लालबहादुर जिसी गत वर्षसम्म आफ्नै गाउँपालिकामा करार सेवाका सब-इन्जिनियर थिए। एक वर्षअघि भदौमा आफूखुसी जागिर छाडे।
उनकी श्रीमती काजल कार्की बागमती प्रदेशको कृषि ज्ञान केन्द्र, चितवनमा कार्यरत थिइन्। उनले पनि यही साल भदौमा जागिर छाडिन्।
दाङको राप्ती गाउँपालिका-१, भालुवाङका यो युवा दम्पतीले यसरी खाइरहेको जागिर किन छाड्यो?
कारण हो— लालबहादुरका बुबा डम्मरले साढे एक वर्षअघि सुरू गरेको 'राप्ती नेपाली हाते कागज उद्योग'।
५६ वर्षीय डम्मरले २०८० वैशाखमा राप्ती गाउँपालिकाकै पिपरखुट्टी गाउँमा उक्त उद्योग स्थापना गरेका थिए। स्थापनाको एक महिनामै नेपाली हाते कागज उत्पादन सुरू भएको थियो।
'उद्योगको नतिजा राम्रो देखियो। आम्दानी राम्रो हुन थाल्यो। उत्पादन र बजार सबै एक्लैले हेर्नुपर्दा समस्या हुँदै थियो। व्यापारको काममा हिँड्नु पर्दा उद्योग हेर्ने मान्छे भएन,' डम्मरले भने।
डम्मरले गाउँपालिकाका जागिरे छोरालाई उद्योग हेर्नुपर्यो भन्न सकेका थिएनन्। लालबहादुर कहिलेकाहीँ उद्योगमा पुग्थे। एक वर्षअघि २०८० भदौको एक दिन उनले बुबासँग उद्योगबारे कुरा गरे। आफू काम सघाउन तयार रहेको बताए।
'म जागिरबाट राजीनामा गरेर ढुक्कले उद्योगको काममा लागेँ। काम सुरू गरेपछि उद्योगको गति बढ्न थाल्यो। आम्दानीमा बढोत्तरी भयो,' २६ वर्षीय लालबहादुरले भने।
उत्पादन सुरू गरेको वर्षदिनमै एक करोड रूपैयाँभन्दा बढीको कागज बिक्री भयो। सन्तोषजनक बचत पनि हुन थालेपछि उनीहरूले कागज उद्योगको उज्यालो भविष्य देखे।
लालबहादुरले श्रीमती काजलसँग कुरा गरे। उनलाई पनि जागिर छाडेर उद्योगमै काम गर्न आग्रह गरे। २५ वर्षीया काजलले पनि जागिरका लागि घरपरिवार छाडेर टाढा एक्लै बस्नुभन्दा आफ्नै उद्योगमा काम गर्नु उचित ठानिन्। अनि राजीनामा दिएर पूरा समय उद्योगलाई नै दिइन्।
'जागिरबाट भन्दा उद्योगबाट आर्थिक भविष्य बलियो हुने देखेर दुवै जागिर छाड्यौं,' उनले भने, 'आमा घर रेखदेख गर्नुहुन्छ। हामी तीन जना (बाबु, छोरा र बुहारी) उद्योग चलाउँछौं।'
सरकारी जागिर युवाहरूको उच्च प्राथमिकतामा हुन्छ। यसरी भइरहेको जागिर छाड्दा धेरैले उनीहरूलाई सोध्छन्, 'श्रीमानश्रीमती दुवैले जागिर छाड्दा पछुतो पो हुने हो कि!'
