२०७४ सालमा शान्तिनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदा कमानसिंह डाँगीलाई स्थानीय बासिन्दाको आयआर्जनको स्रोत सिस्नो हुन सक्छ कि भन्ने लागेको थियो।
स्थानीय वनजंगलमा प्राकृतिक रुपमा उम्रने र प्रसस्तै पाइने सिस्नो प्रशोधन गरी पाउडर बनाएर बजार पुर्याउन सके आम्दानीको नयाँ स्रोत हुनसक्छ भन्ने उनले सोचेका थिए। पछिल्लो समय ढिँडो र सिस्नो ठूला तथा महँगा होटेलका मेन्यूमा पनि समेटिन थालेका छन्। शान्तिनगर–३ बस्तिखोला क्षेत्रको वन र कान्लाहरुमा प्रशस्तै पाइने सिस्नोलाई ती होटलसम्म पुर्याउने सपना देखेका थिए अध्यक्ष डाँगीले।
यस विषयमा गाउँपालिकाले त्यहाँका बासिन्दासँग सल्लाह गर्यो।
एक हप्ताको तालिम दियो। ग्रिन फाउन्डेसन नेपाल नामको संस्थाले तालिमका लागि गाउँपालिकासँग सहकार्य गरेको थियो।
तालिम पाएपछि स्थानीयवासीले सिस्नोबाट कसरी पाउडर बनाउन सकिन्छ भन्ने कुरा जाने। उनीहरुले ११ सदस्यीय समूह गठन गरे। त्यो समूहले पुरानो हेल्थ पोस्टको घरमा ‘बस्तिखोला सिस्नो पाउडर तथा बेसार उद्योग’ स्थापना गर्यो। अध्यक्ष बलबहादुर विक, उपाध्यक्ष राजमति घर्ती, सचिव नन्दीका स्वर्णकार, कोषाध्यक्ष दिलकुमारी विक बने।
स्थानीयवासी मिलेर सिस्नो टिप्थे, धोइ पखाली गर्थे। त्यसलाई आफैंले टुक्राउँथे, पिस्थे अनि प्याकिङ गर्थे। त्यो बिक्न थाल्दा उनीहरुको खुसीको सीमा थिएन। सिस्नो पनि बिक्दो रहेछ भन्ने कुरा पहिलो पटक थाहा पाएका थिए यहाँका बासिन्दाले। सुरुमा ग्रिन फाउन्डेसनले नै सिस्नोको धुलो खरिद गरिदिएको थियो।
बस्तिखोलामा बिजुली पुगेको थिएन। पालिकासँग सहयोगको आग्रह गरेपछि जेनेरेटरसहित सिस्नो टुक्राउने, पिस्ने मेसिन पनि आइपुग्यौं। यति गर्न तीन लाख रुपैयाँ लगानी भएको थियो। थप के गर्ने भनेर सिकाउन ग्रिन फाउन्डेसनका कर्मचारीहरु छँदै थिए। समितिले गाउँकै मान्छेलाई पैसा दिएर सिस्नो टिप्न लगाउँथ्यो।
२५० ग्रामवाला प्याकेटको सिस्नो पाउडर १७५ रुपैयाँमा बिक्री हुन्थ्यो। आफैं सम्पर्कमा आउनेलाई डेढ सयमै पनि बेच्थ्यो समितिले।
तर पेट्रोलबाट चल्ने जेनेटरले लागत मूल्य बढेपछि मेसिन चलाउन छोडेर आफैंले पिस्ने, प्याक गर्ने गर्न थाले। उनीहरुलाई आशा थियो, बिजुली आएपछि कमाइ दोब्बर हुन्छ भन्ने। गत स्थानीय निर्वाचनभन्दा पहिले नेताहरुले फेरि आश्वासन बाँडे। गाउँपालिकाको अध्यक्षमा फेरि नेपाली कांग्रेसका युवा प्रमोद बस्नेत निर्वाचित भए।
समितिका पदाधिकारीले उद्योग पालिकामा दर्ता गरे। नन्दीका स्वर्णकार नयाँ अध्यक्ष बनिन्। उत्पादित सिस्नो पाउडर लिएर खाद्य तथा गुण नियन्त्रण कार्यालय बाँके पनि पुगे। गुण नियन्त्रण कार्यालयले सिस्नोको चेकजाँच आवश्यक नपर्ने जवाफ थियो। त्यसैका आधारमा २०८० सालको फागुन १० गते घोराहीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा पनि उद्योग दर्ता भयो।
