खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १८ सय गोटा खसीबोका र च्यांग्रा ल्याउने भएको छ।
दसैं–तिहारलाई लक्षित गरेर १५ सय खसीबोका र तीन सय गोटा च्यांग्रा ल्याउने भएको हो।
कम्पनीले बिहीबारबाटै किसानसँग खसीबोका किन्न थालिसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।
'आजबाटै किन्ने प्रक्रिया सुरू भएको छ,' उनले भनिन्।
बाढी पहिरोले थप बाटोको समस्या नपरे भोलि/पर्सिदेखि नै बाहिरी जिल्लाबाट खसीबोका काठमाडौं आउन सुरू गर्नेछ।
कम्पनीमा आएपछि उपभोक्ताले किन्न सक्नेछन्।
'अहिले बाटो ठिकै छ भन्ने बुझिएको छ। थप बाटोको समस्या परेन भने भोलि/पर्सिबाटै खसीबोका आउन थाल्छ,' उनले भनिन्, 'यहाँ आएपछि उपभोक्ताले किन्न सक्छन्।'
उनका अनुसार यस वर्षका लागि खसी र बोका हेटौंडा, तुलसीपुर र नवलपुरबाट ल्याइने छ भने च्यांग्रा मुस्ताङबाट ल्याइने छ।
उपभोक्ताले खसीबोका प्रतिकिलो ६ सय ८० र च्यांग्रा १२ सय ६० रूपैयाँमा पाउनेछन्। कम्पनीले बाहिरी बजारभन्दा थोरै सस्तो मूल्यमा बिक्री गर्छ।
कम्पनीले दसैं तिहार लक्षित खसीबोका खरिदका लागि ४ करोड रूपैयाँ बजेट छुट्याएको थियो।