सबिता महर्जनले ट्याटु आर्टिस्ट बन्ने सपना कहिल्यै देखेकी थिइनन्। उनी होटल व्यवस्थापन विषय लिएर कलेज पढिरहेकी थिइन्। खाली समयमा आइसक्रिम बेचेर अलिअलि खर्च जुटाउँथिन्।
यो दस वर्षअघिको कुरा हो।
त्यो बेला उनका प्रेमी प्रह्लाद श्रेष्ठ, अहिले श्रीमान, ट्याटु आर्टिस्ट थिए। बसन्तपुर फ्रिक-स्ट्रिटमा प्रह्लाद 'टिकी झ्या' ट्याटु पसल चलाउँथे। सन् २००७ मा खुलेको टिकी झ्याः काठमाडौंकै पुराना ट्याटु पसलमध्ये पर्छ। प्रह्लादले नेपालमा ट्याटु कलाको राम्रो भविष्य देखेका थिए, त्यसैले उनी सबितालाई पनि सिक्न प्रोत्साहन गरिरहन्थे।
सबितालाई पनि ट्याटु मनपर्थ्यो, १६ वर्षकी छँदै आफ्नै खुट्टामा पनि हानेकी थिइन्। स्कुल पढ्दा चित्रकलामा रूचि थियो उनको, तर त्यतिबेला उनीभित्रको प्रतिभा निस्किन पाएन। पछि प्रह्लादको काम देखेर उनमा ट्याटु सिक्ने हौसला आयो।
'म उमेरले त्यति परिपक्व थिइनँ। अरूको लहलहैमा सजिलै लाग्थेँ। अनि भविष्यमा के गर्ने भनेर केही सोच पनि बनाएकी थिइनँ,' सबिता भन्छिन्, 'प्रह्लादले नै मलाई ट्याटु बनाउन सिकाए। मैले आफ्नो पहिलो ट्याटु उनकै खुट्टामा बनाएकी थिएँ। सुरूमा डरले हातमा कामेको थियो।'
दिनदिनै उनको प्रतिभा निखारिँदै गयो। ट्याटुका बुट्टा बनाउँदै जाँदा उनले आफ्नो भविष्यको रेखा पनि कोर्दै थिइन् सायद। त्यसैले केही समयमै आफू ट्याटु आर्टिस्ट नै बन्ने निधो गरिन्।
एक दशकअघि नेपालमा ट्याटु आर्टिस्टको संख्या निकै कम थियो। त्यसमा पनि महिला छँदै थिएनन्। यस्तो अवस्थामा आफू नै पहिलो महिला व्यावसायिक ट्याटु आर्टिस्टका रूपमा चिनिन थालेको उनी बताउँछिन्।
'मैले काम सुरू गर्दा यो क्षेत्रमा म एक्ली महिला थिएँ। अर्को एकजना महिलाले पनि ट्याटु बनाउँछिन् भन्ने सुनेका त थियौं, तर को थिइन् र कहाँ काम गर्थिन् कसैलाई थाहा छैन।'
सबितालाई ट्याटु सिक्न कठिन भएन। तर व्यावसायिक रूपमा यो पेसामा अघि बढ्न धेरै चुनौती खेपिन्।
पहिलो त, ग्राहकहरू उनको हातबाट ट्याटु हान्नै हिच्किचाउँथे।
'महिला भएकै कारण अरूलाई आफ्नो काममा विश्वास गराउन निकै गाह्रो भयो,' उनी सम्झिन्छिन्, 'महिलाले ट्याटु बनाउने भनेर चकित खानेहरू धेरै थिए। ग्राहक आफैं मेरो कुरा काट्थे र प्रश्न उठाउँथेँ।'
सबिताका अनुसार ट्याटु हान्ने चलन सर्वसामान्य नभएकाले कयौंले यसलाई राम्रो पेसाका रूपमा लिन्थेनन्। अझ यो काम महिलाले गर्नु त 'बिग्रिनु' सरह मानिन्थ्यो। सबिता भन्छिन्, 'केटी भएर यस्तो क्षेत्रमा लाग्दा ठूलो धक्का त मेरो परिवारलाई परेको थियो। भर्खर काम गर्दा आमाबुवा मेरो भविष्यलाई लिएर चिन्ता लिनुहुन्थ्यो। पछिपछि भने मेरो कामबारे पत्रपत्रिकामा छापिन थाल्यो अनि सोच परिवर्तन हुँदै गयो।'
