करिब दस वर्षअगाडिको कुरा हो। गैरीधारामा एउटा सुपरमार्केट थियो- अकुज।
थापा परिवारले खोलेको उक्त सुपरमार्केट राम्रै चल्थ्यो। तर सन् २०१३ मा उनीहरूले त्यसलाई पूरै भत्काए।
त्यति धेरै लगानी जोखिममा पार्नुको कारण खुलाउँदै मन्जिता थापाले भनिन्, 'हाम्रो सुपरमार्केट स्थानीय उत्पादन केन्द्रित थियो। स्थानीयले पनि माया गर्नु हुन्थ्यो। राम्रो चलेको थियो। तर हामी परिवारै हस्पिटालिटी क्षेत्रमा भएकाले सुपरमार्केटमा रमाउन सकेनौं।'
त्यसैले त्यहाँ उनीहरूले कफी क्याफे खोल्ने निधो गरे। अनि सुरू भयो- डेली अकुज।
उक्त क्याफे त्यो बेला किशोर उमेरकी मन्जिता र उनका काका जिपेन्द्रले मिलेर चलाए।
एक दशकअगाडि काठमाडौंमा कफीले अहिलेजस्तो बजार पाइसकेको थिएन। त्यो बेला कफी सप चलाउनु ठूलै जोखिम हुन्थ्यो।
उनीहरूले आँटे।
एक त उनीहरू आफैं सुपरमार्केटमा रमाएका थिएनन्। अर्को, उनीहरूलाई काठमाडौंमा कफीको मज्जा विस्तार गर्ने मन थियो।
'कामको सिलसिलामा विदेश जाँदा त्यहाँ कफीप्रतिको मोह देखिन्थ्यो,' मन्जिताले भनिन्, 'मानिसहरू क्याफेमा बसेर राम्रो कफीको स्वादमा खुब रमाएका देखिन्थे। काठमाडौंमा पनि यस्तै सुरू गर्न पाए हुन्थ्यो भन्ने भयो। अनि सुपरमार्केट भत्काएरै क्याफे खोलेका हौं।'
क्याफे चलाउन सजिलो भने थिएन। मन्जिताका अनुसार सुरूआती समयमा घाटै भयो। अकुजमा कफी तथा बेकरी आइटम, ह्वाइट फरेस्ट र ब्ल्याक फरेस्ट केक राखियो। पछि इटालियन कफी ब्रान्ड 'इली' ले प्रवेश पायो।
'त्यो बेला नेपालीहरू कफी पिउनै भनेर क्याफे जाने चलनै धेरै थिएन। साथीहरू आए घरमै चिया दिइन्थ्यो। एकाध विदेशी हाम्रा ग्राहक थिए,' मन्जिताले सम्झिइन्।
ग्राहक थोरै भए पनि उनीहरूलाई पछुतो थिएन।
मन्जिताका हजुरबुवा-हजुरआमाको होटल थियो। आमाबुवाको रेस्टुरेन्ट। त्यसैले सानै उमेरदेखि उनलाई होटल कसरी चलाउने, ग्राहकसँग कसरी व्यवहार गर्ने जस्ता व्यवहारिक ज्ञान हुँदै गयो।
'म सानै थिएँ। हजुरआमाले चलाउनु भएको सानो होटल विदेशी पर्यटक लक्षित थियो,' उनले सम्झिइन्, 'हजुरआमाले बिहानै उठेर उनीहरूलाई ब्रेकफास्ट बनाएर खुवाउनु हुन्थ्यो।'
विशेषगरी हजुरआमाको कामबाट आफूले धेरै सिकेको र प्रेरित भएको उनी बताउँछिन्। सुपरमार्केट र क्याफेको नाम अकुज राख्नुमा पनि विशेष कारण छ। थापा परिवारका सदस्यको नामको पहिलो अक्षरबाट मिलाएर बनाइएको हो अकुज।
क्याफे सुरू गर्दा मन्जिताले भर्खरै एसएलसी दिएकी थिइन्। बल्ल १६ वर्षकी। तर क्याफेमा वेटरदेखि सफाइ गर्ने लगायत सबै काम हेर्थिन्। कलेज जान थालेपछि भने उनी फर्किएर सेफलाई सघाउँथिन्। तर कक्षामा बसिरहँदा पनि उनको मन क्याफेतिरै जान थाल्यो।
