कोरोना महामारीका कारण धेरै उद्योग-व्यवसाय बन्द भए। बिस्तारै केही व्यवसाय चलमलाउन थालेका छन् भने कतिपय उठ्नै नसक्ने गरी थला परे।
विगत सात वर्षदेखि टेलर पसल चलाइरहेका सुजन खतिवडाको व्यवसायमा पनि कोरोनाको असर पर्यो। तर उनी विचलित छैनन्। बरू नयाँ तरिकाले कसरी व्यवसाय चलाउन सकिन्छ भनेर लागि परेका छन्।
'मैले टेलरिङ बाहेक अरू केही काम जानेको छैन,' उनले भने, 'त्यसैले व्यवसाय खस्किए पनि हार खाएको छैन। अब कसरी चलाउने भन्ने सोचिरहेको छु।'
सुजन नयाँ बानेश्वरमा सुप्रिम सुटल्यान्ड एन्ड टेलरिङ सेन्टर चलाउँछन्। लुगा सिउने कारखाना चाबहिलमा छ।
सुनसरीको इटहरी घर भएका सुजनकी आमा किसान हुन् भने बुबा सैनिक। बुबाको जागिरका कारण उनले कक्षा १ देखि ८ सम्म काठमाडौं सैनिक स्कुलमा पढ्न। त्यसपछि इटहरीमै पढेर २०६३ सालमा एसएलसी दिए।
बुबाजस्तै उनको पनि सरकारी जागिर खाने सोच थियो। गाउँमा उनले चिनेजानेका दाइहरू पनि पढ्न र सरकारी जागिर खान भन्दै काठमाडौं हानिन्थे। उनको उमेरसँगै हुर्केका सपनाले काठमाडौंका अवसर देखायो, गाउँमा अडिन मन मानेन। परिवारको सल्लाहमा कलेज पढ्दै लोक सेवा तयारी गर्न काठमाडौं आए।
'त्यतिखेर जागिर भनेकै सरकारी हो भन्ने थियो। त्यसैका लागि यहाँ आएको थिएँ,' आमाले बाटो खर्च दिएर काठमाडौं पढ्न पठाएको सम्झना अझै ताजा छ उनलाई।
दोस्रो श्रेणीमा एसएलसी पास भएका उनी चाबहिलकै पशुपति कलेज भर्ना भए। बिहान कलेज जाने, दिउँसो लोक सेवा पढ्ने दैनिकी बन्यो। कक्षा १२ को अन्तिम परीक्षा सकिएपछि सुजनका बिहान फुर्सदिला भए। उनी र चिनेका दाइहरू सबै बेलुका जम्मा भएर एकअर्कालाई दिनभरिका कुरा सुनाउँथे।
'एक जना दाइ स्कुल पढाउँथे। स्कुलमा ड्रेस राख्ने कुरा रहेछ। त्यो पोसाकको काम हामी गरौं न भनेर सुझाए,' सुजनले सम्झिए।
त्यसै बस्नुभन्दा काम गर्दा राम्रो भनेर उनीहरू सहमति भए। सुजन, ती शिक्षक दाइ र अर्का एक साथी मिलेर काम गर्ने कुरा भयो।
उनीहरूसँग न यो कामको आइडिया थियो, न काम थाल्न पैसा, न कसैलाई लुगा सिउन आउँथ्यो।
चिन्ता भने कसैले लिएनन्।
'सके गरौंला, नसके नगरौंला भन्ने सोचियो,' ३६ वर्षीय सुजनले भने, 'हामी प्यान्टहरू सानो बनाइदिने टेलर नजिकै बस्थ्यौं। त्यहाँका साहुजीसँग दिनकै भेट हुने भएकाले राम्रो चिनजान थियो। उनैलाई हामीले स्कुलको पोसाक बनाउने काम लिन लागेका छौं, सहयोग गर्नुपर्यो भन्यौं।'
उनीहरूबीच ज्यालामा काम गर्ने सहमति भयो। लगानीका लागि भने सुजनले दिदीसँग २५ हजार र आमाबुबासँग २५ हजार रूपैयाँ मागे।
सबै जुटेपछि उनीहरूले काम थाल्ने भए। तर अन्तिममा आएर शिक्षक दाइले नभ्याउने भने। अर्का साथी र सुजनले एक लाख रूपैयाँ जम्मा गरे। पोसाक हेर्न भनेर स्कुलका प्रधानाध्यापकसँग त्रिपुरेश्वर गए।
