यस वर्षको दसैंमा गत वर्षमा झैं रौनक देखिँदैन।
दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरोले मानवीय तथा भौतिक क्षति भएको छ। सडक अवरूद्ध छ। लामो दुरीको यात्रा सहज छैन।
यस्तो अवस्थामा बाहिरी जिल्लाबाट व्यवसायीले काठमाडौंमा खसी–बोका ल्याउन सक्ने अवस्था के छ? यस विषयमा हामीले वर्षौंदेखि खसीबोका व्यवसायी गर्दै आएका केही व्यवसायीसँग कुरा गरेका छौं।
बाटोघाटोको अवस्था यस्तै रहे काठमाडौंमा मागअनुसार खसीबोका ल्याउन नसकिने कलंकी खसीबजारका व्यवसायी गोबिन्द पाठक बताउँछन्।
'पूर्वको बाटो दसैंअघि बन्न नसक्ने भन्ने कुरा आएको छ,' उनले भने, 'पश्चिमको पनि बाटो बनिसकेको अवस्था छैन। बाटो नै बनेन भने कसरी ल्याउने!'
दुईतर्फी बाटो बनेको खण्डमा मात्रै बाहिरी जिल्लाबाट खसीबोका ल्याउन सकिने उनको भनाइ छ।
कठिनाइकाबीच काठमाडौंमा खसीबोका कसरी ल्याउने भन्नेबारे सोचिरहेको व्यवसायी रामशरण थापाले बताए।
'पश्चिमतिरका केही जिल्लाबाट लोड गरिसकेका छौं,' उनले भने, 'पूर्वाधार सहज छैन। कसरी ल्याउने भइरहेको छ।'
उनका अनुसार पानी पर्नुभन्दा अगावै केही गाडी खोसीबोका ल्याउन पश्चिमतिर पुगिसकेका थिए। अहिले गएका गाडी भने नागढुंगामै अड्किएको छ।
उनले दसैंका लागि २ देखि ३ हजार खसीबोका ल्याउने योजना बनाएका छन्।
'दैनिक पनि बेचिरहेका हुन्छौं,' उनले भने, 'घटस्थापनादेखि नवमीसम्मका लागि २/३ हजार खसीबोका ल्याउने योजनामा छौं।'
गत वर्षको तुलनामा यसवर्ष ल्याउन असहज भए पनि काठमाडौंमा खसीबोका अभाव नहुने व्यवसायी भीमसेन थापा दाबी गर्छन्।
'सडक पूर्वाधार बिग्रेका कारण ल्याउन केही असहज होला,' उनले भने, 'तर नआउने भन्ने हुन्न।'
प्राकृतिक महामारीको बेलामा खसीबोकाको मूल्य पनि महँगो नहुने उनले बताए।
'पूर्वाधारको कारण लागत नै बढ्यो भने थोरै बढ्ने हो,' उनले भने, 'तर ल्याउन गाह्रो भयो भन्दैमा महँगो हुँदैन।'
मौसम प्रतिकूल भएको अवस्थामा बाहिरी जिल्लाबाट खसीबोका ल्याउन सकिने नेपाल चौपाया व्यवसायी सेवा संघका अध्यक्ष जीवनराज खतिवडाले बताए।
'फेरि पानी पर्ने भनेको छ। मौसम, बाटोघाटो कस्तो हुन्छ। त्यो हेरेर खसीबोका आउन सक्ने/नसक्ने थाहा हुन्छ,' उनले भने।
उनका अनुसार पूर्व र पश्चिमका जिल्लाबाट दसैंका लागि काठमाडौंमा खसीबोका आउँछ। बाटो नबनेका कारण पूर्वबाट ल्याउन सकिँदैन। बाटो बनेको खण्डमा भने पश्चिमका केही जिल्लाबाट खसीबोका भित्रिन्छन्।
गत वर्षहरूमा पूर्वका उदयपुर, भोजपुर, इलाम, रामेछाप, गाईघाट लगायतका जिल्लाबाट खसीबोका आउँथ्यो। त्यस्तै, पश्चिमबाट सुर्खेत, दाङ लगायतका जिल्लाबाट आउँथ्यो।
घाम लाग्दा सुख्खा पहिरो जाने र पानी पर्दा लेदो सहितको पहिरो जाँदा बाटो अवरूद्ध छ।
'बाटो बन्यो र मौसम सफा भयो भने खसीबोका आउँछ,' उनले भने।
हाल धादिङ, रसुवा, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट खसीबोका आइरहेका छन्।
व्यवसायीहरूका अनुसार काठमाडौं उपत्यकामा दसैंका लागि ४० देखि ४५ हजार गोटा खसीबोकाको माग छ। दसैंका लागि गाउँ जानेको संख्या हेरेर काठमाडौंमा खसीबोका ल्याइने छ।
हाल बजारमा खसीको मासु प्रतिकिलो १३ सय रूपैयाँ छ। दसैंमा मूल्य बढ्छ कि बढ्दैन भन्ने विषयमा भने अहिले भन्न नसकिने व्यवसायीहरू बताउँछन्।