'मन किचनतिर मात्र तानिएपछि म पूर्ण रूपमा यतै लागेँ। यसलाई नै अगाडि बढाउँछु भनेर अध्ययन गरेँ। अनि कफीबारे सिक्न इटाली र बेकरी सिक्न फ्रान्स गएँ,' हाल २४ वर्षीया उनले भनिन्।
उताबाट फर्किएपछि उनले क्याफेमा परिकार थपिन्। थरीथरीका केक र स्यान्डविच बनाउन थालिन्। यसपछि भने विस्तारै अकुजले ग्राहक बढाउँदै लग्यो।
अहिले धेरै स्वदेशी तथा विदेशी कफी पारखी र 'ब्रन्च' का लागि अकुज नाम प्रिय भइसकेको उनको भनाइ छ। शुक्रबार, शनिबार र आइतबार ब्रेकफास्ट र कफी खान यहाँ परिवारै आउँछन्। ६० प्रतिशत उनीहरूका नियमित ग्राहक हुन्। क्याफे सुरू गर्दा विदेशीहरू बढी आउँथे। पछिल्ला वर्षमा कफी खाने नेपाली बढ्दै गएकामा मन्जिता दंग छिन्।
उनी भन्छिन्, 'देखासिकी भन्दा मनैदेखि इच्छा लागेर गरेको काममा सफल भइने रहेछ।'
तर कोरोनाले अरू सबैझैं अकुजलाई पनि असर पार्यो। पहिलो लकडाउनमा चार महिना र दोस्रोमा दुई महिना बढी बन्द हुँदा समस्या भएको मन्जिताले दुखेसो पोखिन्। सहज हुन थालेपछि भने ग्राहक विस्तारै आउन थालेका छन्।
अकुजमा सबभन्दा बढी बिक्ने कफी नै हो। यसबाहेक स्यान्डविच र चकलेट केकको माग धेरै बढेको छ। मन्जिताका अनुसार उनीहरू प्रत्येक ६/६ महिनामा यहाँका खानेकुराको मेनु परिवर्तन गर्छन्। सबै परिकार त होइन, केही थप्ने, केही घटाउने। केकहरूको स्वाद फेर्ने।
उनीहरूले इटालियन ब्रान्ड इली कफीलाई भने निरन्तरता दिइरहेका छन्। खानेकुराका परिकारमा नेपाली उत्पादनलाई जोड दिने सोच छ।
'हामीले दिने कफीको स्वादमा शतप्रतिशत विश्वास छ। दुई वर्षअगाडि खाए पनि, आज खाए पनि स्वाद उस्तै छ। त्यसैले हामीले यही कफीलाई निरन्तरता दिएका छौं,' उनले भनिन्।
उनीहरू इली कफीका नेपालका लागि आधिकारिक बिक्रेता पनि हुन्। सन् २००८ देखि नै इली बेचिरहेका छन्। इली दुई सय ५० ग्रामदेखि तीन किलोसम्मको प्याकेटमा पाइन्छ जसको मूल्य क्रमशः १४ सय र १२ हजारसम्म पर्छ। यो कफी उनीहरूले काठमाडौं उपत्यका र बाहिरका रेस्टुरेन्ट तथा क्याफेमा पनि पुर्याउँछन्।
भविष्यमा यसका स्टोर विस्तार गर्ने र कफीको व्यवसायिक शिक्षामा समेत जोड दिने मन्जिता र उनका काका जिपेन्द्रको योजना छ।
'मलाई कफी कक्षा चलाउने सोख छ। हामीले पहिला युनिभर्सिटी अफ कफी कार्यक्रम सञ्चालन गरेका थियौं। म कफीबारे पढाउँथेँ,' उनी भन्छिन्, 'अहिले रोकिएको छ। अवस्था सामान्य भएपछि निरन्तरता दिनेछौं।'
पछिल्लो समय भने आफ्ना कर्मचारीलाई मात्रै तालिम दिने गरेको उनले बताइन्। उनका अनुसार अकुजमा तीस जना कर्मचारी छन्। कर्मचारीमा महिलालाई बढी प्राथमिकता दिइएको छ।