'त्यतिखेर स्कुलको पोसाक त्रिपुरेश्वरमा पाइन्थ्यो। पछि असन, इन्द्रचोकतिर सर्यो,' उनले भने।
लुगा सिइदिनेको सल्लाहमा उनीहरूले भनेजति कपडा ल्याए। करिब एक महिनामा सिएर सकियो। एक लाख लगानी गरेका थिए, सबै कटाएर ३५ हजार रूपैयाँ नाफा भयो। घरबाट मागेको पैसा पनि पठाइदिए।
पोसाकको काम गर्न थालेपछि सुजन ती साथीसँगै बसे। पहिलो कामबाट फाइदा भएपछि अझै काम गर्ने प्रेरणा मिल्यो। उनीहरू आफै कामको प्रचार गर्न स्कुल, कलेज, नयाँ अफिस तथा अस्पताल धाउन थाले।
एक सिजनमा ४/५ सय विद्यार्थीका कपडा सिउनुपर्थ्यो। मान्छे धेरै नभएकाले कटिङको काम आफै सिके। यसरी काम गर्दागर्दै तीन वर्ष बिते।
'पढाइ सकिएपछि सरकारी जागिर खाने सपना छँदै थियो। एक-दुई पटक लोक सेवा परीक्षा दिएँ पनि। तर नाम निकाल्ने भन्दा अनुभवका लागि दिएको थिएँ,' उनले भने।
२०६९ सालमा सुजनले स्नातक सके। साथीहरू कोही जागिर खाने, कोही विदेश जाने भए। उनको मन पनि त्यही सिलाइको काम गरेर बस्न मानेन, विदेश जाने रहर गर्यो। त्यही बेला एक साथीले दुबईमा ग्यास प्रोजेक्टको काम छ, जाऔं भनेपछि सुजन उतै हानिए।
सात महिनामा काम सकियो। दुबईबाट फर्केपछि उनलाई अब के काम गर्ने भन्ने भयो। धेरथोर सीप कपडाकै काममा थियो। उनले टेलर नै खोल्ने योजना बनाए।
पहिला सँगै काम गरेका साथीले बानेश्वरमा टेलर खोलिसकेका थिए। उनले साथीसँगै कामको आइडिया लिए।
उनीसँग विदेश गएर कमाएको दुई लाख रूपैयाँ थियो। त्यतिले सटरको अग्रिम भाडा र डिजाइन गर्दै ठिक्क हुन्थ्यो। अरू पैसा घरमा माग्न आँट गरेनन्। साथीहरूसँग ऋण मागे।
यसरी पाँच लाख रूपैयाँ भएपछि उनले चाबहिलमा सटर खोजे। सिलाइका लागि ज्यालादारीमा दुई जना कर्मचारी राखे। कटिङ उनी आफै गरिहाल्थे।
'तर काम गर्दै जाँदा पैसा पुगेन। अनि बैंकबाट थप तीन लाख रूपैयाँ ऋण लिएँ,' उनले भने, 'काम पाउन भने पहिलेको अनुभव र चिनजानले धेरै समस्या भएन।'
व्यवसाय राम्रो चल्यो। उनले कमाउँदै, लगानी थप्दै पसल विस्तार गरे। पाँच लाखबाट सुरू गरेको पसलमा ३० लाखभन्दा बढी लगानी पुगिसकेको छ।
यसरी कम समयमै राम्रो फड्को मारिरहेका बेला एकाएक कोरोना फैलियो। ६ महिना त सुजनले पसल बन्द गरे। पसल बन्द भए पनि खर्च कम भएको थिएन। कर्मचारीलाई तलब र सटर भाडा दिनैपर्थ्यो। आम्दानी नभएपछि बचत सकिँदै गयो।
कोभिडका बेला अनलाइन बजार फस्टाउँदै थियो। सुजनले पनि यसबारे सोचेका थिए। तर आफ्नै अनुभवले उनलाई त्यतातिर हात हाल्न मन लागेन।