उनीहरू भन्छन्, 'आफ्नो उद्योग हो। भविष्य राम्रो छ। बरू ठीक समयमा जागिर छाड्यौं। कमाइ जागिरको भन्दा धेरै राम्रो छ। पछुतो हुने कुरै छैन।'
उद्योग उनीहरूको घरबाट करिब १४ किलोमिटर टाढा छ। भालुवाङ बजारमा उपयुक्त जग्गा र पानी पर्याप्त नभएकाले पिपरखुट्टी गाउँ पुगेको डम्मरले बताए।
डम्मरले आफ्नै भाइको साढे सात कट्ठा जग्गा वार्षिक एक लाख रूपैयाँ भाडामा लिएका छन्। पानीको प्रबन्ध डीप-बोरिङबाट गरेका छन्। हाल उद्योगमा दैनिक कम्तीमा १५ हजार लिटर पानी खपत हुन्छ।
उद्योगमा डम्मरले सुरूमा ४५ लाख रूपैयाँ लगानी गरेका थिए। उत्पादन क्षमता बढाउँदै जाँदा करिब ६० लाख रूपैयाँ पुगेको छ। त्यस्तै राप्ती गाउँपालिकाले अनुदानमा दुई लाख रूपैयाँ बराबरको फ्रेम दिएको छ।
डम्मरका अनुसार हाल उद्योगमा दैनिक ४० हजार रूपैयाँ बराबरको २० कोरी कागज उत्पादन हुन्छ। एक कोरीमा दुई सय ताउ हुन्छ। कागजको आकार र मोटाइअनुसार मूल्य निर्धारण हुन्छ। बजारमा 'ए-फोर' आकारको कागजको माग बढी छ। यहाँ उत्पादित नेपाली कागज वीरगञ्ज, काठमाडौं, पोखरा, धनगढी, महेन्द्रनगर लगायतका सहरमा पुग्छ।
नेपाली कागजको मुख्य कच्चा पदार्थ लोक्ता र बाबियो हो। डम्मरले धेरैजसो लोक्ता पूर्वी पहाडको पाँचथरबाट मगाउँछन्। बाबियो स्थानीय बासिन्दाहरूबाट संकलन गर्छन्। आफ्नै बारीमा पनि उत्पादन गर्छन्।
लोक्ता ३५ प्रतिशत र बाबियो ६५ प्रतिशत मिलाएर प्रशोधन गरी घोल बनाइन्छ। त्यही घोलबाट कागज तयार गरिन्छ। यस्तो कागज टिकाउ मानिन्छ।
'कागज उत्पादन गर्न जापानी प्रविधि प्रयोग भएको छ। यो प्रविधि छिटो र सजिलो छ,' लालबहादुरले भने।
खासगरी अभिलेखका रूपमा राख्नुपर्ने लिखतका लागि यस्तो कागज बढी प्रयोग हुन्छ। बजारमा यस्तो कागजको खाम, नोटकापी र सजावटका सामग्रीहरू पनि पाइन्छन्।
डम्मर पनि पहिले जागिरे थिए। उनले २५ वर्षसम्म भालुवाङ स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रूपमा काम गरे। जागिरे छँदै २०७१ फागुनको एक दिन तनहुँको ठूलेगैंडाका नारायण सिग्देलसँग भालुवाङमा भेट भयो।
गफ हुँदै जाँदा नारायणले आफ्नो शुक्ला गण्डकी कागज कारखानाका लागि बाबियो खोज्न दाङ आएको बताए। उनीहरूले आपसमा फोन नम्बर लेनदेन गरे। नारायण दाङ आइरहन्थे। उनीहरूको भेट, गफ र घनिष्टता बढ्यो। नारायण बाबियो खोजिदिन डम्मरलाई आग्रह गर्थे। कहिलेकाहीँ कामदार पनि खोज्थे। डम्मरले आफ्ना भान्जा अमरबहादुर डाँगीलाई नारायणको उद्योगमा पठाए।
त्यस बेला शुक्ला गण्डकी कागज कारखाना निकै राम्रो चलेको थियो। डम्मर पनि एकपटक कारखाना हेर्न गए।
कोरोना संक्रमणका समयमा भने काम ठप्प भयो। संक्रमणकै कारण नारायण पनि बिते। उनका छोराले उद्योग चलाउन खोजे, बौरिन सकेन।
