोहनले पनि पछिल्लो सात-आठ वर्ष अवधिमा ग्राहकको मन जित्न के गर्नुपर्दो रहेछ भन्ने बुझिसके। हेयर स्टाइल र कलर गर्दा प्रयोग हुने सामग्रीको गुणस्तर र सरसफाइमा ध्यान दियो भने ग्राहकहरू आकर्षित हुने उनको अनुभव छ।
'म गुणस्तरमा सम्झौता गर्दिनँ। कपालमा कलर र ट्रिटमेन्ट गर्दा प्रयोग हुने कतिपय केमिकलले आँखा पोल्न सक्छ, श्वासप्रश्वासमा समस्या हुन सक्छ, म त्यस्ता केमिकल प्रयोग गर्दिनँ,' उनले भने, 'गुणस्तरीय सामग्री प्रयोग हुने भएकाले मकहाँ अन्यत्रभन्दा केही महँगो होला, तर ग्राहक सन्तुष्ट भएर जानुहुन्छ।'
सानो हुँदा बुबासँग दाह्री-कपाल काट्न सिकेका मोहनले केही समयअघि विदेश गएर कपालको केमिकल ट्रिटमेन्ट तालिम लिएका थिए। सुरूमा थाइल्यान्ड गएर सिके। त्यसपछि दुबई र भारतमा तालिम लिए। शृंगारका काम समयअनुसार परिवर्तन भइरहने हुँदा नियमित अपडेट भइरहनुपर्ने उनी बताउँछन्।
उनको सैलुनमा बिहान ९ देखि साँझ ८ बजेसम्म भिड लागिरहन्छ। अधिकांश ग्राहक युवा उमेरका हुन्छन्। पछिल्लो समय वयस्कहरू पनि कपालमा कलर र ट्रिटमेन्ट गर्न आउँछन्। अनुहार ट्रिटमेन्टका लागि पनि आउँछन्। यहाँ अनुहारको सौन्दर्य र नक्कली नङ राख्ने काम पनि हुन्छ।
सैलुन फस्टाउँदै गएपछि घरपरिवारबाट सहयोग पाउन थालेको मोहन बताउँछन्। नभए गैरसरकारी संस्थाको जागिर छाडेर सैलुन खोल्ने भन्दा केही समय घरपरिवारसँग बोलचाल बन्द भएको थियो। मोहनले भने पुर्ख्यौली पेसालाई नै आधुनिक र व्यावसायिक बनाएर सम्मानित जीवन बिताउँछु भन्ने अठोट लिए र सफल पनि भए।
'मलाई नेपालमै सैलुन चलाएर आरामदायी जीवन बिताउन सकिन्छ भन्ने उदाहरण बन्नुछ,' उनले भने, 'सात-आठ वर्षमा ५० जनाभन्दा बढीलाई रोजगारी दिन सक्ने र गाडी चढेर हिँड्न सक्ने भएको छु। पहिले भाडामा बस्नुपर्थ्यो, अहिले बुटवलमै घर बनाएको छु। यो सबै मेरो सेवाबाट सन्तुष्ट ग्राहकहरूको मायाले सम्भव भएको हो।'

मोहन सैलुन आउने ग्राहकलाई कपालको डिजाइन र रङ कस्तो सुहाउँछ भनेर सुझाव पनि दिन्छन् र त्यसैअनुसार काटिदिन्छन्।
उनका अनुसार गोलो र लाम्चो अनुहार भएकोलाई एउटै स्टाइल सुहाउँदैन। उमेर र पोसाकका आधारमा पनि फरक-फरक स्टाइलमा कपाल काट्नुपर्ने उनी बताउँछन्। यसबाहेक उनको सैलुनमा कोठा वातानुकूलित छ। आरामदायी कुर्सीमा बसेर कपाल काट्न पाइन्छ। औजारहरू निर्मलीकरण गरिन्छन्। कपाल काटेपछि नुहाइदिने चलन छ। यस्तै विशेषताका कारण सामान्य सैलुनमा डेढ सय रूपैयाँमा कपाल काट्नेहरू मोहनकहाँ चार-पाँच तिर्न गाह्रो मान्दैनन्।
समृद्धि सैलुनमा वार्षिक करिब १३ हजार ग्राहकले सेवा लिने गरेको र तिनमा ८० प्रतिशत महिला हुने गरेको मोहन बताउँछन्।
केही समययता उनले सैलुन सिक्न चाहनेहरूका लागि कपाल र अनुहारको सौन्दर्यसम्बन्धी तालिम दिन एकेडेमी पनि सञ्चालन गरेका छन्। गत वर्ष चैतबाट सञ्चालन गरिएको एकेडेमीमा ती सयभन्दा बढीले तालिम लिइरहेका छन्।
नेपाल मात्र नभएर विदेशमा समेत सौन्दर्य तथा हेयर डिजाइनको राम्रो सम्भावना भएकाले युवाहरूको आकर्षण बढेको उनी बताउँछन्। उनीकहाँ सिक्न आउने पनि अधिकांश विदेश जाने तयारीमा रहेकाहरू नै छन्।
'कपाल काट्ने काम हिजो ठाकुर समुदायको मात्र हो भनिन्थ्यो, अहिले त्यस्तो छैन,' उनले भने, 'हातमा सीप हुने जसले सैलुन चलाए पनि चल्छ।'
एकेडेमीमा कपाल काट्नेदेखि कपालको उपचार, रङ लगाउने, अनुहारको सौन्दर्य, नङ राख्ने लगायत विषयमा १५ दिनदेखि ६ महिनासम्मको तालिम दिइन्छ।
'सरकारले नै कपाल र सौन्दर्यसम्बन्धी कलेज खोलेर तालिम दिने हो भने धेरै नेपाली युवाहरूले स्वदेशमै काम गर्ने अवसर पाउँथे,' उनले भने।
***