'त्यो बेला म आफैले अनलाइनबाट केही लुगा मगाएँ। चित्तबुझ्दो सामान कहिल्यै आएन। यसरी त मानिसहरूले विश्वास गर्दैनन् भन्ने लाग्यो र चलाउन मन लागेन,' उनले भने, 'फेरि टेलरको व्यवसाय तयारी लुगा बेचे जस्तो होइन। व्यक्तिले आफ्नो नापमा सिएर लगाउने भएकाले चुनौती बढी हुन्छ। ग्राहकको विश्वास जित्न गाह्रो हुन्छ। त्यो बेला सुरू गरे पनि विश्वास कमाउन्जेल अनलाइन बजारको ट्रेन्ड नै हराउँछ कि भन्ने लाग्यो।'
तैपनि उनले हरेस खाएनन्, धर्मराउँदै अडिइरहे। अहिले पनि उनी हरेक दिन पुरानै लयमा फर्किने प्रयासमा छन्।
बिहान खाना खाएपछि सुजन आफै टेलरको प्रचारमा निस्किन्छन्। सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी उनका मुख्य ग्राहक हुन्। आगामी दिनमा उनले कर्मचारीका पोसाक मात्रै बनाउने सोचेका छन्।
'पहिलेको तुलनामा अहिले व्यापार आधा पनि छैन। मैले पनि कर्मचारीको पोसाक बनाउने काम मात्र गर्न खोजेको छु,' उनले नभने, 'सर्टिङ-सुटिङ बिक्दैन। कर्मचारीले पोसाक त लगाउँछन् नि!'
उनले त्यस्तै ग्राहक पाएका पनि छन्। अहिले धेरै कर्मचारीको पोसाकको काम आइरहेको उनले बताए।
'ग्राहकबाटै टेलरको प्रचार भइरहेको छ। सस्तो र गुणस्तरीय पोसाक सिउने ठाउँ यही होइन भन्दै ग्राहक आउँदा धेरै खुसी लाग्छ,' उनले भने, 'सस्तोमा गुणस्तरीय सामान दिएकैले ग्राहक आकर्षित भएका हुन्। नाफा मात्र खोज्न थाल्यो भने व्यवसाय चलाउन सकिँदैन।'
अहिले उनलाई काममा तीन जनाले सघाउँछन्; सिउने दुई जना र कटिङमा एक जना। पहिले जस्तो भोज, उत्सव, विवाह लगायत समारोहमा लगाउने लुगाको माग नभएकाले थोरै कर्मचारीले पनि काम भ्याइरहेको उनले बताए।
पहिले उनको टेलर चाबहिल चोकमा थियो। घरधनीले त्यो घर भत्काउने भनेपछि एक वर्षअघि उनी नयाँ बानेश्वर सरेका हुन्।
कोरोनाको कहर र लहर सकिए पनि बजार पुरानो अवस्थामा फर्किन नसक्नुमा सहकारीको समस्या मुख्य रहेको उनको बुझाइ छ। सहकारीले सामान्य कागजातका आधारमा व्यवसायीहरूलाई ऋण दिँदै आएको थियो। बैंकमा पहुँच नहुने साना व्यवसायीले सहकारीबाटै ऋण लिएर व्यवसाय चलाउँदै र विस्तार गर्दै आएका थिए। सहकारीमा संकट आएपछि साना व्यवसायीलाई लगानी थप्न समस्या भएको उनले बताए।
'सहकारीमा यसो दैनिक हजार/पाँच सय राख्दा बचत पनि हुन्थ्यो, ऋण पनि पाइन्थ्यो,' सुजनले भने, 'अब अहिले त आँट गरेर लगानी थपौं न त भन्दा सहकारी डुबिहाले, बैंकले ऋण पत्याउँदैन।'
अनेक अप्ठ्यारा भए पनि सुजनले अहिल्यै यो कामबाट पछि हट्ने सोचेका छैनन्।
'मलाई सरकारी जागिर खान नपाएकोमा पनि कुनै पछुतो छैन। किनकि व्यवसाय एउटा लत रहेछ। नकमाए पनि छोड्न मन नलाग्ने। अब सकुन्जेल यही गर्छु। सधैं यस्तै त नहोला नि,' उनी आशावादी हुँदै भन्छन्।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी