पस्मिना निर्यातकर्ता कम्पनी ट्राइकोटलाई 'एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४' बाट सम्मानित भएको छ। ललितपुर उद्योग वाणिज्य संघले उक्त कम्पनीलाई सम्मान गरेको हो।
बुनाइ कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ।
यस कम्पनीले 'वुलन र कटन' को धागोबाट निर्माण हुने पश्मिना स्वेटर, सल, टोपी, मोजा जस्ता पुरुष तथा महिला दुवैका लागि कपडा बनाएर निर्यात गर्दै आएको छ।
करिब २५ वर्षअघि चीन, भारत र नेपालकै व्यवसायीसँगको सामूहिक लगानीमा खुले पनि २०६२ सालदेखि गोल्यान ग्रुपको एकल स्वामित्वमा सञ्चाललित छ।
यस कम्पनीले युरोपमा सबैभन्दा बढी आफ्ना उत्पादन निर्यात गर्दै आएको छ भने अमेरिका र भारतमा पनि निर्यात गर्दै आएको छ।
पछिल्लो पाँच वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रूपैयाँ बराबरको निर्यात गरेर नेपालको विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुर्याउँदै आएको छ।
नेपाली बजारमा करिब १७ करोड रूपैयाँ बराबरको कपडा बिक्री गरेर उच्च गुणस्तरको बुनाइ कपडाको माग पूरा गरेको छ।
आफ्ना उत्पादनहरू विश्वमा नाम चलेका कुजतेन, फिंच ह्याटेंन, माला अलिशा, मिन्निरोज, रेमोण्ड जस्ता विश्वका चर्चित ब्रान्डहरूलाई बिक्री गर्दै आएको ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानले बताए।
'हामीले अहिले विश्वका नाम चलेका चर्चित ब्रान्डका कम्पनीहरूलाई आफ्ना उत्पादनहरु निर्यात गर्दै आएका छौ,' उनले भने, 'इस्कच र बोसलिना ब्रान्डका कपडाहरू निर्यात गर्दै आएपनि यसको औपचारिक घोषणा गरेका छैनौं।'
विराटनगरमा उद्योग रहेको ट्राइकोटमा हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रूपमा काम गर्छन्। जसमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेका छन्।