पछिल्लो समय बजारमा अण्डाको मूल्य बढेको छ।
नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य निर्धारण गर्छ। पुस १५ गतेसम्म संघले दुई पटक अण्डाको मूल्य बढायो। मंसिर महिनामा पनि तीन पटकसम्म अण्डाको मूल्य बढेको थियो।
मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढेको संघका अध्यक्ष विनोद पोखरेलले बताए।
'माग बढी छ। उत्पादन कम छ,' उनले भने, 'त्यसैले मूल्य बढेको हो।'
उनका अनुसार अहिले विद्यालयका क्यान्टिनमा पनि अण्डाको खपत बढेको छ। पर्यटक आगमन पनि बढेकाले होटल–रेष्टुरेन्टमा अण्डाको खपत राम्रो छ। कोभिडपछि उपभोक्तामा पनि अण्डा खानुपर्छ भन्ने चेतना बढेको छ। त्यसले माग बढाएको छ।
'उत्पादन गरेजति सबै बिक्री भएको छ। नत्र त मौज्दात रहन्थ्यो। माग बढेरै त होला नि,' उनले भने।
माग बढेअनुसार उत्पादन भने बढ्न सकेको छैन।
पोखरेलका अनुसार लागत मूल्य नपाउँदा धेरै अण्डा उत्पादक किसान पलायन भए। जसले गर्दा अण्डा उत्पादन गर्ने कुखुराको संख्यामै कमी आएको छ। त्यसमाथि अहिले अत्यधिक चिसोले गर्दा अण्डा उत्पादन हुन सकेको छैन।
'लागत नपाएर धेरै किसान पलायन भए। अहिले उत्पादन गर्ने किसान नै कम छन्,' उनले भने, 'चिसोले गर्दा अण्डा उत्पादन नै घटेको छ।'
अहिले कुखुरा पालिरहेका किसानलाई पनि प्रोत्साहन नगर्ने हो भने अझै अण्डा उत्पादन घट्ने उनी बताउँछन्।
उनका अनुसार अहिले अधिकांश किसानसँग ९० हप्ताभन्दा बढीका कुखुरा छन्। यो अवधिपछि कुखुराले कम अण्डा पार्न थाल्छन्। लागत अनुसार मूल्य आउन छोड्ने भएकाले किसानले कुखुरा बेच्ने तयारी गरिरहेका छन्। यस्ता कुखुरा बेचेपछि नयाँ चल्ला नहाल्ने हो भने अझै उत्पादन घट्छ र मूल्य बढ्छ।
'किसानलाई अण्डा बेचेर नाफा नै छैन। शुक्रबार मूल्य बढेपछि मात्रै किसानले प्रतिक्रेट १० रूपैयाँ नाफा पाएका हुन्,' उनले भने।
उनका अनुसार किसानलाई प्रतिगोटा अण्डा उत्पादन गर्न १६ रूपैयाँ ५७ पैसा लागत पर्छ। उत्पादक किसान, पशुसेवा विभाग चितवन, उद्योग वाणिज्य संघ चितवन तथा पोल्ट्री विज्ञको संयोजकत्वमा लागत मूल्य निकालिएको हो।
किसानले ह्याचरीबाट एकदिने चल्ला लैजान्छन्। २० हप्तापछि अण्डा उत्पादन हुन थाल्छ। किसानले त्यो अवधिसम्म चल्लालाई दाना खुवाएर मात्रै पाल्नु पर्छ। त्यसपछि ८८ देखि ९० हप्तासम्म कुखुराले अण्डा उत्पादन गर्न सक्छन्। त्यसपछि किसानले बेचिदिन्छन्।
'त्यसपछि धेरै अण्डा उत्पादन हुँदैन। किसानले लागत पनि नउठ्ने भएपछि कुखुरा बेचिदिन्छन्,' उनले भने।
लागत मूल्य घट्ने हो भने किसान कुखरा पाल्न आकर्षित हुने उनको अनुमान छ।
'लागत बढी भएपछि किसान आतिन्छन्। फेरि बजारको पनि ग्यारेन्टी छैन,' उनले भने, 'लागत कम भयो भने घाटा पनि कम हुन्छ।'
अण्डा उत्पादनको लागत मूल्य घटाउन सरकारी तवरबाटै प्रयास गर्नुपर्ने उनको भनाइ छ।
'कुखुराको दाना एकदमै महँगो छ। मकै, भटमासको भन्सार दर न्यून हुन पर्यो। कुखुरालाई खुवाइने भिटामिनको कर पनि घटाउन पर्यो,' उनले भने।
सरकारी तथा निजी बाँझो जग्गामा युवालाई मकै, भटमास खेती गर्न प्रोत्साहन गर्नुपर्ने उनले बताए।
बजारमा मध्यम, ठूलो र एक्स-एल गरी तीन आकारका अण्डा आउँछन्।
अहिले किसानले मध्यम अण्डा प्रतिक्रेट पाँच सय, ठूलो पाँच सय १५ र एक्स-एल पाँच सय ३० रूपैयाँ पाएका छन्।
यसअघि (गत शुक्रबारसम्म) मध्यम अण्डा प्रतिक्रेट चार सय ८५, ठूलो पाँच सय र एक्स–एल पाँच सय १५ रूपैयाँ किसानले पाएका थिए।
बजारमा किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि प्रतिक्रेट १५ रूपैयाँका दरले बढेको टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए।
उनका अनुसार हाल उपभोक्ताले आकारको आधारमा अण्डा प्रतिक्रेट पाँच सय ५० रूपैयाँदेखि ६ सय रूपैयाँसम्म तिर्नु परेको छ।
'अण्डाको मूल्य आकार अनुसार फरक हुन्छ,' उनले भने, 'त्यो पनि पसल अनुसार फरक छ। खुद्राको तुलनामा होलसेलमा अलि सस्तो हुन्छ।'
उनका अनुसार हाल उपभोक्ताले मध्यम आकारको अण्डालाई प्रतिक्रेट पाँच सय ५० रूपैयाँ तिर्नुपर्छ।
त्यस्तै, ठूलो अण्डा पाँच सय ८० रूपैयाँ तिर्नुपर्छ भने एक्स-एल अण्डाको मूल्य प्रतिक्रेट ६ सय रूपैयाँ तिर्नुपर्छ।
संघले निर्धारण गरेअनुसार खुद्रा अण्डाको मूल्य भने प्रतिगोटा २२.५ रूपैयाँ पर्नेछ।
यसअघि उपभोक्ताले मध्यम आकारको अण्डालाई प्रतिक्रेट पाँच सय ३५ रूपैयाँ तिर्नु परेको थियो।
त्यस्तै, ठूलो अण्डा पाँच सय ६० र एक्स-एल अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ८० रूपैयाँ तिर्दै आएका थिए।
अण्डाको मूल्य बढेपछि खपत घटेको उनी बताउँछन्।
'मूल्य बढेपछि खपत घटेको छ। पहिले एक क्रेट अण्डा लैजाने ग्राहक अहिले १५ वटा लैजान्छन्,' उनले भने।
संघका अनुसार हाल दैनिक २२ देखि २३ लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ।
चितवन, नवलपरासी, दाङ, वीरगञ्ज, धनगढी, कोहलपुर, हेटौंडा, विराटनगर, झापा, सुनसरी मोरङ, धादिङ, पोखरा, लमजुङ, काठमाडौं, पोखरा लगायत जिल्लामा ठूलो परिमाणमा अण्डा उत्पादन हुन्छ।