महिला उद्यमीका कथा
यही सालको कात्तिक तेस्रो साता नेपाली व्यवसायी अनुजा सराफ अग्रवाल अन्तर्राष्ट्रिय मञ्चमा 'बिजनेस रोल मोडल' घोषित भएर विभूषित भइन्।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'विमेन इन म्यानेजमेन्ट' ले मलेसियामा आयोजना गरेको 'प्रोफेसनल एन्ड करिअर विमेन ग्लोबल अवार्ड' अन्तर्गत अनुजाले 'बिजनेस रोल मोडल' उपाधि पाएकी हुन्।
यस वर्ष उक्त उपाधिको प्रतिस्पर्धामा २९ देशका २६० जना व्यवसायी मनोनयनमा परेका थिए। तीमध्ये अनुजा शीर्ष ५० जनाको सूचीमा थिइन्।
'अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुनु ठूलो कुरा हो। यो अवसर सबैले पाउँदैनन्,' उत्साहित हुँदै अनुजाले भनिन्, 'मैले गरेको काम अन्तर्राष्ट्रिय जगतले मन पराउनु र बिजनेस रोल मोडल छनोट गर्नु मेरा लागि कल्पना बाहिरको कुरा थियो।'
त्यसो त अनुजाले सन् २०२४ मै अर्को अन्तर्राष्ट्रिय अवार्ड पनि पाएकी छन्। गत मार्चमा उनले सिंगापुरमा साउथ एसियन ग्लोबल अवार्ड अन्तर्गतको 'हर करेज' उपाधि पाएकी थिइन्।
'महिला उद्यमीहरूलाई प्रोत्साहित गर्न यी अवार्ड दिइएका हुन्। नेपालबाट म मनोनीत भएँ,' अनुजाले प्रसन्नतापूर्वक भनिन्।
अनुजा करिब दुई दशकदेखि व्यवसायमा रमाइरहेकी छन्। उनको कम्पनी ब्रिटिस कलर इन्डस्ट्रिज प्रालिले विशेष खाले रङ उत्पादन गर्छ।
'हामी अटोमोटिभ रिफिनिस पेन्ट्स र उड कोटिङ लगायत विभिन्न प्रकारका औद्योगिक रङहरू उत्पादन गर्छौं,' उनले भनिन्।
ब्रिटिस कलरको कारखाना बालाजु औद्योगिक क्षेत्रमा छ। सबै उत्पादन यहीँबाट नेपाली बजारमा बिक्री हुन्छ।
अनुजा आफू 'मेक नेपालः मेक इन नेपाल' अवधारणा अनुसार अघि बढेको बताउँछिन्। आफूले आयातीत तथा विदेशी रङको तुलनामा गुणस्तरीय नेपाली रङ उत्पादन गरेको उनको भनाइ छ।
'रङको बजारमा ब्रिटिस कलर सफल छ र नेपालीले बनाएको अब्बल ब्रान्ड हो। बढ्दो व्यापारले उद्योगलाई नयाँ उचाइमा पुर्याएको छ। संघर्ष गर्दै नेपाली रङ उद्योगलाई यहाँसम्म पुर्याएकै कारण पनि बिजनेस रोल मोडलका रूपमा छानिएकी हुँ भन्ने लाग्छ,' ४५ वर्षीया अनुजाले भनिन्।
उनका लागि यी अवार्डको महत्त्व निकै ठूलो छ। परिवारकै पहिलो उद्यमी भएकाले अवार्डहरूले उनलाई गौरवको अनुभूति दिएका छन्।
अनुजाको व्यावसायिक यात्रा दुई दशकअघि सुरू भएको हो। औद्योगिक सहर वीरगन्जमा जन्मे-हुर्केकी भए पनि उनले पहिले व्यवसायबारे सोचेकै थिइनन्। बुबा सरकारी जागिरे थिए, उनी पनि जागिरमै जान चाहन्थिन्। पढाइमा विद्यावारिधि (पिएचडी) सम्म पुग्ने सपना थियो।
परिस्थिति त्यसरी अघि बढेन। स्नातक तह पूरा गर्नासाथ वीरगन्जकै व्यवसायी आनन्दकुमार अग्रवालसँग उनको बिहे भयो। बिहेपछि स्नातकोत्तर तह पूरा गरिन्। केही समय कलेजमा पढाइन् पनि।
बिहेपछि दम्पतीबीच व्यवसायबारे सल्लाह भयो।
