चर्को घाम, धूलोधुवाँ खाएको २० मिनेटपछि बुढानिलकण्ठमा बल्ल एउटा ट्याक्सी आयो।
अर्जुन केसीले सोधे- बानेश्वर जाने?
'भाडा एक हजार दुई सय लाग्छ,' ट्याक्सी चालकले जवाफ फर्काए।
'ओहो कति महँगो, ५-६ सयमा सधैं गइरहेको छु,' अर्जुनले भने।  
दोब्बर भाडा भनेपछि केहीबेर दुई जनाबीच विवादै भयो। अन्त्यमा सात सय रूपैयाँमा ट्याक्सीले अर्जुनलाई बानेश्वर लगिदिने भयो। दिनभर काममै व्यस्त, साँझ कार्यालयको काम सकेर अर्जुन घर आए।
उनले बिहान ट्याक्सी चढ्दाको अवस्था सम्झे। धूलोधुवाँ खाएर बाटोमा कुरेर बस्दा पनि भनेजस्तो सेवा नपाउँदा दिक्क लाग्यो।
विदेशमा बस्दा ढोकैबाट ट्याक्सी चढेर आउने-जाने गरेका अर्जुनलाई यहाँको सेवा मननपर्नु स्वाभाविक थियो। अर्जुन हङकङमा टेलिकम्युनिकेसनमा काम गर्थे। लगभग आठ वर्ष त्यहाँ बसेपछि सन् २०१६ मा नेपाल फर्किएका हुन्।
अर्घाखाँचीका अर्जुन २०५८ सालमा परिवारसँगै काठमाडौं आएका थिए। मिनभवन कलेजबाट व्यवस्थापनमा स्नातकोत्तर सकेका उनले पढ्दै सूचना-प्रविधि तालिम लिए। विभिन्न कम्पनीमा काम गरे। उनले आफैं कल सेन्टर पनि चलाएका थिए। पछि सेन्टर बन्द भयो। तर त्यसमार्फत चिनेका विदेशीबाट उनले हङकङमा जागिरको प्रस्ताव पाएर उता गएका हुन्।
विदेशबाट आएर अर्जुन आइटीसम्बन्धी नै काममा लागे।
'विदेशमा घरमै ट्याक्सी आइपुग्थ्यो। भाडामा किचकिच पनि गर्नुनपर्ने, पहिल्यै तोकिएको हुन्थ्यो,' उनले अनलाइनमार्फत् चल्ने ट्याक्सीको विशेषता सुनाए।
त्यो दिन भोगेको तीतो अनुभवबाट उनलाई विदेशमा लिएको सेवा यहीँ सुरू गर्न मन लाग्यो। यहाँ कुन–कुन राइड सेयरिङ कम्पनीले के–के सुविधा दिएको छ, अध्ययन पनि थाले।
केही कम्पनीले दुईपांग्रे सवारी र ट्याक्सी सेवा दिइरहेको भेटे। दुईपांग्रेको सेवा उनलाई राम्रै लाग्यो। ट्याक्सीको भने चित्त बुझेन।
'त्यतिखेर एउटा कम्पनीले फोनमार्फत ट्याक्सी सेवा दिन्थ्यो। तर रिङरोड बाहिर जान्थेन। ट्याक्सी चढ्ने ग्राहक त बाहिरै जाने हुन् नि,' उनले भने, 'अनि म आफैंले अनलाइन ट्याक्सी सेवा सुरू गर्ने योजना बनाएँ।' 
उनले राइड सेयरिङ एपको नाम रोजे 'ट्याक्सीमाण्डु'।
काठमाण्डौं ट्याक्सीहरूको मण्डला हो। यहाँ ट्याक्सी सजिलै पाइन्छ भन्ने धारणा छ। सम्झिन सजिलो हुने भएकाले उनले नाम ट्याक्सीमाण्डु राखेका हुन्।
अर्जुनले चाबहिलमा कार्यालय राखे र ट्याक्सीमाण्डु सर्भिस प्रा.लि दर्ता गरे। काठमाडौं वरपरका ट्याक्सी बिसौनी पुगेर चालकसँग कुरा गर्न थाले। ट्याक्सी चालकलाई एपमा जोड्न उनलाई चुनौती भयो।
'बाइकका राइडर स्मार्ट हुन्छन्, प्रविधिसँग नजिक हुन्छन्,' उनले भने, 'तर ट्याक्सी चालकलाई प्रविधिबारे धेरै थाहै हुँदैन। उनीहरूलाई प्रविधिसँग परिचित गराउन चुनौती थियो, छ।'
राइड सेयरिङ कम्पनी चलिरहेकाले उनलाई अनलाइन सेवाबारे बुझाउन त गाह्रो थिएन। तर केही एपबारे फैलिएका नकारात्मक कुराको भ्रम चिर्न गाह्रै भयो। त्यसैले उनले ट्याक्सी र चालकबारे सर्भे गर्ने योजना बनाए। उनका अनुसार सर्भेका लागि १५/२० जना कर्मचारी राखिएको थियो।
'धेरै ठाउँमा कर्मचारी जान्थे। बुझाउन गाह्रो हुने ठाउँमा म आफैं पनि पुग्थेँ,' उनले सुनाए।
