स्पोर्ट्स वेयर (खेलकुदका जुत्ता, कपडा र सामान) को व्यवसायमा लामो समयदेखि विश्वभरि नाइकी र एडिडासकै वर्चस्व रहँदै आएको छ। आज पनि यी दुई कम्पनी नै अग्रस्थानमा छन्। तर केही वर्षयता यिनीहरूको बजार खुम्चिँदै गएको छ।
वित्तीय संस्था मोर्गन स्ट्यानलीका अनुसार गत वर्ष स्पोर्ट्स वेयरका १५ ठूला ब्रान्डको कुल कारोबार १४६ अर्ब डलर थियो। त्यसमध्ये ३५ प्रतिशत हिस्सा नाइकीको र १६ प्रतिशत एडिडासको थियो। तर सन् २०१८ मा यी दुई कम्पनीको मात्रै संयुक्त कारोबार ६३ प्रतिशत थियो। नाइकीको त सेयर मूल्य पनि एक वर्षयता २७ प्रतिशत खस्केको छ।
यसका पछाडि नाइकी र एडिडासको आधिपत्यलाई चुनौती दिन थालेका न्यू ब्यालेन्स र एसिक्स जस्ता स्थापित ब्रान्डका साथै अन र होका जस्ता नयाँ कम्पनी छन्। उता चीनमा एन्टा र लि-निङ जस्ता स्थानीय कम्पनी पनि प्रतिस्पर्धीका रूपमा देखापरेका छन्।
स्विस कम्पनी अनको त सुरूआतको कथा पनि अनौठो छ। सन् २०१० मा स्विट्जरल्यान्डका ट्रायथलन खेलाडी ओलिभिएर बर्नहार्डले आफ्नो जुत्ताको मुनिपट्टि फूलबारीमा पानी हाल्ने पाइपका टुक्रा टाँसेका थिए। यो प्रयोग यति सफल भयो, उनले आफ्ना दुई साथीसँग मिलेर कम्पनी खोले र यस्तो जुत्ताको व्यवसाय नै सुरू गरे।
गत वर्ष अनले २ अर्ब डलर बराबरको जुत्ता बिक्री गर्यो। कम्पनीले गत साता बताएअनुसार सेप्टेम्बरसम्मको त्रैमासिकमा कम्पनीको आय गत वर्षको तुलनामा ३२ प्रतिशत बढेको छ। उक्त कम्पनीको बजार मूल्य हाल १७ अर्ब डलर छ।
यी कम्पनीहरू आफ्नो बजार विस्तार गर्न कसरी सफल भए त? अनि कहाँ चुके नाइकी र एडिडास?
प्राय: ठूला स्पोर्ट्स वेयर कम्पनीहरूमा जुत्ताले कारोबारको ठूलो हिस्सा ओगट्ने गर्छ। नाइकीमा ६८ प्रतिशत कारोबार जुत्ताको हुन्छ भने एडिडासमा ५८ प्रतिशत। यी कम्पनीलाई अलग स्थापित गराउने पनि जुत्ता नै हुन्।
त्यसमा पनि स्पोर्ट्स वेयर व्यवसायमा सफलता र असफलता निर्धारण गर्ने एउटै उत्पादन 'स्निकर' हो। मुख्यतया खेलकुद र शारीरिक अभ्यासका लागि बनाइने तर दैनिक जीवनमा पनि प्रयोग हुने यस्तो जुत्ताको माग र व्यापार केही समययता तीव्र गतिमा बढिरहेको छ।
एक शोध कम्पनीका अनुसार सन् २०१८ देखि २०२३ सम्म यस्ता 'ब्रान्डेड' जुत्ताको बिक्री झन्डै ५० प्रतिशत वृद्धि भएको थियो। त्यसै अवधिमा समग्र स्पोर्ट्स वेयर बजारको वृद्धिदर २० प्रतिशत मात्र थियो।
कोरोना महामारी बेला जिमहरू बन्द भए। त्यसको विकल्पमा धेरै मानिस दौडिन वा 'जगिङ' गर्न थाले। र, तीमध्ये धेरेले यो अभ्यासलाई निरन्तरता दिए।
सन् २०२४ मा न्यूयोर्क र लन्डन म्याराथनले सहभागितामा नयाँ कीर्तिमान नै रचे। न्यूयोर्क म्याराथन ५४ हजारभन्दा बढी सहभागीका साथ विश्वको अहिलेसम्मकै ठूलो म्याराथन बन्यो। त्यस्तै, लन्डन म्याराथनमा अहिलेसम्मकै धेरै लगभग ५४ हजार मानिसले भाग लिए।
