जागुराम चौधरीले बीस वर्षदेखि घोडामा राखेर खाद्यान्न ढुवानी गर्दै आएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका-११ का जागुरामले मंगलबार भने आफ्नो घोडालाई भारी बोकाएनन्।
बरू, उनले घोडालाई तुलसीपुर-१० गौरीगाउँस्थित फुटबल मैदानमा लगे। त्यहाँ शिविर चलिरहेको थियो। पशुचिकित्सकले घोडालाई टिटानस खोप, जुकाको औषधि र भिटामिन खुवाए।
'केही समयअघि हाम्रै गाउँमा एक लाख रूपैयाँभन्दा बढी पर्ने घोडा टिटानस लागेर मरेपछि डर भयो,' जागुरामले भने, 'बीमा छैन, उपचारको निश्चित व्यवस्था छैन। घोडालाई केही भयो भने जीविकोपार्जन कसरी गर्नु!'
जागुरामले दुई वर्षदेखि आफ्नो घोडालाई टिटानस र जुकाको औषधि दिन पाएका थिएनन्। त्यसअघि भने संघसंस्था र स्थानीय सरकारको सहयोगमा वर्षमा एक पटक दिन्थे।
उनी रोपाइँ र धान भित्र्याउने समयमा बाहेक वर्षभरि नै घोडामा राखेर खाद्यान्न ओसारपसार गर्छन्। गाउँघरबाट खाद्यान्न संकलन गरी मिलमा कुटाएर झन्डै १२ किलोमिटर उत्तरतर्फ तुलसीपुर बजारमा बेच्न लैजान्छन्। कहिलेकाहीँ अन्त पनि जान्छन्। यसरी काम गर्दा दैनिक एकदेखि दुई हजार रूपैयाँसम्म बचत हुन्छ।
सहरी क्षेत्रमा भने काम गर्न अप्ठ्यारो लाग्ने उनी बताउँछन्।
'बजारका मान्छेले घोडा पसल वा घरअगाडि बाँध्न दिँदैनन्। अझ घोडाले दिसा वा पिसाब गरे तुरून्तै उठाउन लगाउँछन्,' जागुरामले भने, 'पशुले कति बेला दिसापिसाब गर्छ भन्ने थाहा नि!'
बजारमा हुने अर्को समस्या भनेको घोडाका लागि खानेपानी अभाव हो। त्यसैले स्थानीय सरकारले बजारमा घोडा बाँध्ने र पानी खुवाउने ठाउँ बनाइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ।
'स्थानीय आवश्यकता के हो भन्ने पहिचान गरेर सोहीअनुसार काम नगर्ने हो भने नजिकको सरकार भनेर मात्रै के अर्थ,' उनले भने।
तुलसीपुरका पूर्वमेयरले घोडा व्यवसायीहरूलाई यी सुविधा उपलब्ध गराउने आश्वासन दिएका थिए। अहिले भने पालिकाले आफूजस्ता साना किसानको हितमा कुनै काम नगरेको जागुरामको आरोप छ।
घोडा आफूहरूका लागि निकै फाइदाजनक र उपयोगी भएको उनले बताए। सवारी साधन घोडाका प्रतिद्वन्द्वी होइनन् भन्ने उनलाई लाग्छ। गोरेटो वा भित्री बाटोमा अझै पनि गाडी त के, अटोरिक्सा समेत जान सक्दैनन्। त्यस्तोमा घोडा जान्छ। अर्कोतर्फ, सबै किसानको भारी ठूला सवारी साधनमा लैजान पुग्दो नहुन सक्छ। थोरैतिनै भारी घोडाले नै बोक्छ।
तर घोडावालप्रति बजारमा विश्वास घट्दै गएको महसुस उनले गरेका छन्।
यसको कारण पनि छ।
उनका अनुसार केही घोडाधनीले गाउँबाट ल्याएको भनेर बजारकै मिलमा चामल र अन्य खाद्यान्न किन्छन् र पाँच-सात सय रूपैयाँ बढीमा बेच्छन्। त्यसैले पेसाप्रति विश्वास घट्दै उनले बताए।
'यस्तो प्रवृत्तिले घोडा व्यवसायमै आँच आउने खतरा छ,' जागुरामले भने।
तुलसीपुर–११ कै प्रिगाउँका टेकबहादुर वली पनि ३२ वर्षदेखि घोडाबाट सामान ओसारपसार गर्दै आएका छन्। उनका बुबा यही पेसामा थिए। उनलाई पनि बजारका मानिसहरूले घोडा र घोडाधनीलाई गर्ने व्यवहार मन पर्दैन।
'हामीलाई ए, घोडे भनेर बोलाउँछन्। घोडावाला दाजु वा भाइ भने पनि हुन्थ्यो नि,' टेकबहादुरले भने।
