तिहारमा विद्युतीय सामग्रीले सहरदेखि गाउँघर झिलिमिली बनाइन्छ।
तिहारका बेला झिलिमिली बत्तीसहित विद्युतीय सामग्रीको व्यापार हुने आशामा व्यवसायीहरूले लगानीसमेत बढाउँछन्।
विगतका वर्षका तुलनामा यसपालि विद्युतीय सामग्रीको व्यापार फस्टाउन नसकेको व्यवसायीहरू गुनासो गर्छन्। सामाग्रीको माग कम हुँदा सटर भाडा तिर्न पनि सकस रहेको केही व्यापारीहरूको गुनासो छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले तिहारका बेला पनि बजारको अवस्था कमजोर रहेको बताए।
भारतीय बजारबाट सामानहरू काठमाडौं आइसके पनि चीनबाट भने आएको छैन। उनकाअनुसार कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतीय सामाग्री नेपाल आइसक्यो भने चीनबाट तातोपानी र केरूङ नाका भएर आउनुपर्ने सामग्री आएको छैन।
महासंघले यसपालि करिब ३० करोड रुपैयाँको विद्युतीय सामग्रीको व्यापार हुने अनुमान गरेको छ। विगतका वर्षहरूमा ६० करोड रूपैयाँसम्म व्यापार हुने गरेकोमा यसपालि आधा कम हुने व्यवसायीहरू बताउँछन्।
कोरोनापछि नेपालको बजार संकुचनमा परेको अध्यक्ष देवकोटा बताउँछन्। गत वर्ष ल्याएका विद्युतीय सामग्री स्टक रहेको पनि उनले बताए।
‘अहिले व्यवसायीहरू धेरै सामान ल्याएर स्टक रहन्छ कि भन्नेमा छन्। त्यसैले उत्साहित पनि छैनन्। कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन,’ उनले भने, ‘तातोपानी नाका केही दिनमा खुल्ने भन्नेछ। त्यो भनेको अन्तिम समयमा आउँदा काठमाडौंकेन्द्रित मार्केट हुन्छ, व्यापार व्यवसाय खुम्चिने अवस्था छ।’
नेपाली बजारमा आउने विद्युतीय सामग्री चीन र भारतबाट आयात गरिन्छ। तेस्रो मुलुकबाट केही सामग्री मात्रै नेपाल आउने गरेको अध्यक्ष देवकोटाले जानकारी दिए।
उनकाअनुसार विद्युतीय सामग्रीको व्यापार दसैंदेखि नै सुरू हुने गर्दछ। ‘दसैंका बेला एउटै ग्राहकले ४०/५० हजार रुपैयाँको सामग्री किन्ने गर्थे,’ उनले भने।
काठमाडौंको सुन्धाराका विद्युतीय सामग्रीको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले अहिले व्यापार राम्रो नभएको बताए।
‘तिहारमा केही व्यापार हुन्छ कि भन्ने आश छ,’ उनले भने, ‘सहकारीमा जम्मा गरेको पैसा ठगहरूले खाइदिएकोले पनि नागरिकहरूसँग पैसा नभएको हुन सक्छ।’
उनले माग भए जसरी पनि सामग्री ल्याइने बताउँदै गत वर्षभन्दा विद्युतीय सामग्रीको माग कम रहेको बताए।
सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउँछिन्। तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उनले बताइन्।
प्रविधिको समय भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने सामग्रीहरूको डिमाण्ड आउने भए पनि युवा जनशक्ति विदेश रहेकोले पनि माग कम रहेको हुन सक्ने उनको भनाइ छ।
व्यवसायी दुर्गा सापकोटाको पनि विगतको तुलनामा व्यापार कम रहेको भनाइ छ। प्राकृतिक प्रकोप, पैसाको कमीका कारण पनि ग्राहक सामान खोज्न नआएको उनको भनाइ छ।
अर्का व्यवसायी बाबुराम घिमिरेले असोजको तुलनामा कार्तिक लागेपछि विद्युतीय सामग्रीको व्यापार बढेको बताए। बजारमा विगतको तुलनामा खासै चहलपहल भने नरहेको उनले जानकारी दिए।
विद्युतीय सामग्रीको बजार मूल्य भने विगतकै जस्तो रहेको उनले बताए। ‘कात्तिक लागेपछि व्यापार केही सुध्रिएको छ तर जति हुनुपर्ने त्यस्तो चहलपहल छैन,’ उनले भने।
व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउँछन्। पहिलाको भन्दा ६०-७० प्रतिशतले व्यापार कम रहेको उनको भनाइ छ।
‘देशको आर्थिक अवस्थाले हो कि के हो पहिलाको जस्तो व्यापार छैन। विगतका वर्षहरूमा तिहारमा भ्याइनभ्याइ हुन्थ्यो अहिले खाली छौं,’ उनले भने, ‘यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ।’
व्यवसायीहरूलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता लागेको व्यवसायी राज नेपालले बताए। तुलनात्मक रुपमा यस वर्ष व्यापार कम रहेको उनको भनाइ छ। उपभोक्ताहरू र व्यवसायीमा पनि उत्साह नपाएको उनले बताए। सरकारले व्यवसायीहरूलाई बचाउने काम गर्नुपर्ने उनले बताए।
बजारमा चहलपहल हुने वातावरण सरकारले मिलाउनुपर्ने पनि उनले बताए। ‘यस्तै अवस्था रहे व्यवसायीहरू केही समयपछि पलायन हुने अवस्था आउँछ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)