व्यापार तथा निकासी प्रवर्द्धन बोर्डले हस्ताकलाका सामग्रीको मौलिकता जोगाएर निर्यात बढाउन व्यवसायीहरूलाई आग्रह गरेको छ।
सोमबार नेपाल हस्तकला महासंघको नवनिर्वाचित कार्य समितिसँगको अन्तर्क्रियामा केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले यस्तो आग्रह गरेका हुन्।
उनले नेपाली हस्तकलाको समग्र विकास र निर्यात वृद्धिका लागि केन्द्रले दीर्घकालीन सहकार्य र समन्वयन गर्ने प्रतिवद्धता जनाए।
राणाले हस्तकलाको मौलिकता जोगाउन परम्परागत सीपको पुस्तान्तरण जरुरी रहेको उल्लेख गरे। साथै, व्यावसायिक आचारसंहिताको पालना गर्न महासंघ सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यले नेपाल सरकार र महासंघबीच हस्तकला क्षेत्रको नीतिगत सुधारका लागि सहकार्य गर्नुपर्ने बताए।
निवर्तमान अध्यक्ष प्रचण्ड शाक्यले विगतझैँ केन्द्र र महासंघले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा केन्द्रले नेपाली हस्तकलाको निकासी व्यापारको अवस्थाबारे प्रस्तुति दिएको थियो।
साथै, निर्यात प्रवर्द्धनका लागि आवश्यक सुधारका उपायहरूबारे छलफल भएको थियो।