सिन्धुली जुनारका लागि प्रख्यात छ।
सिन्धुलीको बिपी राजमार्ग हुँदै हिँड्ने जो कोही यात्रुको खनियाँखर्क पुग्दा पहेँलपूर जुनार देख्नेबित्तिकै मुख रसाउन थालिहाल्छ। राेकिएर जुनार नखाइ मनले नै मान्दैन।
हरेक पसलअगाडि सजाएर राखिएको जुनारले ग्राहकको ध्यान खिच्छ।
जुनार किन्न र खान मात्र हैन फोटो भिडियो खिच्न समेत रोकिन्छन् यात्रु र बटुवा। जुनारले यो क्षेत्रमा पर्यटकीय आकर्षणसमेत बढाएको व्यवसायी बताउँछन्।
त्यसो त सिन्धुली पुग्ने मानिसहरूको आफन्त साथीभाइलाई लगिदिने कोसेली नै जुनार बन्ने गरेको छ।
खनियाँखर्क बजारमा जुनार मात्र होइन, अकबरे खुर्सानी, सुन्तला, किबीलगायत उपज किन्न पाइन्छ। सिन्धुलीकै स्थानीय कृषकहरूको उप्त्पादन बेच्ने गरिएको यहाँका व्यापारीहरू बताउँछन्।