एक दिन भान्जा अमरबहादुरले डम्मरलाई सल्लाह दिए – आफै लागेर काम गर्ने हो भने कागज कारखाना राम्ररी चल्छ। तनहुँको कारखाना किनेर दाङमा चलाउनुहोस्।
भान्जाको कुराले डम्मर उत्साहित भए। दाङमा यस्तो उद्योग थिएन। अन्ततः २०७९ चैत अन्त्यतिर डम्मरले शुक्लागण्डकी कागज कारखाना किने र सामानहरू दाङ ल्याए। बुहारी काजलका नाममा राप्ती नेपाली हाते कागज उद्योग दर्ता गरे।
काम जानेका भान्जा अमर छँदै थिए। यसरी एक महिनाको तयारीमै उत्पादन सुरू भएको हो।
उद्योगमा अहिले १८ जनाले रोजगारी पाएका छन। श्रमिकले कामको परिमाणका आधारमा पारिश्रमिक पाउँछन्। बढी पैसा पाउन काममा प्रतिस्पर्धा हुने गरेको डम्मरको भनाइ छ।
'हामीबाहेक अरू काम गर्नेहरू आफन्त र स्थानीयवासी छन्। सबैको आआफ्नो लक्ष्य हुन्छ। एक जनाले काम नगर्दा अर्काको काम रोकिने भएकाले सबै आआफ्नो काममा लागिरहन्छन्,' डम्मरले भने, 'एक वर्षमा १८ जनाले रोजगारी पाउनु र परिवारका सदस्यलाई पनि पुग्ने गरी काम हुनु मेरा लागि निकै खुसीको कुरा हो। नाफा थोरै भए पनि धेरै जनाले रोजगारी पाए भने मलाई खुसी मिल्छ।'
राप्ती गाउँपालिकाकी २६ वर्षीया कमला थापाले राप्ती यहाँ काम गरेको ६ महिना भयो। उनी कागज घाममा सुकाउने र सुकेपछि उठाएर खात लगाउने काम गर्छिन्। उनका श्रीमान पनि यहीँ काम गर्छन्।
आफूहरू दुई जनाले मासिक ४० देखि ६० हजार रूपैयाँसम्म आर्जन गरिरहेको उनले बताइन्।
'पहिले त्यसै बसेर समय बित्थ्यो। अहिले घरधन्दा सकेर काम गर्दा पनि राम्रो आम्दानी भएको छ,' कमलाले भनिन्।
राप्ती गाउँपालिकाकै २७ वर्षीय टंक पुन मगर बाबियो र लोक्ता मिलाएर घोल बनाउँछन्। उनको टिमले घोलबाट कागज बनाउँछ।
'आम्दानी राम्रो छ। खुसी छु,' टंकले भने।
पिपरखुट्टी गाउँका ५८ वर्षीय समशेर उपाध्यायले भने उद्योग खुलेकै दिन काम सुरू गरेका हुन्। उनी र अर्का एक जना तोकिएको आकारमा मेसिनले कागज काटेर बिक्रीका लागि अन्तिम तयारी गर्छन्।
'मासिक २० हजार रूपैयाँसम्म आम्दानी हुन्छ,' उनले भने।
पहिलो एक वर्षमा एक करोड रूपैयाँको कागज बेचेकोमा दास्रो वर्ष साढे एक करोड रूपैयाँको व्यापार हुने डम्मरको अनुमान छ। उत्पादन बढ्दै जाँदा श्रमिकको संख्या पनि सोही आधारमा बढ्नेछ।
कागज उद्योग चलाउन डम्मरको आत्मविश्वास सुरूदेखि नै बलियो थियो। उनकी श्रीमती मिरा भने विश्वस्त हुन सकेकी थिइनन्। अहिले आफ्ना छोराबुहारी समेत जागिरै छाडेर लागेपछि मिरालाई ढुक्क भएको छ।
'आफूले थाहै नपाएको उद्योग चलाउन श्रीमती निकै डराएकी थिइन्। सम्पत्ति डुब्ने हो कि भन्ने चिन्ता थियो,' डम्मरले भने, 'एक वर्षमै सबै ठीक भयो। छोराबुहारी जागिर छाडेरै उद्योगमा आएका छन्। मिरालाई पनि ढुक्क भएको छ।'