ती दिन सबितालाई अझै याद छन्। आफ्ना सहकर्मीहरूबाट भने कहिल्यै नराम्रो व्यवहार नभएको र सधैं काममा प्रोत्साहन गरेको उनी बताउँछिन्।
काममा बिस्तारै चर्चा कमाउँदै गएपछि सबिताका बुवाले नै छोरीको हातबाट ट्याटु खोप्ने रहर देखाए। सबिताले बुबाको हातमा गणेश भगवानको ट्याटु बनाइदिइन्। आफ्नी छोरीको कला अहिले पनि सबैलाई गर्वसाथ देखाउँदै हिँड्छन् रे उनका बुबा।
सुरूका दिनमा ट्याटुबाट धेरै पैसा कमाउन नसके पनि सबिताले आफ्नो पेसा फेर्न चाहिनन्। यो क्षेत्रमा पैसाको लोभले नभइ आफ्नो रूचि र जोशले काम गर्नुपर्ने उनको भनाइ छ। पहिले सबिता ट्याटुको आकार हेरेर शुल्क लिन्थिन्। अहिले घन्टाका आधारमा लिन्छिन्, एक घन्टाको पाँच हजार रूपैयाँ। सबिताले बनाएको अहिलेसम्मकै महँगो ट्याटु भने ६० हजार रूपैयाँको हो।
उनले अहिलेसम्म पाँच हजारभन्दा बढी ट्याटु बनाइसकेकी छन्। उनका ग्राहक अधिकांश महिला नै हुन्छन्। ट्याटु बनाएर उनी थुप्रै देशका सभासम्मलेनहरूमा पनि पुगेकी छिन्। अहिले पनि उनी जर्मनीमा छन्। ट्याटु बनाउने शिलशिलामै त्यहाँ गएकी थिइन्, लकडाउनका कारण फर्किन पाएकी छैनन्।
'अहिले धेरैजसो मान्छे पैसा कमाउने सोच लिएर ट्याटु आर्टिस्ट बन्न खोजिरहेका हुन्छन्। तर ट्याटु केबल पैसामा मात्र सीमित छैन,' सबिताले भनिन्, 'यो कला हो र कला तब पूर्ण हुन्छ जब कलाकार त्यसमा बिना स्वार्थ काम गरिरहन्छ।'
सबिता आफैं शरीरमा धेरै ट्याटु खोपाएकी छिन्। उनका अनुसार एक दुईचोटि ट्याटु खोपेपछि त्यो लतजस्तै बस्छ।
'ट्याटु खोप्दा दुख्छ। कतिले त सहन सक्दैनन्। तर पनि मानिसहरू हान्न छोड्दैनन्,' उनी भन्छिन्, 'जब आफ्नो शरीरमा सुन्दर चित्र देखिन्छ, सबै दुखाइ त्यत्तिकै बिर्सन्छौं। हरेक पटक ट्याटु खोप्दा पहिलोचोटि हानेजस्तो हुन्छ र त्यही यसको रमाइलो पक्ष हो।'
ट्याटु बनाउँदा कलाकारले मुख्य रूपमा ग्राहकको स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने सबिता बताउँछिन्। कलाकारले हात सफा गरेर पन्जा लगाउनुपर्छ। सुइको प्रयोग एकपटक मात्र गर्नुपर्छ। सुइ शरीरभित्र खोप्ने भएकाले एउटा सानो गल्तीले ग्राहकमा रोग फैलिनसक्छ। त्यसैले एकदमै सजग हुनुपर्छ।
'ग्राहकले पनि ट्याटु खोप्नुअघि आर्टिस्टको कामबारे बुझ्नुपर्छ,' उनी भन्छिन्, 'राम्रो आर्टिस्टले बनाएको ट्याटु महँगो होला तर हाम्रो शरीरमा सधैं रहने कुरामा सम्झौता गर्नु हुँदैन।'
हामीकहाँ महिला ट्याटु आर्टिस्टको संख्या अझै पनि धेरै नै कम भएको सबिता बताउँछिन्। उनी आफैं पनि महिला कलाकारलाई प्रोत्साहन गर्छिन्, 'हामीलाई पनि महिला आर्टिस्टको खाँचो छ। कोही यसमा आउन चाहनुहुन्छ भने हामी कामको अवसर दिनेछौं।'