नेपाली उत्पादनमा प्रवर्द्धन गर्ने उद्देश्यले इमाडोलमा 'लुगा घर' सञ्चालनमा आएको छ।
लामो समयदेखि गार्मेन्ट व्यवसाय गर्दै आएका कृष्णराज तिमल्सिनाले ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा लुगा घर सञ्चालनमा ल्याएका हुन्।
दसैंको अवसर पारी तिमल्सिनाले शनिबार लुगा घरको उद्घान गरेका हुन्।
लुगा घरमा महिला र पुरूषदेखि बच्चासम्मका लागि स्वदेशी ब्रान्डका कपडाहरू पाइने तिमल्सिनाले बताए। यी लुगाहरू उनले आफ्नै गार्मेन्टमा उत्पादन गरेका हुन्।
यसको कारखाना ललितपुरको इमाडोलमा छ। पाँच रोपनी क्षेत्रफलमा फैलिएको कारखाना र कार्यालयमा सिजनमा दैनिक सात सय जनासम्मले काम गर्छन्।
इमाडोलबाट सुरू गरिएको लुगा घर देशभर विस्तार समेत गरिने उनले बताए।
उनका अनुसार थ्रेडले होलसेलमा व्यापार गर्छ। सरकारी कर्मचारी, विभिन्न संघसंस्था र स्कुल–क्याम्पसका लागि पनि लुगा बनाउँछ। मागअनुसार सांस्कृतिक पोशाक बन्छ। यसका उत्पादन मुलुकभर पुगेको छ।
लुगा घरमा थ्रेड, डिआरजे, डक्टर डेनिम, टेन्टाकल, बिस्ट डेनिमलगायत विभिन्न ब्रान्डका कपडाहरू पाइन्छन्। सञ्चालक तिमल्सिनाले आगामी दिनमा लुगाघरको देशभर फ्रेन्चाइज दिने गरी पहिलो आउटलेट सञ्चालनमा ल्याएको समेत जानकारी दिए।
'मेरो उद्देश्य भनेकै नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने हो। यसले नेपालमै रोजगारीको अवस्था मात्रै सृजना गर्दैन नेपाली रकम बाहिरिने अवस्था समेत रोकिन्छ,' उनले भने, 'नेपालमै पनि क्वालिटी अनुसारको कपडा उत्पादन गर्न सकिन्छ भन्ने देखाउनु हो।'