'त्यति बेलासम्म व्यवसाय गर्ने कुनै सोच थिएन। पढाइलाई निरन्तरता दिएर जागिर गर्ने नै सोच थियो,' अनुजाले भनिन्, 'श्रीमान-श्रीमतीको सल्लाह भएपछि दुवै जना एक रथका दुई पांग्रा भएर अघि बढ्ने निर्णय गर्यौं।'
उनीहरूले अनुजाका नाममा एउटा कम्पनी खोले। लगानी पुग्ने रकम भने थिएन। स्थानीय व्यापारीले बेच्ने सामान आपूर्ति गरिदिने काममा आनन्दको अनुभव थियो। पैसा जुटाउने उद्देश्यले उनीहरूले त्यही काम अघि बढाए। यसमा थोरै लगानीले पनि काम हुन्थ्यो।
उनीहरूको काम उत्पादकबाट रङ ल्याएर व्यापारीलाई दिने पनि थियो। पैसा जुट्दै गएपछि रङ उत्पादक तथा बिक्रेताहरूसँगको सम्बन्ध उपयोग गर्दै अनुजाले केही उद्योगलाई कच्चा पदार्थ बेच्न थालिन्।
अनुभव बढ्दै जाँदा ज्ञान र आत्मविश्वास पनि बलियो हुँदै गयो। अनुजाले नेपालमा रङ उद्योगको सम्भावना पहिल्याइन्। यस्तो उद्योगको भविष्य उज्ज्वल छ भन्ने निष्कर्षमा पुगिन्।
अन्ततः सन् २०१२ मा, लगानीको अन्योलकै बीचमा श्रीमान आनन्दसँग सल्लाह गरेर उनले रङ उत्पादन गर्ने उद्योग खोलिन्। सुरूआती लगानी जुटाउन बुबाको सम्पत्ति धितो राखेर ऋण लिइन्।
'यहाँसम्म आइपुग्न बुबाको ठूलो सहयोग छ। व्यवसाय नै थाहा नभएकी छोरीलाई पैसा जुटाइदिनु ठूलो कुरा हो,' अनुजाले भनिन्, 'हामीले व्यवसाय राम्ररी अघि बढायौं। चाँडै ऋण चुक्ता गरेर धितो उकास्यौं।'
दुवै जनाको मेहनत र कामप्रतिको प्रतिबद्धताले 'ब्रिटिस कलर' नेपालको अग्रणी कम्पनीमध्ये एक बनेको अनुजाको भनाइ छ।
'हामीलाई दिगो रूपमा स्थापित हुनु थियो। श्रीमान र म दुवै जना दिनरात खट्यौं। देश-विदेशमा सम्पर्क बढायौं,' उनले भनिन्, 'जति धेरै सम्पर्क बनायो, त्यति सजिलो हुने रहेछ। मार्केटिङमा धेरै दुःख गर्नु परेन।'
अनुजाका अनुसार प्रविधिको बढ्दो प्रयोगले व्यवसाय सहज बनाएको छ। सामाजिक सञ्जालमा पेज बनाएर फोटो र भिडिओ राखेकै भरमा पनि राम्रो मार्केटिङ हुन थालेको छ।
'व्यवसायमा अझै पनि मलाई धेरै कुरा थाहा छैन। लागत मूल्यभन्दा बिक्री मूल्य केही बढी हुनुपर्छ भन्ने थाहा छ, मेरो सूत्र यही हो,' उनले भनिन्।
अनुजाको मुख्य ध्यान उत्पादनको गुणस्तरमा छ। गुणस्तरीय उत्पादनले उपभोक्ताको विश्वास बढाउँछ र व्यवसाय फस्टाउँछ भन्ने उनको बुझाइ छ।
बालाजुको सफलतापछि उनीहरूले हेटौंडा औद्योगिक क्षेत्रमा पनि उद्योग खेलेका छन्। हेटौंडाको उद्योग आनन्दको जिम्मामा छ, बालाजुको अनुजा सम्हाल्छिन्। दुई उद्योगमा कुल २५ जनाले काम पाएका छन्।
अनुजाले नेपालमा धेरै किसिमका व्यवसायको सम्भावना देखेकी छन्। स्वदेशमा आफू अनुकूल व्यवसायको सम्भावना खोजी गर्न र प्रतिबद्धताका साथ काम गर्न युवाहरूलाई उनी सुझाब दिन्छिन्।
'आफूले गर्न सक्ने काम छान्नुहोस्, आत्मविश्वास बनाएर अघि बढ्नुस्। एक जना, दुई जना गर्दै युवा व्यवसायीको संख्या बढ्दै जान्छ। रोजगारी सिर्जना हुन्छ, देश बन्ने यसरी नै हो,' उनले भनिन्।