पोखराकी रोशनी शर्मा दिनभरि आफ्ना कर्मचारीसँग मिलेर तरकारी काट्छिन्। उनका श्रीमान प्रकाश आचार्य किसानका खेतसम्मै पुगेर तरकारी ल्याउँछन्।
उनीहरू यी तरकारी के गर्छन् त?
उनीहरू यसबाट अचार बनाउँछन् र 'हरिलो एग्रो इन्डस्ट्री' को उत्पादनका रूपमा बजारमा बिक्री गर्छन्।
रोशनीले बनाउने मुला, डल्ले खुर्सानी, आँप, करेला, लप्सी, तामा, न्युरो लगायतको अचार बजारमा एकदमै लोकप्रिय छ। काउली, गाँजर, करेला, कागती जस्ता सामग्री मिलाएर बनाउने 'मिक्स भेज' पनि धेरैले रूचाएका छन्।
तरकारीबाट अचार बनाउने रोशनीको आफ्नै विधि छ।
घरेलु तरिकाले काटिएका तरकारीलाई उनी दिनभरि घाममा सुकाउँछिन्। त्यसपछि टिमुरका छोंप, तोरी र तीलका छोंप, गरम मसला, अलैंची, खुर्सानी, लसुन, अदुवा, प्याजका धूलो, जिरा लगायतका मसला मिसाएर ड्रममा राख्छिन्। यसो गर्दा काटिएका तरकारीले मसला सोस्न थाल्छन्। मसलाको स्वाद बिस्तारै अचारमा मिसिँदै जान्छ।
लगभग एकदेखि दुई सातामा अचार तयार हुने रोशनी बताउँछिन्। त्यसपछि त्यो अचारलाई सिसाको बट्टामा भरेर बजार पठाइन्छ।
रोशनी र प्रकाशले बनाएका मासुका सितन पनि लोकप्रिय छन्। यस निम्ति मेसिनले मासु टुक्राटुक्रा पारिन्छ र त्यसलाई भुटेर मसला मोलिन्छ। त्यसपछि रातभरि राखेर प्याकेज गरिएको सितन खानलाई तयार हुन्छ। उनीहरू कुखुरा र राँगाको मासुबाट सितन बनाउँछन्।

यो व्यवसायको सुरूआत सानो स्तरमा भएको थियो।
उनीहरूले २०७६ सालको तिहारमा सेलरोटी बनाएर व्यापार सुरू गरेका थिए। घर-घरमा सेलरोटी पुर्याउने विज्ञापन फेसबुकमा पोस्ट गरे। सेलरोटीको मूल्य प्रतिगोटा २३ रूपैयाँ राखे। कम्तिमा २० वटा रोटी अर्डर गर्नुपर्ने सर्त पनि थियो।
लक्ष्मीपूजाको दिन प्रकाशको मोबाइलमा तारन्तार घन्टी बज्न थाल्यो। एक दिनमै उनीहरूले ५०३ वटा रोटी बेचे।
'त्यो बेला हामी बूढा-बूढी मात्र थियौं। घरमा काम गर्न कोही थिएन,' रोशनीले भनिन्, 'फेसबुक र फोनबाट आएको अर्डर पूरा गर्न हामी बिहानदेखि राति ९ बजेसम्म सेलरोटी पोलेर बसेका थियौं।'
ग्राहकहरूले उनीहरूको सेल कतिसम्म मनपराए भने, केहीले त पटकपटक अर्डर गरे। रोटी पुर्याउन जाँदा केही ग्राहकले अचारका बारेमा सोधे। प्रकाशले जबाफ दिए, 'अचार पनि बनाउने विचारमा छौं, त्यसका लागि दुई साताजति लाग्न सक्छ।'
सेलरोटीमा पल्केका ग्राहकहरू अचारका लागि दुई साता कुर्ने अवस्थामा थिएनन्। यही बुझेर रोशनीले घरमै मुलाको अचार बनाइन्। त्यसपछि अरू तरकारीबाट पनि अचार बनाउन थालिन्।
ग्राहकको मागअनुसार घ्यू, सातु र सुत्केरी मसला पनि बनाएर घर-घर पुर्याउँदै आएको उनीहरू बताउँछन्। सुत्केरी मसला बनाउन ज्वानो, काजु, बदाम, ओखर, नरिवल, गुँद, दूध, घ्यू, चम्सुर, ल्वाङ, सुकमेल, दालचिनी लगायतका सामग्री प्रयोग गर्छन्।
यसरी घरमै बनाएको सेलरोटीबाट सुरू भएको व्यवसायले अहिले उद्योगको रूप लिइसकेको छ।
