नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै पनि समस्या नहुने बताएको छ।
हाल सातदेखि दश दिनलाई पेट्रोलियम पदार्थ मौज्दात रहेकाले आपूर्तिमा कुनै समस्या नहुने निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए।
'बाढी–पहिरोले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै पनि समस्या हुँदैन,' उनले भने।
उनका अनुसार हाल निगमसँग पेट्रोल सात, डिजेल र हवाई इन्धन दश/दश दिनका लागि पुग्ने भण्डार क्षमता छ।
निगमले काठमाडौं उपत्यकाको लागि अमलेखगञ्जबाट ट्यांकीमा ल्याएर थानकोट डिपोमा पेट्रोलियम पदार्थ भण्डार गर्दै आएको छ। सोही डिपो मार्फत पेट्रोल पम्पहरूमा वितरण हुन्छ।
थानकोट डिपोमा आइतबारसम्म पेट्रोल एक करोड लिटर, डिजेल तीन करोड लिटर र हवाई इन्धन ५५ लाख लिटर मौज्दात छ।
'इन्धन बोकेका ट्यांकी काठमाडौं आउँदैछन्,' उनले भने, 'अबरूद्ध भएका ठाउँमा एकतर्फी बाटो खुलिसकेकाले समस्या छैन।'
उनका अनुसार पेट्रोलका २६०, डिजेल २५० र हवाई इन्धन बोकेका १४० वटा ट्यांकी काठमाडौं आउने क्रममा छ।