बेलायतको एउटा टेलिभिजन च्यानलले आयोजना र प्रसारण गर्ने 'बेक अफ: द प्रोफेसनल्स (२०२४)' को उपाधि धादिङका नारायण श्रेष्ठ सम्मिलित जोडीले जित्यो।
नारायण लन्डनको 'होटल इन्टरकन्टिनेन्टल ओटु' मा जुनियर शू-सेफका रूपमा कार्यरत छन्। उनले सम्हालेको जिम्मेवारीमा उनीअघि भारतका तनुज शर्मा थिए। उनै तनुज बेक अफः द प्रोफेसनल्स (२०२४) मा नारायणका जोडी थिए।
होटल सञ्चालक अरोरा ग्रुपले अर्को ठाउँमा होटल सुरू गरेपछि तनुज त्यतै सरूवा भएका थिए। पेस्ट्री (आँटा/मैदाबाट बन्ने परिकार) कलामा उम्दा तनुज नारायणकै उमेरका, उस्तै कुशल र अनुशासित सेफ थिए।
तनुजलाई राम्ररी चिनेका सेफ अमित आर्याले नारायण र तनुजको जोडी बनाएर बेक अफ: द प्रोफेसनल्समा भाग लिन सुझाए।
सन् २०२३ डिसेम्बरमा अडिसनबाट सुरू भएको यो कार्यक्रम सन् २०२४ अगस्टमा सकियो। अडिसनमा सहभागी एक हजार ९६० जना सेफबाट नारायण-तनुज जोडीले उपाधि जित्यो।
यो जोडीले नेपाली संस्कृति झल्किने गरी 'गरूड' शीर्षक राखेर पनि केक बनाएको थियो।
'प्रतियोगिताको एउटा राउन्डमा पौराणिक जनावरको शीर्षकमा केक बनाउनुपर्ने थियो। मैले परिवारमा पनि सल्लाह लिएँ,' नारायणले भने, 'धेरै शीर्षकमा छलफल हुँदै जाँदा सबैको सल्लाहमा गरूड बनाउने निर्णय भयो। नेपाली संस्कृति झल्किने त्यो केक बनाउन सात घण्टा लागेको थियो।'
नारायण-तनुज जोडीले सन् २०१८ को बेक अफ: द प्रोफेसनल्सको फाइनलिस्ट 'भरत एन्ड जोन' लाई पराजित गरेको थियो। यस कारण पनि नारायण-तनुज जोडी चर्चित बन्यो।
उपाधि जितले होटल मालिक सुरेन्द्र अरोरा पनि उत्साहित भए।
'होटलले हामी टिमलाई नै प्राइभेट जेटमा पेरिस पुर्याएर उत्सव मनायो,' नारायणले भने।
यो उपाधि जितपछि होटल इन्टरकन्टिनेन्टल ओटुले 'आफ्टरनुन टी' सुरू गरेको छ। लन्डनमा दिउँसोको खाजामा 'आफ्टरनुन टी' को चलन छ। यसमा चियाका साथ विभिन्न बेकरी परिकार र सेभरी (पिठोबाटै बनेको नुनिलो/पिरो परिकार) खाने चलन छ। इन्टरकन्टिनेन्टल ओटुको आफ्टरनुन टी' खुब प्रशंसा गर्ने गरेको नारायणको भनाइ छ।
गहुँको रोटी र गाउँमा भर्खरै प्रवेश गरेको पाउरोटी खाएर हुर्केका नारायण अहिले होटलमा अनेक पेस्ट्री परिकार पस्किन्छन्।
'यो सबै कडा मेहनत गर्दै सह्मालिँदै गरेको कामको प्रतिफल हो,' उनी भन्छन्, 'म जो जोसँग जोडिएँ, उहाँहरूले सिकाइदिएर म यहाँ (पेस्ट्री सेफ) छु। विगत सम्झिँदा निकै खुसी लाग्छ।'
नारायण धादिङको मैदीमा जन्मेका हुन्। कक्षा पाँचसम्म धादिङमै पढे र त्यसपछि गोरखामा पढे। २०६७ सालमा प्लस-टु पढ्न काठमाडौं आइपुगे। त्यो बेला उनलाई के पढ्ने र के बन्ने भन्ने केही थाहा थिएन। पढाइ चलिरहँदा काम खोज्ने सिलसिलामा लाजिम्पाटको एउटा गेस्ट हाउसमा हेल्परको काम पाए।
होटल क्षेत्रमा काम गर्छु, यसमा राम्रो करिअर बनाउन सकिन्छ भन्ने उनलाई लागेको थियो। तर हेल्पर भएर मात्र हुँदैन, सेफ बन्नुपर्छ भन्ने थियो।
१२ कक्षा सकेर उनी स्नातक पढ्ने तरखर गर्दै थिए। दुबईमा खुल्न लागेको नयाँ होटल हिल्टनले कर्मचारी माग गर्दै नेपालमा विज्ञापन गर्यो। दुबईमा हेल्परकै रूपमा काम गर्न पाए पनि धेरै सिक्न सक्छु भन्ने ठानेर नारायणले आवदेन दिए।
'मैले होटल म्यानेजमेन्ट पढेको थिइनँ, हातमा सीप पनि थिएन,' नारायणले भने, 'होटलमै काम गर्दा केही न केही पक्कै सिकिन्छ भन्ने मनमा थियो।'
उनका काकाका छोराहरू दुबईमा होटलमै काम गर्ने भएकाले उनलाई दुबई जाने निर्णय गर्न सजिलो भएको थियो।
आवेदनपछि दुई दिनसम्म अन्तर्वार्ता चल्यो। नारायण छानिए।
सन् २०१४ अप्रिलमा उनी दुबई पुग्दा होटल औपचारिक रूपमा खुलिसकेकै थिएन। नयाँ होटल भएकाले सबै काम गर्नुपर्थ्यो। हिल्टनका पेस्ट्री सेफ नेपाली थिए। त्यसले नारायणलाई निकै सजिलो भयो। उनी आफ्नो काम सकिएपछि फुर्सदमा पेस्ट्रीको काम सिक्थे।
'सेफ खुसी भएर मलाई विश्वास गरेपछि म पनि यो क्षेत्रमा काम गर्न सक्छु भन्ने लाग्न थाल्यो। अनि पेस्ट्री सेफ बन्ने क्रम सुरू भयो,' उनले भने।
हेल्परका रूपमा छ महिना काम गरेपछि उनले आफूलाई किचनमा सारिदिन आग्रह गरे। तर कम्तीमा साढे एक वर्ष हेल्पर भएपछि मात्र किचनमा जान पाइने रहेछ। ठीक त्यही बेला नारायणलाई दोहाको 'फोर सिजन होटल' बाट प्रस्ताव आयो। हेल्परकै काम भए पनि यता किचनमा सर्न नपाएको र उताबाट बढी तलब हुने आश्वासन पाएकाले उनले प्रस्ताव स्वीकार गरे।
दोहाको होटलमा पेस्ट्री बनाउन मात्रै १५ जना जति थिए। अनेक प्रकारका पेस्ट्री होटलमै बन्थ्यो। उनलाई ठीक निर्णय लिएछु भन्ने लाग्यो। पेस्ट्री सेफ हुने सपना पूरा हुने सम्भावना देखे।
फोर सिजन होटलमा ६ महिना हेल्पर भएर काम गरेपछि उनले किचनमा सरूवा पाए। त्यहाँ नेपालका इन्द्रकाजी राई पेस्ट्री सेफ र बेकरी सेफ पोखराका विष्णु सुनार थिए। नेपालीहरू भएपछि नारायणलाई सजिलो भयो। उनी पेस्ट्रीमा हेल्पर हुन पाए।
काम सिक्दै गर्दा कम्पनीबाटै उनले तालिम लिने अवसर पाए। होटलको काम गरेर तालिम सक्दा दैनिक १८ घण्टाभन्दा बढी व्यस्त हुन्थे।
यो मेहनतले नारायणलाई पेस्ट्री कला सिकायो।
संयोग, नारायणले तालिम पूरा गरेकै बेला एक जना श्रीलंकाली सेफले काम छाडे। नारायणले अवसर पाइहाले।
'केही सेफले त नयाँ छ, अहिले हुँदैन भनेका थिए। तर विश्वास गर्ने धेरै जना भएपछि मैले अवसर पाएँ,' उनले भने।
पेस्ट्रीको काम गर्दै नारायण बेकरीमा पनि सघाउन पुग्थे। यसरी निरन्तर तीन वर्ष काम गर्दा उनले काम सिक्नमै ध्यान दिए। बेकरी सेफ विष्णुले पनि नारायणलाई अनेकथरी बेकरी परिकार बनाउन सिकाए। नारायण पेस्ट्री र बेकरी दुवैमा पोख्त हुँदै गए।
सन् २०१८ मा होटलमा केही कर्मचारीले बढुवा पाए। नारायणको पनि अपेक्षा थियो, तर भएन। उनको मनमा एक किसिमको खिन्नता भयो। त्यही बेला फोर सिजनकै आबुधावी शाखामा सेफ मागेर आवेदन खुल्यो।
त्यसमा कम्पनीकै कर्मचारीहरूले आवेदन दिन पाउँथे। नारायणले पनि आवेदन भरे। अन्ततः २०१८ डिसेम्बरमा उनी आबुधावी शाखामा काम गर्न गए। उनले त्यहाँ पाँच वर्ष बिताए।
एक दिन उनलाई लन्डनको होटल इन्टरकन्टिनेन्टल ओटुबाट कामको प्रस्ताव आयो। यहाँ सात महिना काम गरेपछि उनको जुनियर शू-सेफमा पदोन्नति भएको हो।
'यहीँबाट मैले बेक अफ: द प्रोफेसनल्समा भाग लिने र उपाधि जित्ने अवसर पाएँ,' नारायणले भने, 'मेरो व्यावसायिक जीवनको ठूलो उपलब्धि हो यो। सपना देख्यो र मेहनत गर्यो भने पूरा हुने रहेछ।'