केही समयमा बस्तिखोलामा बिजुली पनि पुग्यो। स्थानीय थप उत्साहित बने। उद्योगको उत्पादन गुणात्मक रुपमा बढ्ने र राम्रो आम्दानी लिने सपना संगालेका थिए उनीहरुले। दैनिक ४० केजीसम्म सिस्नोको पाउडर उत्पादन हुन थाल्यो। अध्यक्ष नन्दीका आफैं तुलसीपुर आसपासका होटेल, बजार, कोलेसी घर, मार्टहरुमा गएर सिस्नोको धुलो बारे प्रचार गर्थिन्।
स्थानीयको उत्साह देखेर सम्मउन्नति परियोजना (डिकोस) पनि हातेमालो गर्न आइपुग्यो। उत्पादित सिस्नोको पाउडर बजारीकरणमा सघाउने आश्वासन दियो। गत वर्ष पुसमा डिकोसले थप तालिमहरु दियो। प्याकेजिङ मेसिन, तौलने मेसिन, सिस्नो टिप्नका लागि चिम्टा, हातमा लगाउने पञ्जा, खुट्टामा लगाउने बुट, टिपेको सिस्नो राख्ने पराँट, सुकाउन आवश्यक पर्ने त्रिपाललगायत ७४ हजार रुपैयाँ पर्ने सामग्रीहरु सहयोग गर्यो। जाँगर हुनेलाई त्यति सामग्री भएपछि के चाहियो।
सिस्नो उत्पादन हुने मुख्य सिजन हिउँद हो। उत्साहले उत्पादनमा जुटेपछि उद्योगमा दैनिक ५० केजीसम्म सिस्नोको पाउडर उत्पादन भयो। तर उत्पादन सोचेजस्तो बिक्री भएन। गोदाममा थुप्रिदै जान थाल्यो। बजारीकरणमा सघाउने वचन दिएका संघ संस्थाहरु पनि अब आफैं बजार खोज्नुस भन्दै पन्छिन थाले। ६ महिनासम्म पनि उत्पादित बस्तु बिक्री नभए त्यसमा ढुसी पर्ने र गुणस्तर बिग्रन्थ्यो।
एकातिर उत्पादित सिस्नोको पाउडर नबिकेर उद्योगमै थन्किन थालेको थियो भने सिस्ने टिपेर उद्योगलाई बेच्नेहरुलाई दिने पैसा पनि बढ्दै जान थाल्यो। अध्यक्ष नन्दीका तुलसीपुर बजारमा आइ चलेका होटेल, मार्ट र कोसेली घरहरुमा उत्पादन किनदिन आग्रह गर्थिन्। उनको आग्रह सुनेर सबैले दुई चार केजी राख्थे बिके मात्रै पैसा दिने सर्तमा। त्यति नै खेर तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा व्यापारिक मेला लगायो। कुमाख कलेजले दश केजी सिस्नोको पाउडर किन्यो। मोःमो सँगै सिस्नोको सुप धेरैले मन पराएर खाए। तर, त्यसपछि कसैले पनि सिस्नोको पाउडर खोजेनन्।
अध्यक्ष नन्दीकाले बिक्रीका लागि छोडेको ठाउँमा पनि बिक्री भएन। ती जम्मै ठाउँबाट सिस्नोको पाउडर फिर्ता लैजाउ भनेर नन्दीकालाई फोनहरु आउन थाले। एक वर्षदेखि सिस्नो पाउडरको उत्पादन ठप्प जस्तै छ। सिस्नोमार्फत आम्दानी गर्ने सपना देखेर मेहनत गरेका स्थानीयबासी निराश छन्।
अचेल समितिको नियमित बैठक बस्न पनि छोडेको छ।
‘महिनामा एक पटक नियमित बैठक बस्ने र प्रत्येक सदस्यवाट ५० रुपैयाँ लेबी उठाउँदै आएका थियौं,’ अध्यक्ष नन्दीकाले भनिन्, ‘दुई महिना पछि बल्ल मंसिरमा हाम्रो बैठक बस्यो। तर लेबी उठाउन कसैले मानेनन्।’ समितिका धेरैले बैठकमा उद्योग बन्द गरौं भन्ने राय सुझाव राखे। ‘यहाँ सिस्नो बिक्दो रहेनछ यो बन्द गरौं भन्ने कुरा अधिकांशले गर्नु भयो,’ अध्यक्ष स्वर्णाकारले भनिन्, ‘केहीले भने एक पटक बेसार उद्योग चलाइ हेरौं भन्ने कुरा गरेपनि छिनोफानो हुन सकेन।’
अब फेरि उद्योग कहिले र कसरी चल्छ भन्ने अन्यौलता उत्पन्न भएको छ। ‘मलाई सिस्नो टिप्नेहरुले आफ्नो पैसा नदिएको, पैसा खाएको आरोप लगाउन थालेका छन्,’ उनले भनिन्, ‘अरु त अरु थिए, केही त्यस्ता मानिसले विदेशमा रहेका श्रीमानसँग पनि त्यस्तो कुरा गरिदिएपछि मैले गाली पाउन थालेकी छु।’
किन आयो यस्तो अवस्था ?
