आगामी असोज १९ गते उद्यमी सम्मेलन (इन्टरप्रेनर समिट) हुने भएको छ।
नेपालको प्रविधि कम्पनी स्विभ्ट र इन्भेस्टियाले समिट आयोजना गरेका हुन्।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागीता हुने बताइएको छ। कार्यक्रममा एसिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यवसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुने आयोजकले जनाएको छ।
नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न समिट सहयोगी बन्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सिइओ कम्युनिटी हङकङका संस्थापक र सिइओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल हो लगायत अन्तर्राष्ट्रिय वक्ता राखिएको छ।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लगानी बोर्डका सिइओ सुशील ज्ञवाली पनि सहभागी हुने जनाइएको छ।
उद्यमशीलताका बारेमा छलफल हुने कार्यक्रममा हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरू सहभागी हुनेछ।
स्विभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पिएसपी सम्मेलन २०२३ आयोजना गरेको थियो।
सो सम्मेलनमा इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आइपे जस्ता प्रमुख फिनटेक कम्पनीहरू र नबिल बैंक, ग्लोबल बैंक, सिटिजन बैंक जस्ता ठूला वित्तीय संस्थाहरूले भाग लिएका थिए।