बुटवल औद्योगिक क्षेत्रमा नेसनल इन्जिनियरिङ नामको एउटा उद्योग छ। यो उद्योग चलेको दुई दशक भयो। यस्तै प्रकृतिको रम्भा मेटल इन्डस्ट्रिज बुटवलकै मैनाबगरमा छ।
दुवै उद्योग चलाएका हुन् माया खनाल र उनका श्रीमान रामप्रसाद खनालले।
यी दुइटै उद्योगको मुख्य उत्पादन कंक्रिट मिक्स्चर मेसिन हो। यसबाहेक सेप्टिक ट्यांकी, पानी ट्यांकी, चाउचाउ उद्योगमा घिउ राख्ने ट्यांकी, डेरी उद्योगको स्टोरेज ट्यांकी, इँटा उद्योगमा लाग्ने चिम्नी र हावा दिने ब्लोअर उत्पादन हुन्छ। विभिन्न मेसिनका पाटपुर्जा पनि उत्पादन हुने मायाले बताइन्।
'अहिलेसम्म भुइँवाला सानादेखि लिफ्टसहितका गरी एक हजारभन्दा बढी कंक्रिट मिक्स्चर मेसिन बनाइसक्यौं। निर्माण क्षेत्र सुस्त भएकाले काम कम भएको छ,' मायाले भनिन्, 'पश्चिम क्षेत्रमा प्रयोग हुने अधिकांश मिक्स्चर मेसिन हाम्रा उत्पादन हुन्।'
सामान्यतया यस्तो मेसिन भारतबाट आयात हुन्छ। आयातीत मेसिनको मर्मत झन्झटिलो हुने भएकाले नेपाली उत्पादन आएपछि सहज भएको उनी बताउँछिन्।
त्यस्तै भन्सारमा कंक्रिट मिक्स्चर मेसिन कृषि अन्तर्गत राखिएको छ र आयात गर्दा एक प्रतिशत मात्र भन्सार शुल्क लाग्छ। यस्तो सरकारी नीतिले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताइन्।
'भन्सार नीति नेपाली उद्योगको हितमा छैन। कच्चा पदार्थ आयात गर्दा भ्याट र भन्सार गरेर २३ प्रतिशत शुल्क बुझाउनुपर्छ। तयारी मेसिन ल्याउँदा एक प्रतिशत मात्र कर तिर्दा हुन्छ। यस्तो भएपछि नेपाली उद्योगले कसरी प्रतिस्पर्धा गर्न सक्छन्,' उनले भनिन्, 'आयात रोक्नुपर्छ भन्ने माग होइन हाम्रो। बजारको माग नेपाली उत्पादनले मात्र पूरा गर्न सक्दैनन् पनि। तर कच्चापदार्थ आयातको भन्सार शुल्कमा सहुलियत दिनुपर्छ।'
खनाल दम्पतीको उद्योगले चाँडै गौमूत्र र कम्पोस्ट मल प्रशोधन गर्ने मेसिन उत्पादनको तयारी गरिरहेको छ। त्यस्तै खानेपानी र सिँचाइ क्षेत्रका साथै फास्ट ट्र्याकको काममा चाहिने मेसिन उत्पादन गरिरहेको मायाले बताइन्।
नवलपरासीमा नेपाल मेटल कास्ट नाममा अर्को उद्योग चलाउने तयारी छ। सुनवल नगरपालिका–३ मा ६ बिघा जग्गा किनेर उनीहरूले चार करोड रूपैयाँ लगानी गरी भौतिक संरचना निर्माण गरिसकेका छन्।
हाल सञ्चालित दुइटा उद्योगमा ३० जना नियमित कर्मचारी छन्। खनाल दम्पतीले आपसमा जिम्मेवारी बाँडफाँट गरेका छन्। उद्योगको सबै आर्थिक कारोबार मायाको र बजार व्यवस्थापन रामप्रसादको जिम्मामा छ।
'हाम्रा उद्योग साझेदारीको होइन, पारिवारिक हो,' ४७ वर्षीया मायाले भनिन्, 'हाल वार्षिक कम्तीमा १० करोड रूपैयाँको कारोबार छ।'
उनीहरूले दुई दशकअघि २० लाख रूपैयाँ लागानीमा नेसनल इन्जिनियरिङ उद्योगबाट काम सुरू गरेका थिए।
पाल्पाको ताहुँमा जन्मिएकी मायाको प्रवीणता प्रमाण पत्र तह (प्लस-टु सरह) पढ्दै गर्दा बिहे भयो। स्कुल पढ्दा नै उनले उद्यमी बन्ने सपना देखेकी थिइन्। बिहेपछि उनले घरमा सीमित भएर हुँदैन, सानै भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोचिन्।
२०५२ सालमा बिहे भएर बुटवलको मोतिपुर आउँदा उनका श्रीमान रामप्रसादले पनि आम्दानीको कुनै बाटो समातेका थिएनन्। उनीहरूले गाउँमै एउटा ग्रिल उद्योग सुरू गरे।
उद्योग खोलेपछि माया त्यसमै लागिन्। ग्रिलमा रङ लगाउने, सुकाउने र यस्तै खालका सानातिना काम आफै गर्थिन्। अर्डर लिनु र हिसाबकिताब राख्नु उनको मूल जिम्मेवारी थियो।
'बसाइँसराइ तीव्र भएकाले घर बन्ने क्रम बढ्दो थियो। झ्यालढोका र गेटका लागि ग्रिलको अर्डर राम्रो थियो,' मायाले भनिन्, 'तर माग राम्रो भए पनि गाउँमा उधारो बढ्यो। तत्कालै नगद तिरेर आवश्यक सामान ल्यायो, उधारोमा दिएपछि व्यवसाय फस्टाउने संकेत देखिएन।'
उनीहरू मोतिपुरको कारोबार मिलाएर २०५७ सालमा बुटवलको मिलनचोक सरे। त्यहीँबाट मिलहरूमा लाग्ने सानातिना मेसिनरी सामान उत्पादन थाले।
एक-दुई वर्षपछि उनीहरूले बुटवल औद्योगिक क्षेत्रमा ठाउँ पाए। त्यहीँ उनीहरूले नेसनल इन्जिनियरिङ उद्योग सुरू गरे। सबै उत्पादनको बजार राम्रो भयो। एकाध वर्षपछि मैनाबगर रम्भा मेटल इन्डस्ट्रिज खोले।
एकअर्काको हौसला बनेर निरन्तर मेहनत गरिरहेका खनाल दम्पती करिब तीन दशकमा रूपन्देहीका सफल उद्यमीमध्ये एक कहलिएका छन्।
'हामी दुवै जना हरदम काममा व्यस्त हुन्छौं। अहिले त म चाहेर पनि घरमा बस्न सक्दिनँ। दुइटै उद्योगको आर्थिक पाटो हेर्ने भएपछि जिम्मेवारी धेरै छ,' मायाले भनिन्, 'दिनभरि काममा रहँदा शरीरमा फूर्ति आउँछ, अनुशासन पनि हुन्छ।'
महिलाका लागि परिवार व्यवस्थापनसँगै आयआर्जन पनि निकै महत्त्वपूर्ण हुने उनी बताउँछिन्। त्यस्तै हिम्मत गरेर अघि बढ्ने हो भने हो महिलाले गर्न नसक्ने कुनै काम नभएको उनले बताइन्।
'महिलाप्रति सामाजिक दृष्टिकोण पनि फराकिलो बन्दै गएको छ,' मायाले भनिन्, 'घरपरिवार व्यवस्थापनमा लामो अभ्यास भएका महिलाहरू घरेलु उद्योगमा मात्र सीमित नभएर, ठूला उत्पादनको काममा वा उद्योगमा लाग्नुपर्छ।'