चालकलाई के सुविधा दिइयो भने तपाईंहरू अनलाइन सेवामा आबद्ध हुनुहुन्छ भन्दै बिसौनीमा गएर सोध्न थाले।
'सर्भेमा हामी कम्पनीलाई किन कमिसन दिने भन्ने ट्याक्सी चालकको सवाल थियो,' उनले अनुभव सुनाए, 'हामीलाई तपाईंले काम गरेको पैसा दिनुपर्दैन, तपाईंलाई ग्राहक नपाएका बेलामा, कुरेर बस्नुपरेको अवस्थामा हामीले थप काम दिने हो भनेर बुझायौं,' उनले भने।

ठाउँठाउँमा गएर ट्याक्सीमाण्डुबारे केही चालकलाई बुझाउन उनीहरू सफल भए। कम्पनीमा जोडिन चाहनेलाई एप चलाउन, ग्राहकको रिक्वेस्ट एसेप्ट गर्न र ग्राहक भएको ठाउँसम्म कसरी पुग्ने भनेर तालिम दिए। २०७६ भदौदेखि तालिम दिन सुरू गर्दा २०–२५ जना चालक सहभागी भए।
पहिलेदेखि देशविदेश बसरे आम्दानी गरिरहेकाले अर्जुनलाई लगानीको समस्या थिएन। उनीसँग ५० लाख रूपैयाँ थियो। बाँकी एक करोड रूपैयाँ बैंकबाट झिके। अनि डेढ करोडको लगानीमा ट्याक्सीमाण्डु सुरू भयो।
त्यस्तै आइटी क्षेत्रमा काम गरेको अनुभवले उनलाई एप कहाँ बनाउने, कस्तो बनाउने भन्ने जानकारी पनि थियो। उनले नेपाली र भारतीय दुई समूह मिलाएर एपको काम सँगै अगाडि बढाइरहेका थिए। 
अनि २०७६ मंसिर अन्तिमबाट ट्याक्सीमाण्डु सुरू भयो।
कम्पनीमा ३५ जना कर्मचारी थिए। कर्मचारीले चालकलाई ट्याक्सीमाण्डुबारे बुझाउने काम थाले। अर्जनुका अनुसार पहिलो दिनमा ४–५ जनाले दर्ता गरेका थिए। पछि त उनीहरूले फिल्डमै दर्ता गर्न थाले।
काम थालेको दुई-तीन महिना मात्र भएको थियो। विस्तारै चालकहरू कम्पनीमा जोडिँदै थिए। तर कोरोना महामारीका कारण चैत ११ देखि लकडाउन भइदियो।
'दुई–तीन महिनामै १५ सय चालक हामीसँग जोडिइसकेका थिए। एप ३० हजारभन्दा बढी डाउनलोड भइसकेको थियो,' उनले भने।
सुरूमा दुई हप्ता लकडाउन हुने भन्दा त उनलाई आराम मिलेजस्तै भयो। तर बन्द लम्बिँदै गयो। उनले हार मानेनन्। बीचमा कर्मचारीलाई तलब दिएको, कार्यालयको भाडा पनि तिरेको उनी बताउँछन्।
झण्डै छ महिनापछि ट्याक्सी चल्न पाउने भयो। त्यो बेलासम्म चालकले एप चलाउन भने बिर्सिसकेका थिए। उनीहरूलाई अफिसमै बोलाएर अर्जुनको टिमले फेरि सिकाए।
'प्रायः सबैले एप चलाउन बिर्सिसकेका थिए। कतिले त हटाइसकेका पनि रहेछन्,' उनले भने।
ट्याक्सीमाण्डु चलाउने तयारी उत्साहका साथ हुँदै थियो। दोस्रो लकडाउन भइदियो। त्यसपछि उनलाई गलत व्यवसायमा हात हालेँ कि भन्ने लाग्यो। तैपनि आफूलाई मात्रै परेको होइन, विश्वमै यस्तै छ भनेर मन बुझाए।
'मन बुझाउनुबाहेक विकल्पै थिएन। बीचमा छोडिदिम् भने पनि लगानी परिसकेको थियो,' अर्जुनले भने, 'विश्वकै ठूला कम्पनी बन्द भएका छन्। म त पाँच वर्षको योजना लिएर आएको, व्यवसायलाई निरन्तरता दिनु पर्छ भन्ने लाग्यो।'  
बन्द खुलेपछि उनीहरूले चालकलाई फेरि एप चलाउन सिकाए, तालिम दिए। अनि बल्ल हुँइकिन थाल्यो ट्याक्सीमाण्डु।
अर्जुनका अनुसार अहिले ट्याक्सीमाण्डुमा तीन हजार बढी चालक दर्ता छन्। चालीस हजारभन्दा बढीले एप डाउनलोड गरेका छन्। ट्याक्सीमाण्डुको लगानी नै चार करोड पुगिसकेको छ।