बस्तिखोला सिस्नो पाउडर तथा बेसार उद्योगका सचिव बलबहादुर बिकले आफ्नो उत्पादनले उचित प्रचार प्रसार र बजार नपाएको हुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए। ‘उत्पादन नै नबिकेपछि सिस्नो टिप्नेलाई के दिने,’ उनले प्रश्न गरे, ‘बजारीकरणमा सघाउँछौं भन्नेहरुले सुरु–सुरुमा सहयोग गरेपनि विस्तारै वास्ता नगरेपछि समस्या भएको हो।’
समितिकी उपाध्यक्ष राजमती घर्ती संघ संस्थाले उत्पादित सिस्नोको धुलो बजारीकरणमा सहयोग नगरे पनि गाउँपालिकाले त्यसमा भूमिका खेलेको भए यस्तो अवस्था आउन थिएन भन्ने ठान्छिन। ‘हामी बिकट दुर दराजमा बस्ने मान्छेलाई बजार कहाँ छ भन्ने थाहा हुने कुरा भएन,’ उनले भनिन्, ‘त्यसमा वडाध्यक्ष र गाउँपालिकका अध्यक्षले सघाएको भए प्राकृतिकरुपमा वन जंगल तथा कान्लोेहरुमा उम्रने सिस्नो बेचेर बस्तिखोलाले पैसा कमाउन सक्ने अवस्था आउँथ्यो।’
समितिकी कोषाध्यक्ष दिलकुमारी विकले पनि मुख्य समस्या उत्पादन नबिक्दा भएको बताइन्। ‘हाम्रो उत्पादन नै नबिकेपछि कसरी काम चल्छ,’ उनले प्रश्न गरिन्, ‘हामी उद्योगमा काम गर्दा घरका मानिसहरुले पनि आश गर्छन, उत्पादन नै नबिकेपछि घर कसरी पैसा लैजाने?’ घरका मानिसहरुले नै पैसा हुँदैन भने उद्योग छोड र बस्तु चौपाया पाल्दा बरु फाइदा हुन्छ भन्न थालेको हुँदा उद्योगमा गइरहने वातावरण बिग्रिएको उनले बताइन्।
आफूहरुले उत्पादन गरेको सिस्नोको धुलो बजारीकरणका लागि अध्यक्ष नन्दीका स्वर्णकार आफैं धेरै ठाउँहरुमा पुगिन्। उनी छोरा पढाउनका लागि तुलसीपुरमै बस्दै आएको हुँदा पनि संभावित होटेल, मार्टहरुमा खुबै धाइन्। सिस्नोको धुलोको सुप वा अन्य परिकार खाएकाहरुलाई सोध्दा सबैले सकारात्मक कुरा गरेपनि फेरि कसैले दोहोर्याएर त्यो किन्न नचाहेको उनी बताउँछिन्।
‘कि खोट औंल्याइदिनु, यो राम्रो भएन भन्दिनु पर्ने त्यो हामी सुधार्न प्रयास गर्ने थियौं,’ उनले थपिन्, ‘खाएका जति सबैले राम्रो भन्ने प्रतिक्रिया दिन्थे तर, उनीहरुले फेरि हाम्रो उत्पादन राख्न मानेनन्।’ धेरै उपभोक्ताको व्यवहार र आनी बानी आफूले बुझ्न नसकेको उनले बताइन्।
आफूहरुलाई परेको समस्या बारे वडाध्यक्षदेखि गाउँपालिका अध्यक्षलाई समेत भेटर धेरै पटक कुरा राख्दा बजारीकरणमा सघाउने आश्वासन दिएपनि कुनै काम नभएको अध्यक्ष स्वर्णकार बताउँछिन्।
‘गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतलाई मैले धेरै पटक भेटेर पालिकाभरका बिद्यालयमा सिस्नोको पाउडरको सुप वा पकौडा खुवाउने व्यवस्था मिलाउन आग्रह गर्दै आएकी छु,’ उनले भनिन्, ‘उहाँले पालिकाका प्रअहरु बोलाएर त्यो लागु गर्छु भन्नु भयो तर काम हुँदै भएन।’
गाउँपालिका अध्यक्ष के भन्छन् ?