हरिलो एग्रो इन्डस्ट्रीमा २३ जना कर्मचारी काम गर्छन्। गत वर्ष २ करोड रूपैयाँ कारोबार गरेको यो उद्योगले चालू आर्थिक वर्षको ६ महिनामा करिब ४ करोडको कारोबार गरिसकेको छ। कम्पनीमा ५ करोड रूपैयाँ लगानी भएको प्रकाश बताउँछन्।


यसबीच व्यवसायलाई निरन्तरता दिन उनीहरूले एनएमबी बैंकबाट १५ लाख रूपैयाँ ऋण लिएर पोखराको नदीपुरमा अचारको शोरूम खोलेका थिए। काम गर्दै जाँदा पसलबाट भन्दा होम डेलिभरीबाट बढी बिक्री भयो। त्यसपछि पसल बन्द गरे र होम डेलभरीमै बढी जोड दिए।
अचार उद्योगमा पुरूषोत्तम कुँवर, सरोज पनेरू, प्रवीण भट्टराई, मुक्तिनाथ चालिसे र परविन्दर सिंह पनि समावेश छन्। नबिल बैंकबाट ३ करोड रूपैयाँ ऋण पनि लिएका छन्।
यो उद्योगले १६ प्रकारका अचार, छोँप, मासुका सितन, सुकुटी र गुन्द्रुकका उत्पादन गर्दै आएको छ। उनीहरू पोखरा उपत्यकाबाहेक तनहुँको सिमानामा पर्ने तल्लो गगनगौंडासम्म नि:शुल्क डेलिभरी गर्छन्।
हरिलो उद्योगमा २० हजार किलो अकबरे खुर्सानी, ३ हजार किलो टिमुर र लसुन, १ हजार किलो आँप र २ हजार किलो लप्सी स्टोर गरेर राखिएको छ। सिजनको फलफूल र तरकारी बेलैमा स्टोर नगरे वर्षभरि अचार उत्पादन गर्न नसकिने प्रकाश बताउँछन्।
अचार र सितनमा सफलता पाएका यी दम्पतीले कतिपय काममा असफलता पनि भोगेका छन्। यसको एउटा उदाहरण चिया व्यवसाय हो।
इलामबाट हरियो चिया मगाएर उनीहरूले प्याकेजिङ गरी बेच्न थालेका थिए। तर अपेक्षाअनुसार बिकेन। धेरै चिया कुहिएरै गयो।
'यसबाट थाहा भयो, सबै उत्पादन एकैचोटि गर्न सकिँदैन,' प्रकाशले भने, 'अब हामी ती उत्पादन मात्र बनाउँछौं, जसमा राम्रो परिणाम प्राप्त गर्न सक्छौं।'
उनीहरूले पोखरा-१६ मा १० वर्षका लागि ४ रोपनी जग्गा भाडामा लिएर उद्योग चलाएका छन्। कम्पनीले राँगाको मासुमा हलाल सर्टिफिकेट प्राप्त गरेको छ, जसले मुस्लिम देशहरूमा निर्यातको बाटो खोल्छ। नेपालीहरू बसोबास गर्ने खाडी मुलुकमा आफ्ना उत्पादन निर्यात गर्ने योजना रहेको उनले बताए। कम्पनीले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ, जसले निर्यात सहज बनाएको छ।
कम्पनीका उत्पादन अहिले संयुक्त अरब इमिरेट्स, हङकङ, अमेरिका, युरोपका आठ मुलुक गरी १२ भन्दा बढी देशमा पुगेका छन्। उत्पादनका ६० प्रतिशत हिस्सा विदेश निर्यात भइरहेको प्रकाश बताउँछन्।
यति हुँदाहुँदै उद्योग पूर्ण क्षमतामा सञ्चालन भइसकेको छैन। कच्चापदार्थ आवश्यकताअनुसार नपाउँदा उत्पादन घटाउनुपरेको छ।
उनीहरूको उत्पादन अनलाइन अर्डरका साथै भाटभटेनी, सेल्सबेरी, बिगमार्ट, पानीपँधेरो, खजुरीको पसल, चेन मार्केट लगायत देशभरका प्रमुख डिपार्टमेन्ट स्टोरमा पनि उपलब्ध छन्।
'जब काम गर्दै जान्छौं, बाटो खुल्दै जान्छ,' प्रकाशले भने, 'दिनदिनै समस्या आउँछन्, तर समाधान गर्दै जाँदा नयाँ अवसर खुल्छन्।'
***