ट्याक्सीमाण्डुमा यातायात व्यवस्था विभागको नियमअनुसार तोकिएको भाडा, अर्थात् प्रति किलोमिटर ३९ रूपैयाँ तिर्नुपर्छ। तर ग्राहक भएको ठाउँसम्म ट्याक्सी पुग्ने सेवाका लागि सुरूमा थप एक सय रूपैयाँ लाग्छ।
'ग्राहक भएको ठाउँसम्म जानुपर्ने हुनाले सुरूमा एक सय रूपैयाँ छ, पछि किलोमिटर अनुसार तिर्ने हो,' उनले भने।
कम्पनीले ट्याक्सी चालकसँग दस प्रतिशत कमिसन लिन्छ। तर त्यो चालककै तालिम, अनलाइनमा आकर्षण गर्न विभिन्न प्याकेज ल्याउँदा खर्च हुने उनले बताए। कम्पनीले मंसिरभरि प्रयोगकर्तालाई ५० प्रतिशत छुट दिएको छ। मंसिरभर चालकसँग कमिसन नलिएको पनि अर्जुनको भनाइ छ। त्यस्तै एक महिनामा एक सय ट्रिप पूरा गर्ने चालकलाई सर्भिसिङ र डाटा निःशुल्क छ।
अहिले कम्पनीले भेइकल ब्रान्डिङ बिजनेस अर्थात् कर्पोरेट हाउसको सहकार्यमा ट्याक्सीमा विज्ञापन गर्ने काम थालेको छ। त्यसले कम्पनी र ट्याक्सी चालक दुवैलाई आर्थिक सहयोग हुने उनी बताउँछन्।
'८० प्रतिशत ट्याक्सीलाई दिन्छौं, २० प्रतिशत हामी राख्छौं,' उनले भने, 'यसबाट वार्षिक २० देखि २५ हजार उनीहरूको थप कमाइ हुन्छ।'
कम्पनीको भने अहिल्यै कारोबारको लेखाजोखा भइसकेको छैन। बिना कमिसन काम गरिरहेकाले लगानीकै चरणमा भएको उनी बताउँछन्।
सरकारले राइड सेयरिङ एपको मापदण्ड बनाएर सञ्चालन गरे यस्ता कम्पनी अझै थपिने उनको विश्वास छ। भन्छन्, 'राइड सेयरिङ कम्पनीले घाटा गरेको छैन, सरकारले नबुझेको मात्रै हो।'
अनलाइन सेवाले चालक र ग्राहकबीच सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग गरेको पनि उनी बताउँछन्।
'ट्याक्सी विवाद गरेर चढ्यौं भने नकारात्मक सोचिन्छ। चालकलाई पनि थोरै पैसा दियो भन्ने हुन्छ, ग्राहकलाई अझै ठगिरेहको भन्ने पर्छ,' अर्जुनले अनलाइन सेवाको विशेषताबारे प्रस्ट्याए, 'लाग्ने भाडा देखाइदिने हुनाले एपले चालक र यात्रुबीचको सम्बन्ध सुधारिदिएको छ।'
अहिले विश्व नै प्रविधिमा गएकाले ट्याक्सी चालकलाई पनि प्रविधिमा लैजानुपर्ने उनको भनाइ छ।
'कतिपय ट्याक्सी चालकलाई ठाउँको नामसमेत पढ्न आउँदैन। उनीहरूलाई हामीले विस्तारै सिकाउनुपर्छ,' उनले भने, 'पछि विदेशी पर्यटक आउँदा सहज हुन्छ, यसले पर्यटनमा पनि सहयोग पुर्याउँछ।'
अब ट्याक्सीमाण्डु झापामा सुरू गर्ने तयारीमा छन् उनीहरू। स्थानीय साझेदारको सहयोगमा, ५-६ जना कर्मचारी राखेर अध्ययन भइरहेको छ। आगामी दिनमा पोखरा, चितवन बुटवल लगायत मुख्य सहरमा पुर्याउने योजना छ।  
कम्पनीका अनुसार अहिले ट्याक्सीमाण्डुबाट दैनिक तीनदेखि चार सय ग्राहकले सेवा लिइरहेका छन्। एपमा ग्राहकको व्यवहार पनि परिवर्तन गर्नुपर्ने खाँचो अर्जुनले देखेका छन्।
'ग्राहक बाटोमा निस्किँदै गर्दा रिक्वेस्ट गर्छन् अनि बाटोमा चलिरहेको ट्याक्सीलाई पनि हात दिन्छन्,' उनले ग्राहकको व्यवहारबारे बताए, 'कमसेकम आफू निस्कनुभन्दा दस मिनेटअघि रिक्वेस्ट गरियो भने ट्याक्सी पाइने कि नपाइने, तुरून्तै थाहा हुन्छ। पाए ठीकै छ, नपाए बाहिर चढ्न सकिन्छ।'
अर्जुनका अनुसार अनलाइन ट्याक्सी चढ्दा सुरक्षा पनि हुन्छ। केही सामान छुटे सजिलै फिर्ता पाउन सकिन्छ।
जानुहोस्ः ट्याक्सीमाण्डुको वेबसाइट।
ट्याक्सीमाण्डुको एन्ड्रोइड एप।
ट्याक्सीमाण्डुको आइओएस (एप्पल) एप।