गाउँपालिका अध्यक्ष बस्नेत स्थानीयको रोजगारी र आयआर्जनको राम्रो सम्भावना बोकेको सिस्नोको पाउडर नबिक्नुको प्रमुख कारण प्रचार प्रसारको अभावलाई मान्छन्।
‘गाउँपालिकाले गर्न खोजको उदाहरणीय कार्य थियो,’ उनले भने, ‘तर, त्यो बिकट ठाउँका स्थानीयको उत्पादन बजारसम्म पुर्याउन हामीले पनि गर्नुपर्ने जति प्रचार प्रसार गर्न नसकेको साँचो हो।’
समितिका पदाधिकारीको चाहनाअनुरुप आफूले विद्यालयका प्रधानाध्यापकहरुसँग सल्लाह गरेको र थप छलफल गर्न तयार रहेको उनले बताए। प्रअहरुले माथिबाटै विद्यालय खाजाको लागि तोकेर आउने हुँदा सिस्नोको परिकार आफूखुसी थप्न पाइदैन भनेकाले अहिलेसम्म केहीगर्न नसकेको उनले बताए। ‘अझै म त्यो सिस्नो उद्योगलाई कसरी चलायमान बनाउने भन्ने बारेमा चिन्तित छु,’ उनले भने, ‘पालिकाले के गर्दा उद्योगको उत्पादन बिक्रीमा सहयोग पुग्छ म त्यो गर्न तयार छु।’
तुलसीपुरस्थित कुमाख कलेजका सञ्चालक तुफान रेग्मी तुलसीपुरमा आयोजित व्यापार मेलामा धेरैले रुचीका साथ मःम र सिस्नोको सुप खाएका भएपनि फेरि सिस्नो खोज्न कोही नआएको बताउँछन्। ‘हाम्रो उदेश्य नै अग्र्यानिक र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भन्ने छ,’ उनले भने, ‘तर, अझै पनि राम्रो भएपनि स्थानीय उत्पादनलाई अपहेलना गर्ने बानी हामीमा छ भन्ने मलाई लाग्छ।’
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत डायटिसियन रोसिना बञ्जाडेका अनुसार प्राकृतिक रुपमा वन क्षेत्रमा पाइने सिस्नो अर्ग्यानिक तथा मानव स्वास्थ्यका लागि अति नै उपयोगी हुन्छ।
सिस्नोमा फाइबर, आइरन, क्याल्सियम, पोटासियमको मात्रा प्रचुर मात्रामा हुने भएको हुँदा मानव स्वास्थ्यका लागि धेरै नै उपयोगी रहेको उनले बताइन्। ‘सिस्नोले मानव शरीरका लागि एन्टिअक्सिडेन्टको जस्तै काम गर्छ,’ उनले भनिन्, ‘सिस्नोको प्रयोगले पाचन प्रणालीमा सुधार हुनुका साथै ब्लड प्रेसर, मधुमेहका बिरामीहरुका लागि पनि उत्तिकै उपयुक्त छ।’
सिस्नोमा कार्बोहाइड्रेडको मात्रा कम हुने तथा फाइबर अधिक मात्रामा पाइने हुँदा धेरै लाभदायक रहेको बञ्जाडेले बताइन्। ‘सिस्नोका पातहरु जति नरम र कलिलो हुन्छ, उति राम्रो मानिन्छ,’ उनले भनिन्, ‘सिस्नोको पाउडर तयार पार्दा गरिने भण्डारण तथा प्रशोधनमा पनि गुणस्तर निर्भर हुनसक्छ।’