उनका अनुसार यहाँ घोडाका लागि चरन क्षेत्र पनि हराउँदै छ। पहिले हिउँदमा जुम्लाबाट घोडा लिएर व्यापारीहरू आउँथे। सिमसार क्षेत्र सुक्दै जाँदा चरन क्षेत्र मासियो। त्यसैले अहिले पाहुना घोडा आउँदैनन्। व्यापार घट्यो, घोडा पाल्नेहरू घटे। जतिले पालेका छन्, उनीहरूले घाँस पनि रोप्नुपरेको छ।
'यसरी नै जाने हो भने भविष्यमा घोडा पाल्ने मानिस नै घट्ने र यो महत्वपूर्ण जनावर नै लोप हुन सक्छ,' उनले चिन्ता व्यक्त गरे।
तुलसीपुर–१० र ११ मा मात्रै सय जनाभन्दा बढीले घोडा पालेका छन्। पालिकाले भने आफूहरूको हितमा कुनै योजना नल्याएको वली बताउँछन्।
'नगरपालिकाले वर्ष वर्षमा खोप र औषधि, बजारमा घोडा बाँध्ने १०-२० वटा टहरा र खानेपानी व्यवस्था गरिदिए हामीलाई ठूलो राहत मिल्थ्यो,' उनले भने।
२०७२ सालदेखि घोडा पाल्दै आएका तुलसीपुर-११ बेलगनारीका राजकुमार चौधरीले घोडा बिरामी हुँदा समस्या हुने बताए। तुलसीपुर बजारको भेटेरिनरी सेवा केन्द्र १० किलोमिटर पर भएकाले समयमै उपचार पाउन कठिन हुन्छ।
एउटा संस्थाले २०६३ सालदेखि टिटानस विरूद्धको खोप उपलब्ध गराउँदै आए पनि पछिल्लो समय सेवा बन्द भएको उनले बताए। चार वर्षयता यो खोप व्यवस्थामा राज्यले कुनै चासो नदेखाएको राजकुमारको गुनासो छ।
'भेटेरिनरीमा खोप माग्न जाँदा उपलब्ध छैन भन्छन्,' उनले भने।
भारी बोकेका घोडामा चोटपटक लाग्ने सम्भावना उच्च हुन्छ। टिटानसको जोखिम धेरै हुने भएकाले बीमा नीति आवश्यक भएको घोडापालकहरू बताउँछन्। अन्य पशु चौपायाजस्तै घोडाको पनि बीमा हुनुपर्ने उनीहरूको माग छ। केही वर्षअघि बीमाका लागि किसानहरूबाट वार्षिक रकम उठाउने गरेको भए पनि राज्यको नीतिका कारण त्यो प्रक्रिया बन्द भएको उनीहरू बताउँछन्।
'खोप उपलब्ध नगराउने, बीमासमेत नगर्ने राज्यको नीतिले किसानलाई अप्ठ्यारो बनाएको छ,' राजकुमारले भने, 'यस्तै नीति रहे, घोडा जीविकोपार्जनको सारथि कसरी बन्न सक्छ?'
तुलसीपुर पशु स्वास्थ्य कार्यालयका पशु प्रवर्द्धन अधिकृत डा. मनोज वलीका अनुसार गाउँघरबाट खाद्य सामग्री संकलन गरेर तुलसीपुर बजार ल्याउने घोडामा टिटानस लगायत समस्या देखिएको छ। समाधानका लागि खोप शिविर आयोजना गरिएको हो।
'किसानका केही घोडा मरेको खबर पाएकाले समस्या समाधानका लागि शिविर आयोजना गरिएको हो,' डा. वलीले भने।
दाङभर दुई सय पचास जनाले घोडा पालन गर्छन्। सिजनमा बाँके र भारतबाट इँटाभट्टाका लागि झन्डै सात सय वटा घोडा–खच्चड ल्याइन्छ।
दाङमा पहिले ब्रकु हस्पिटल फर एनिमल यूके (ब्रकुयुके) नामक संस्थाको सहयोगमा नौ वर्षसम्म घोडा तथा खच्चडलाई जुका र टिटानसको औषधि दिइएको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखराका कार्यकारी निर्देशक उमेश शर्माले बताए। पछिल्लो दुई वर्षयता कार्यक्रम बन्द छ।
'परियोजना सुरू हुनुअघि घोडा र खच्चडका शरीरभरि घाउ हुन्थे। बिरामी घोडालाई समेत भारी बोकाउने चलन थियो। परियोजनाले खोप तथा औषधि समेटेपछि यो सबै रोकियो,' उनले भने।
जिल्ला पशु स्वास्थ्य संस्थाका परामर्शदाता रमन मिश्र घोडालाई हरेक वर्ष टिटानस खोप अनिवार्य लगाउन जरूरी रहेको बताउँछन्। तर राज्यको कुनै पनि कार्यक्रमले यो कामलाई समेट्न नसकेको उनले बताए।
'राज्यले स्पष्ट नीति बनाएर घोडा तथा खच्चडको स्वास्थ्य सुधारमा ध्यान दिन आवश्यक छ। अन्य पशुचौपायाजस्तै घोडा पाल्नेलाई पनि उचित सुविधा र सहुलियतको व्यवस्था गर्नुपर्छ,' उनले भने।