नेपाल आयाल निगमले पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल पनि ढुवानी गर्ने तयारी गरेको छ।
यसअघि डिजेल मात्रै ढुवानी गरिरहेको निगमले अब सोही पाइपलाइनमार्फत छिट्टै पेट्रोल र मट्टीतेल ढुवानी गर्ने भएको हो।
निगमले पाइपलाइनमार्फत् डिजेल ढुवानी गर्न सन् २०१९ (२०७६ भदौ) देखि थालेको हो।
पेट्रोल र मट्टीतेल ढुवानी गर्न निगमले बाराको अमलेखगञ्जमा पूर्वाधार तयार गरिसकेको छ। पाइपलाइनमार्फत ढुवानी गर्न पेट्रोल र मट्टीतेलको परीक्षण समेत गरिसकेको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले बताए।
'पूर्वाधार तयार छ। हामीले केही परिमाण पाइपलाइनबाट पनि ल्यायौं,' उनले भने, 'अहिले लोडिङ सेडसम्म लगेर परीक्षण गरिरहेका छौं।'
उनका अनुसार असोजमा पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र मंसिरमा एक हजार किलोलिटर मट्टीतेल ल्याएर परीक्षण गरिएको थियो।
निगमले पेट्रोल र मट्टीतेल भण्डार गर्न चार वटा ट्यांकी थप गरेको छ। अब निगमसँग पाइपलाइन मार्फत ल्याइएको तेल भण्डारणको लागि नौ वटा ट्यांकी छन्।
उक्त ट्यांकीमा १७ हजार चार सय ९० किलोलिटर पेट्रोल, २५ हजार पाँच सय ९० किलोलिटर डिजेल र दुई हजार दुई सय ७० किलोलिटर मट्टीतेल भण्डारण गर्न सकिने छ।
त्यस्तै, तीन हजार किलोलिटर क्षमताका दुईवटा फायरवाटर ट्यांकी, दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांकी (मिसिएको इन्धन राख्न) र २४ वटा पूर्ण स्वाचालित लोडिङ बे पनि पनि बनाइएको छ।
उक्त पूर्वाधार तयार गर्न निगमले दुई अर्ब बढी लगानी गरेको छ।
पाइपलाइनबाट पेट्रोल र मट्टीतेल नियमित ढुवानी गर्न जनवरीभित्रै उद्घाटन गर्ने तयारी गरिएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए।
'जनवरीभित्रै उद्घाटन गर्ने भन्ने हो,' उनले भने, 'उद्घाटनका लागि इंडियन आयाल कर्पोरेसनसँग छलफल हुँदैछ।'
पाइपलाइन मार्फत पेट्रोल र मट्टीतेल ल्याउँदा निगमको ढुवानी खर्च जोगिने उनले बताए।
हाल ट्यांकरमार्फत आउने तेल भारतको रक्सौल र बरौनीबाट आयात भइरहेको छ। बरौनीबाट काठमाडौंसम्मको दुरी ४ सय किलोमिटर छ। ढुवानीमा निगमको वार्षिक ५ देखि ६ अर्ब रूपैयाँ खर्च हुँदै आएको छ।
अमेलखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउँदा ६० प्रतिशत ढुवानी खर्च जोगिने छ। खर्च बचत भएपछि उपभोक्तालाई स्वतः तेलको मूल्य सस्तो हुने उनले बताए।
'अहिले त्यहाँ सयभन्दा बढी ट्यांकी छन्। पाइपलाइनबाट ल्याउन थालेपछि त्यहाँको ट्यांकी अन्यत्र परिचाल गर्छौं,' उनले भने।
अमलेखगञ्जदेखि अन्यत्र रहेका डिपोमा भने ट्यांकरबाट ढुवानी हुँदै आएको छ।
लामो दुरीमा ट्यांकरबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा इन्धनको चोरी, सवारी दुर्घटना, सवारी जाम लगायतका समस्याको समाधान हुने उनको विश्वास छ।
पाइप लाइनबाट तेल ल्याउँदा प्रदूषण पनि नियन्त्रण हुने छ। दैनिक रूपमा हजारौं ट्यांकर ओहोर-दोहोर गर्दा वातावरणमा हुने प्रदूषण पाइपलाइनको प्रयोगसँगै घट्ने निगमले जनाएको छ।
पाइपलाइनले गर्दा आयातमा लाग्ने समय पनि बचत हुने छ। ट्यांकरमार्फत इन्धन ढुवानी गर्दा लामो दूरी ट्राफिक जाम, भन्सार जाँच पास लगायतका कारणले लामो समय लाग्ने गरेकोमा अब यो समस्या पनि समाधान हुनेछ।
'पाइपलाइनले पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन्छ। नाकामा अवरोध हुँदा पेट्रोलियम पदार्थको आयात नै अवरुद्ध हुने अवस्था थियो,' उनले भने, 'अब त्यसको अन्त्य भयो।'