बालुवामाथि तामा वा पित्तलको भाँडामा भकभकी चिया उमालेको देख्नुभएको छ?
वा यस्तो भिडिओ हेर्नुभएको छ?
विशेष गरी मध्यपूर्वका देशहरूमा यसरी चिया पकाउने चलन छ। यस्तो चिया कतै 'टर्किस-टी' त कतै 'स्यान्ड-टी' नामले प्रख्यात छ। बालुवामा राखेर पकाइने भएकाले 'स्यान्ड टी' भनिएको हो।
नेपालमा पनि करिब दुई वर्षदेखि नीतीन कोइराला र दीपेश निरौला 'हबिबी चाये' मार्फत् टर्किस चिया बनाउँदैछन्।
'टर्किस चिया बालुवामा पकाइन्छ। स्वाद पनि भिन्न हुन्छ,' नीतीनले भने, 'यसको चियापत्ती र मसला फरक हुन्छ। दूध पनि प्रशोधित हुन्छ।'
हबिबी चायेले पाँच थरीको चिया बनाउँछ। यीमध्ये विशेष 'हबिबी चाये' नै हो। प्रशोधित दूधमा अरबी चियापत्ती र विशेष मसला हालेर तातो बालुवामा राखेर उमालेपछि यो चिया तयार हुन्छ। एक कपमा ८० मिलिलिटर चिया हुन्छ जसको मूल्य १२० रूपैयाँ पर्छ।
हाल हबिबी चाये काठमाडौंको वसन्तपुर नजिकै झोछेँमा र बालुवाटारमा पाइन्छ। भक्तपुरको पेप्सिकोलामा यसको फ्रेन्चाइज छ। पसल बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म खुल्छ। नीतीनका अनुसार एक ठाउँमा दैनिक करिब दुई सय जना ग्राहक पुग्छन्।
.jpg)
.jpg)
'हबिबी चायेमा अरबी शैलीको कफी पनि पाइन्छ,' उनले भने, 'यहाँ प्रयोग हुने कफी टर्कीबाट आउँछ। ग्राहकले दुई सय रूपैयाँमा ७० मिलिलिटर कफी पाउँछन्।'
यहाँ खाजा पनि पाइन्छ; नाचोज, स्यान्डविच र अन्य केही परिकार। हबिबी चायेले क्याटरिङ सेवा पनि दिन्छ। समारोह, मेला र रेस्टुरेन्टमा स्टल राख्छ। सातामा कम्तीमा एक दर्जन ठाउँमा स्टल राखेर ग्राहकलाई टर्किस चिया खुवाइरहेको नीतीनले बताए।
'धेरै ग्राहकले हबिबी चायेबारे हाम्रा स्टलबाटै थाहा पाएका हुन्,' उनले भने, 'ग्राहकले पसल पनि हुनुपर्यो भनेर सुझाब दिन थालेपछि पसल खोलेका हौं। फ्रेन्चाइज पनि दिएका छौं।'
हबिबी चायेले टर्किस चिया बेच्न थालेको एक वर्ष पूरा भयो। झोँछेमा पसल सुरू गरेको तीन महिना र बालुवाटारमा एक महिना मात्र हुँदैछ। फ्रेन्चाइज पनि एक महिना अगाडि मात्र सुरू भएको हो।
यी तीनै ठाउँमा एक पटकमा २५ जना अटाउने टेबलकुर्सी छन्। ग्राहकले चिया बनाएको देख्न सक्ने गरी ठाउँ मिलाइएको छ। तीन वटै पसलको सजावट अरबी शैलीको भएको उनले बताए।
स्टल राख्दा पनि उनीहरू 'सेटअप' मा विशेष ध्यान दिन्छन्। स्टलमा बस्नेले अरबी पोसाक लगाउँछन्। स्टलमा इथियोपिया, टर्की, यमन, दुबई, इराक, इजिप्ट, अमेरिका लगायत १८ देशबाट ल्याइएका सजावटका सामान प्रदर्शनमा राखिन्छ। ती सामग्रीले पनि ग्राहकलाई आकर्षित गर्ने नीतीन बताउँछन्।
उनका अनुसार चिया वा कफी बनाउन प्रयोग हुने भाँडालाई अरबी भाषामा 'दल्लाह' र टर्किस भाषामा 'सेच्भी' भनिन्छ। यस्तो भाँडा नेपालमा नपाइने भएकाले उनीहरूले अरबी मुलुकबाटै ल्याएका छन्।
चिया वा कफी बनाउन सुरूमा बालुवा तताइन्छ। बालुवा तात्न १० मिनेट जति लाग्छ। बालुवा ४०० डिग्री सेल्सियसमा तातेपछि यसमाथि भाँडो राखिन्छ। चिया र कफी पाक्न बढीमा पाँच मिनेट लाग्छ।
'बालुवा सरदर हप्ता दिनमा फेर्नुपर्छ। यो खास किसिमले प्रशोधन गरिएको हुन्छ,' नीतीनले भने।
दीपेश निरौला (बायाँ) र नीतीन कोइराला
हबिबी चायेको स्टलहबिबी चायेको अवधारणा नीतीनकै हो। दीपेश पछि जोडिएका हुन्।
उनीहरू दुबै जना दुबईमा काम गरेर फर्केका हुन्।
एक दशक दुबईमा बिताएका नीतीन होटलमा काम गर्थे।
'वेटरका रूपमा काम सुरू गरेर रेस्टुरेन्ट सञ्चालन र प्रबन्धक भएँ। तलब र सुविधा राम्रो थियो। लामो समय बसेँ। उतै बिहे गरेँ,' उनले भने।
