निकेश श्रेष्ठ र कञ्चन श्रेष्ठ श्रीमानश्रीमती हुन्, व्यवसायका सहयात्री पनि। केही वर्षयता उनीहरू नेपाली ब्रान्ड 'कटनको नेपाल' चलाउँदै छन्।
कोरोना फैलिएका बेला उनीहरूले अनलाइनमार्फत् सुरू कटनको नेपालले अहिले लामै फड्को मारेको छ।
निकेशका लागि कटन लुगाको व्यापार नयाँ होइन। उनका हजुरबुबा विष्णुप्रसादले २०३० सालमै कपडा व्यवसाय सुरू गरेका थिए। बुबा नीलकण्ठले त्यसैलाई निरन्तरता दिए। उनले कटन ल्याएर होलसेल (थोक) र रिटेल (खुद्रा) बेचे।
तेस्रो पुस्ताका निकेश हजुरबुबा र बुबाको बिँडो थाम्न अघि सरेका हुन्। त्यसमा साथ दिएकी छन् श्रीमती कञ्चनले। अहिले उनीहरू आफ्नो पुर्ख्यौली व्यवसाय ब्रान्डिङ गर्दै अघि बढेका छन्।
'समय अनुसार प्रविधि उपयोग गर्दै हजुरबुबा र बुबाको व्यवसायलाई निरन्तरता दिएका छौं। दत्तचित्त भएर लागि पर्दा सफल भइन्छ भन्ने मान्यता लिएर काममा लागेका छौं,' स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरेका निकेश र कञ्चनले भने।
कटनको नेपालले नामजस्तै हाल कटनका लुगाकपडा मात्र बेच्छ।
कटनबाट बनेका तन्ना, सिरानीको खोल, पजामा सेट, सुत्केरीका लुगा, खास्टो, दोलाईं, सिरक, बालबालिकाका दौरासुरूवाल र भोटोसेट लगायत पाइन्छ।
यीमध्ये तन्ना, सिरानीको खोल र सिरकको कपडा भारतका विभिन्न सहरबाट आयात गर्छन्। विभिन्न थरी बुट्टा छापिएका कटन कपडा आफ्नो डिजाइन अनुसार गार्मेन्टमा सिउन दिन्छन्। सिलाइका लागि काठमाडौंका तीनवटा कारखानासँग सहकार्य गरेका छन्।
कञ्चनका अनुसार सबभन्दा बढी माग तन्नाको छ। हाल कटनको नेपालमा एक हजार पाँच सय रूपैयाँदेखि साढे पाँच हजार रूपैयाँसम्मको तन्ना पाइन्छ। कपास सिरकको साढे चार हजारदेखि १५ हजार रूपैयाँसम्म पर्छ।


'कटनको नेपालको मुख्य आकर्षण उच्च गुणस्तर, आकर्षक डिजाइन र उचित मूल्य हो,' कञ्चनले भनिन्, 'कपडाको गुणस्तरअनुसार मूल्य किफायती उचित छ। गुणस्तरीय कपडामा थुप्रै डिजाइन पाइने भएकाले पनि ग्राहकको रोजाइमा परेका छौं।'
कटनको नेपालले आफ्नो उत्पादन अस्ट्रेलिया र अमेरिका पनि पुर्याएको छ। ती देशमा बस्ने केही नेपालीले बिक्रीका लागि लैजाने गरेका छन्। अन्य मुलुकबाट पनि जिज्ञासा आइरहेको छ।
कटनको नेपालका उत्पादन इन्स्टाग्राम र फेसबुक पेजबाट अर्डर गर्न सकिन्छ। काठमाडौंको मध्यबानेश्वरमा रहेको पसलमा पनि किन्न सकिन्छ।
अनलाइनबाट मार्केटिङ र ब्रान्डिङ गरेको छोटो समयमै कटनको नेपालले बजार विस्तार गरेको छ। हजुरबुबा र बुबाले बनाएको बजार र उनीहरूको मार्गदर्शनले पनि व्यवसाय सहज भएको निकेश–कञ्चनको अनुभव छ।
निकेशको पारिवारिक व्यवसाय भए पनि कञ्चनले भने यसरी लुगाको व्यवसायमा लाग्ने सोचेकी थिइनन्। उनले बैंकक र दिल्लीमा मेकअप कोर्स गरेकी हुन्। आठ वर्षदेखि बहिनीसँग मिलेर कञ्चनले बानेश्वरमै मेकअप स्टुडियो चलाएकी थिइन्।
कञ्चनका अनुसार थुप्रै कलाकारहरू मेकअपका लागि आउँथे। आम्दानी राम्रो थियो। १० जनाले रोजगारी पनि पाएका थिए। कोरोनापछि भने केही समय मेकअप स्टुडियोमा काम बन्द भयो।
'मेरो बच्चा पनि जन्मिएपछि केही समय काममा जान पाइनँ। घरमा बसेका बेला परिवारको व्यवसाय नजिकबाट बुझ्ने अवसर पाएँ,' कञ्चनले भनिन्।
बाहिर निस्किन नपाएर घरमा बसेका बेला निकेश–कञ्चनले बाबुबाजेको कपडा व्यवसायलाई डिजिटल माध्यममा जोडेर अघि बढ्ने योजना बनाए। लकडाउनकै समयमा इन्स्टाग्राम र फेसबुक पेजबाट कटन लुगाकपडाको प्रचार सुरू गरे। सबैभन्दा पहिला तन्नाको फोटो र भिडिओ राखे। यसमा निकै सकारात्मक प्रतिक्रिया पाए। केही अर्डर पनि आयो।


धेरै वर्षदेखि होलसेलमा चलेको व्यापारलाई उनीहरूले अनलाइनबाट खुद्रामा लगे। अर्डर बढ्दै गयो। लकडाउन अन्त्य भएर बजार सामान्य हुँदै गएपछि जाँदा ग्राहकहरूले पसल खोज्न थाले। अनि उनीहरूले मध्यबानेश्वरमा रहेको आफ्नै घरको भुइँतलामा पसल राखे।
हाल कटनको नेपालमा निकेश, कञ्चन र पारिवारका अन्य सदस्यबाहेक पाँच जनाले रोजगारी पाएका छन्।
निकेशका अनुसार बजार बुझेर छोराबुहारीले नयाँ तरिकाले व्यवसाय अघि बढाएकोमा उनका बुबा नीलकण्ठ निकै खुसी छन्। नीलकण्ठ छोराबुहारीलाई आफ्नो व्यापार अनुभव पनि सुनाउँछन्।
'व्यवसायमा बुबाको योगदान धेरै छ। उहाँबाटै सिकेर हामी अघि बढ्दै छौं,' निकेशले भने, 'हामीलाई हौसला, सल्लाह दिनुहुन्छ। उहाँकै मार्ग निर्देशनले हामी व्यवसायमा छौं।'
अहिले व्यवसायको सबै काम सम्हालिरहेका निकेश–कञ्चन भन्छन्, 'चाँडै आफ्नै सिलाइ कारखाना खोल्ने, व्यवसाय अझै विस्तार गर्ने र रोजगारी बढाउने योजना छ।'

(कटन नेपालको इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)