सिमेन्ट उत्पादक संघले विगतमा घटाएको मूल्य बढाएर मूल्य समायोजन गरिएको जनाएको छ।
निर्माण व्यवसायी तथा सरोकारवालाले व्यवसायीले कार्टेलिङ गरेर एकैपटक अत्याधिक मूल्य बढाएको आरोप लगाएको समयमा संघले शुक्रबार पत्रकार सम्मेलन गरेर खण्डन गरेको हो।
महिना र मागको आधारमा मूल्यमा घटबढ हुने व्यवसायीहरूको भनाइ छ।
विगतका वर्षहरूदेखि नै मंसिर पुसमा मूल्य बढ्ने गरेको अहिले पनि बढेको संघले जनाएको छ।
'हामीले नगद प्रवाह गर्नको लागि पनि विगतका महिनाहरू यथार्थ लागतभन्दा पनि कम मूल्यमा बेचेका थियौँ, अफ सिजनमा मूल्य घटाउन बाध्य भएको हुन्छ, सिजनको समयमा लागत मूल्य पूर्ति गर्न समायोजन गर्नुपर्छ त्यही गरेका हौँ,' संघका अध्यक्ष रघुनन्दन मारुले भने।
विद्युत कटौती, ढुवानी भाडा वृद्धि र वैकल्पिक ऊर्जाको खर्चले सिमेन्ट उद्योगको लागत अत्यधिक बढेको जनाइएको छ।
ठूलो नोक्सानी व्यहोर्दै आएका उद्योगले तरलता व्यवस्थापनका लागि मूल्य बढाउन बाध्य भएको सिमेन्ट उत्पादक संघले जनाएको छ।
'जेनेरेटरबाट वैकल्पिक ऊर्जा प्रयोग गर्दा उत्पादन लागत उच्च भएको छ। साथै, ढुवानी भाडा र कच्चा पदार्थको खर्चले उद्योगलाई थप दबाब दिएको छ,' संघका संघका उपाध्यक्ष तारा पोखरेलले भने।
अहिले सिमेन्ट उद्योगले कार्टेलिङ गरिएको, अचाक्ली मूल्य बढाएको आरोप सिमेन्ट उत्पादकलाई लगाए पनि यथार्थ यो नभएको उनले बताए।
सबै उद्योगले आफ्नो लागतको आधारमा फरक–फरक मूल्य आएको उनले बताए। कुनै दुई उद्योगले मूल्यमा छलफल नगरेको प्रतिक्रिया उनको छ।
उनले न्यून क्षमतामा सञ्चालन भएको कारण पनि लागत बढेको बताए। विगतको समयमा सिमेन्ट उद्योग घाटामा सञ्चालन भएको उनले स्मरण गराए।
उनका अनुसार उद्योगहरू ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेको छ।
'ठूलो नोक्सानीले कर्जा किस्ता र ब्याज भुक्तानी गर्न कठिन बनाएको छ। तरलता व्यवस्थापनका लागि न्यूनतम मूल्यवृद्धि गर्नुपरेको हो,' उनले भने।
६५ मध्ये २२ सिमेन्ट ग्राइण्डिङ युनिट बन्द भइसकेका छन् भने बाँकी उद्योगहरू पनि आर्थिक संकटमा छन्।
संघका अनुसार उद्योग बन्द हुँदा बैंकहरूले पनि कर्जा असुल्न नसक्ने अवस्था सिर्जना हुनेछ। त्यसैले उत्पादन लागतअनुसारको मूल्य निर्धारण गर्नुपर्ने छ।