उनी काम गर्ने रेस्टुरेन्ट विश्व बजारमा विस्तार हुँदै थियो। यही सिलसिलामा उनी विभिन्न देशमा पुग्थे। इजिप्ट जाँदा पहिलो पटक स्यान्ड टी अर्थात् टर्किस चिया खाएका थिए। बनाउने तरिका पनि हेरेर आए।
समय बित्दै गयो। कामको दौडधुप चलिरह्यो। दुई सन्तान भइसकेपछि नीतीन नेपाल फर्किने सोचमा पुगे।
'जति सुविधा भए पनि एउटा समय आउँदो रहेछ जब विदेशी भूमिमा नबसौं भन्ने लाग्दो रहेछ। मलाई त्यस्तै भयो। परिवारसहित नेपाल फर्केँ,' उनले भने।
२०७३ सालमा फर्केका उनले २०७५ सालमा काठमाडौंको हात्तीसारमा 'गसिप क्याफे' खोले। अलिपछि ललितपुरको भनिमण्डलमा पारिवारिक वातावरणसहितको चाइनिज रेस्टुरेन्ट 'नेल्पा' सुरू गरे। यो क्याफे र रेस्टुरेन्ट अहिले पनि चलेका छन्।
स्वदेशमै भए पनि नीतीनलाई आफ्नो हुटहुटी अनुसार विशेष काम गर्न नसकेको अनुभव हुँदै थियो। केही नौलो काम गर्न चाहन्थे।
एक दिन अनायसै उनले दुबईबाट फर्किँदा ल्याएको ६ वटा दल्लाह सम्झे। बालुवा तताएर दल्लाहमा टर्किस चिया बनाउन खोजे। चिया तयार भयो, तर अरबी वा इजिप्टमा पिएजस्तो स्वाद आएन।
उनलाई चिया बन्छ भन्ने चाहिँ विश्वास भयो। त्यसैले अरबी चियापत्ती र मसला मगाए।
'सामान आएपछि चिया बनाएँ, अरबी स्वाद आयो,' उनले भने, 'मलाई यो चिया आफ्नो क्याफेमा खुवाउन सक्छु भन्ने विश्वास भयो।'
अनि साढे दुई वर्षअघि, २०७८ भदौमा नीतीनले गसिप क्याफेको मेनुमा टर्किस चिया थपे। ग्राहकले चिया बनाएको देख्ने प्रबन्ध मिलाए।
'ग्राहकले टर्किस चिया खुब मनपराए। नेपाली बजारका लागि बालुवामा चिया पकाउने तरिका नौलो थियो। स्वाद पनि नयाँ थियो,' उनले भने।
.jpg)
.jpg)
गसिप क्याफेमा चलेको टर्किस चिया उनले ललितपुरस्थित लबिम मलमा लाग्ने 'लबिम बजार' मा पुर्याए। ग्राहकको भिड लाग्यो। ठमेलको छाया सेन्टरमा स्टल राखे। त्यहाँ पनि उस्तै भयो। सामाजिक सञ्जालमा भिडिओ हाले। धेरै ठाउँबाट स्टल राख्न प्रस्ताव आयो। उनी सकेसम्म पुग्ने प्रयास गरे। व्यापार बढ्दै गयो।
यहीबीच नीतीनले केही कर्मचारीलाई तालिम दिए।
व्यापार बढ्दै गएपछि नीतीनले सहकार्य आवश्यक ठाने। दुबईमा निकट बनेका साथी दीपेशलाई भने। सहकार्य गर्ने सहमति भयो।
दुबईमा रेस्टुरेन्ट व्यवसायमै भिजेका दीपेश १४ वर्षपछि २०७७ सालको अन्त्यतिर स्वदेश फर्केका थिए।
'म त्यहाँ कम्पनीको क्षेत्रीय प्रबन्धकसम्म भए। मेरो विशेषज्ञता भने व्यवसाय विस्तारमा हो,' दीपेशले भने, 'दुबईमा राम्रै भए पनि आफ्नै देशमा काम गर्ने मनसायले फर्केको थिएँ।'
नेपाल फर्केको केही समय उनी घरजग्गा व्यापार र जीवनबीमा क्षेत्रमा संलग्न भए। पछि नीतीनको प्रस्ताव अनुसार सहकार्यमा आए।
'टर्किस चिया अरबी मुलुकमा विशेष समारोहहरूमा देखेको थिएँ। नेपाली बजारमा नयाँ र रोचक हुने ठानेर नीतीनसँग व्यवसायमा जोडिएँ,' उनले भने।
दुई जना मिलेपछि दैनिक ६ वटासम्म कार्यक्रममा स्टल राखे। चार महिनापछि नीतीन र दीपेश कुनै ब्रान्ड बनाउने निर्णयमा पुगे अनि 'हबिबी चाये' नाम जुराए।
'अरबी शब्द हबिबीको अर्थ प्रिय भन्ने हुन्छ। अनि चियालाई चाये भन्छन्,' दीपेशले भने।
यसरी २०७९ माघयता उनीहरू बालुवामा पकाएको हबिबी चाये खुवाइरहेका छन्।
उमेरले चार दशक पार गरेका नीतीन र दीपेशको योजना अब चिया विस्तार गर्ने र एक वर्षभित्र थप दुई ठाउँबाट सेवा दिने हो।
उनीहरूले नेपालमा व्यवसायको प्रचुर सम्भावना देखेका छन्। उत्साहित व्यक्ति र समूहहरू पनि देखे-भेटेका छन्। तर तिनमा धैर्य अभाव भएको अनुभव उनीहरूको छ।
भन्छन्, 'व्यवसाय गर्न धैर्य र स्थिरता चाहिन्छ, तर धेरैमा यिनकै कमी छ। यी दुई कुरालाई सूत्र बनाउने हो भने नेपालमा धेरै अवसर छ।'
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)