दौडमा रूचि हुने मानिसहरूले खोलेका 'रनिङ क्लब' युवा पुस्ताका लागि घुलमिल गर्ने र युगल जोडी खोज्ने ठाउँसमेत बनेका छन्। 'क्याजुअल फेसन' को प्रचलनले पनि स्निकरको माग झनै बढिरहेको छ।
यो बढ्दो मागले अरू कम्पनीहरूलाई नाइकी र एडिडाससँग प्रतिस्पर्धा गर्ने बाटो खोलिदिएको छ। प्राय: स्पोर्ट्स वेयर कम्पनीहरू पूर्वी एसियाका केही सीमित आपूर्तिकर्तालाई उत्पादनको काम 'आउटसोर्स' गर्छन्। सामाजिक सञ्जालमार्फत सम्भावित ग्राहकहरूसम्म पुग्न सजिलो भएको छ। फुटबल जस्ता खेलको तुलनामा दौडले कम दर्शक तान्ने हुनाले प्रायोजन गर्न पनि ठूलो धनराशि चाहिँदैन। त्यस कारण यी कम्पनीलाई बजारमा प्रतिस्पर्धा गर्न सजिलो भएको छ।
केही कम्पनीले बजारमा आफ्नो छुट्टै पहिचान बनाउन नौला डिजाइनको पनि प्रयोग गरेका छन्। होकाले एकदमै मोटो 'सोल' भएको जुत्ता बिक्री गर्छ। अनले पछिल्लो समय बजारमा ल्याएको अत्यन्त हलुका म्याराथन जुत्ता 'रोबोटिक आर्म' द्वारा 'थर्मोप्लास्टिक फाइबर' को एउटै टुक्राबाट बनेको हुन्छ।
अर्कातिर, अनुसन्धान र विकासमा नाइकी आफ्ना प्रतिस्पर्धीभन्दा पछि परेको र एडिडास आफ्ना फेसनेबल जुत्ताहरूमै धेरै निर्भर हुन पुगेको विश्लेषकहरू बताउँछन्।
नाइकी र एडिडास वितरणमा पनि चुकेका छन्। केही वर्षयता यी दुई कम्पनीले नाफा बढाउने प्रयासमा केही ठूला खुद्रा विक्रेतासँग सम्बन्ध तोडेर आफ्नै स्टोर, वेबसाइट र एपबाट बिक्री गरिरहेका छन्। मे महिनासम्मको १२ महिना अवधिमा नाइकीको कुल कारोबारको ४४ प्रतिशत ग्राहकलाई प्रत्यक्ष बिक्रीमार्फत भएको थियो। पाँच वर्षअघि त्यही अवधिमा उसले यस माध्यमबाट ३२ प्रतिशत कारोबार गरेको थियो।
एडिडासले पनि यस्तै रणनीति अपनाएको छ, तर सोचेजस्तो परिणाम दिन सकेको छैन।
अनका सह-प्रमुख कार्यकारी अधिकृत मार्टिन हफम्यान भन्छन्, 'ग्राहक जहाँ किन्न चाहन्छ, ब्रान्ड त्यहाँ हुनुपर्छ।'
नाइकी र एडिडासले हाल आफ्नो गुमेको वर्चस्व फिर्ता पाउन विभिन्न प्रयास गरिरहेका छन्। नाइकीले यसै वर्ष विभिन्न नयाँ उत्पादन बजारमा ल्याएको छ।
त्यस्तै, सेप्टेम्बरमा उसले कम्पनीका एक अनुभवी व्यक्तिलाई प्रमुख कार्यकारी नियुक्त गर्यो। उनले कम्पनीको रणनीति पूरै परिवर्तन गर्ने वाचा गरेका छन्। एडिडासले पनि सन् २०२४ को अन्त्यसम्म कान्ये वेस्टले डिजाइन गरेका उत्पादनहरू बिक्री गरिसक्ने अपेक्षा गरिएको छ।
यसैबीच केही प्रतिस्पर्धी कम्पनीले बजारमा आफ्नो पकड थप बलियो बनाउन स्निकरमा मात्र सीमित नरही धेरै नाफा हुने फेसनेबल जुत्ता र कपडाको व्यवसाय पनि सुरू गरेका छन्। तर यस्ता कदमले उनीहरूलाई थप सफलता दिलाउँछन् कि दिलाउँदैनन् भन्ने आगामी दिनहरूमै थाहा हुनेछ।
(द इकोनोमिस्ट पत्रिकामा प्रकाशित लेखमा आधारित)