लाजिम्पाटस्थित साइनी नरचोक बुटिक होटलका कार्यकारी सेफ हेभन खनाल सधैं सोच्थे- नेपालमा सेफ पेसालाई खासै महत्व दिइँदैन। खाना पकाउने भान्से भनिन्छ, उनीहरूको पाककलाको खास कदर हुँदैन।
आफ्नो पेसालाई मान्छेहरूले सम्मान नगरेको देख्दा कहिलेकाहीँ दिक्क पनि लाग्थ्यो।
'हामीकहाँ सेफ पेसालाई खासै इज्जत दिने चलन छैन। नराम्रो तरिकाले खाना पकाउने भान्से भनेर सम्बोधन गरिन्छ,' उनले भने।
तर अचेल उनलाई यो सब वास्ता लाग्दैन। आफूलाई भान्से भन्दा खिस्रिक्क पनि हुँदैनन्। सेफ हुनुमा गर्व गर्छन्।
यसका पछाडि मुख्य दुइटा कारण छन्।
एउटा, मास्टरसेफ सन्तोष साहको ख्याति।
'मास्टरसेफ सन्तोष साहले अन्तर्राष्ट्रियस्तरमै नेपालको नाम बढाएपछि नेपालमा पनि सेफ पेसाको महत्व बढेको छ। मान्छेहरूले पनि बुझ्न थालेका छन्,' उनले भने। अझ सन्तोषले आफूलाई भान्से भन्दा खुसी लाग्ने बताएपछि धेरै नेपाली सेफहरूको आत्मविश्वास थप उँचो भएको छ।
हेभनलाई आफ्नो पेसामा अझै डटेर मिहिनेत गर्न ऊर्जा थप्ने अर्को कारण हो, उनको आफ्नै ख्याति।
२४ वर्षीय हेभन हालै नेपालकै सबभन्दा कम उमेरका कार्यकारी सेफ घोषित भएका छन्।
हेभनका अनुसार संसारका विभिन्न देशमा काम गरिरहेका नेपाली सेफहरूको पहलमा खुलेको संस्थाले उनलाई नेपालकै कान्छा 'एक्जुकेटिभ सेफ' घोषणा गरेको हो। लन्डनस्थित उक्त संस्थाले सबैजसो नेपाली सेफसँग सम्पर्क गरी उनीहरूको कामको मूल्यांकन गर्छ। यही क्रममा एक महिनाअघि हेभनलाई नेपालकै कान्छा कार्यकारी सेफको उपाधि दिइएको हो।
'२४ वर्षको उमेरमा एक्जुकेटिभ सेफ हुने म नेपालकै पहिलो हुँ। केही वर्ष अगाडिसम्म नेपालमा पन्ध्र वर्ष काम गरेपछि मात्र कार्यकारी सेफको पद पाउने चलन थियो। जति पाको उमेरको भयो, त्यति धेरै अनुभव हुन्छ भन्ने सोच थियो। तर त्यस्तो होइन,' हेभन भन्छन्।
कार्यकारी सेफ बन्न पढाइ, काम गर्ने शैली, खाना र स्वास्थ्यको ज्ञान, खानाको महत्व बुझ्ने र त्यही आधारमा मूल्य राख्न सक्ने, होटलको भान्सा कुन तरिकाले सम्हाल्ने जस्ता कुराले बढी मान्यता राख्ने उनी बताउँछन्।
हेभनले होटल क्षेत्रमा काम गर्न थालेको चार वर्ष भइसक्यो। साइनी नरचोक बुटिक होटलमा काम गरिरहेका उनले पहिले एलओडी क्लबमा एक वर्ष कार्यकारी सेफकै रूपमा काम गरेका थिए। हालसम्म करिब सात वटा होटल तथा रेस्टुरेन्टमा काम गरिसकेका उनले यो अवधिमा धेरै अनुभव र ज्ञान बटुलेका छन्।
सानो उमेरमै कार्यकारी सेफ हुनुको उपलब्धि जति छ, चुनौती उत्तिकै भएको उनी बताउँछन्। हेभनसँग उनीभन्दा बढी उमेरका सेफ पनि काम गर्छन्। पद हिसाबले काममा उनले भनेका कुरा अरू सेफले मान्नुपर्छ। तर कयौं रेस्टुरेन्टमा साना सेफलाई नटेर्ने प्रवृत्ति भएको उनी बताउँछन्।
उनी भन्छन्, 'एकजनाले मात्र चलाएर कुनै व्यवसाय अघि बढ्दैन। सबै कर्मचारी मिलेर काम गरे मात्र सफल हुने हो। तर हामीकहाँ पाकाले नयाँ पुस्ताले भनेको मान्नै अनकनाउँछन्, अघि बढ्नै दिँदैनन्। युवा सेफलाई अवसर कमै दिइन्छ। प्रमुख पदमा पुग्न धेरै उमेर नै हुनुपर्ने नियमै जस्तो छ। यो सही होइन। उमेरले मात्रै महत्व राख्ने हुँदो हो त आज म यो स्थानमै हुन्थिनँ होला।'
उमेरभन्दा राम्रो कामको बढी मान्यता हुने हेभनले नै प्रमाणित गरेका छन्। यो कदम अब युवा सेफहरूसम्म चाँडै फैलिने विश्वास उनको छ। उनी भन्छन्, 'तर हाम्रा लागि अवसर हामी आफैंले बनाउनुपर्छ।'
हेभनले पनि कार्यकारी सेफसम्मको यात्रा आफ्नै पहलमा तय गरेका हुन्। कक्षा १२ मा होटल व्यवस्थापन विषय रोजेर सुरू गरेको यो यात्राको उद्देश्य यही क्षेत्रमा काम गर्न भने थिएन। उनले रहरले पनि पढेका थिएनन्, बरू पढ्न सजिलो हुन्छ भन्ने हल्लाका पछि लागेर होटल व्यवस्थापन छानेका थिए।
भन्छन्, 'पढाइ सुरू गरेपछि पो सबै विषय उत्तिकै गाह्रो हुन्छ भनेर थाहा पाएँ।'
कक्षा १२ सकेपछि उनले अस्ट्रेलिया गएर काम गर्ने सोचेका थिए। भिसा लागेन। बनाएको योजना पूरा नहुँदा भविष्यमा के गर्ने, केही निधो गर्न सकेका थिएनन् उनले। यसै बस्नुभन्दा बरू पढ्छु भनेर होटल व्यवस्थापनमै स्नातक पढ्न सुरू गरे। त्यो बेलासम्म उनलाई भान्साको काममा खास रूचि थिएन।
'शिक्षकहरूले पनि मेरो क्षमता किचनभन्दा बढी बाहिरी व्यवस्थापनमा छ भन्नुहुन्थ्यो,' उनी भन्छन्, 'त्यो बेला मलाई नै किचनमा खाना पकाएर बस्न त्यति चासो थिएन। तर होटलमा काम खोज्दा सधैं किचनमै काम गर्ने जागिर मात्रै पाउँथेँ।'
यसरी उनको यात्रा भान्सासँग जोडिँदै गयो। सुरूमा उनले एउटा इटालियन रेस्टुरेन्टमा काम गरे। त्यहाँ छिर्दा उनलाई खाना पकाउने केही ज्ञान थिएन। त्यहीँका एक इटालियन सेफले उनलाई खानाबारे धेरै कुरा सिकाए। त्यो रेस्टुरेन्टको टिममा सबै युवा भएकाले काम गर्न पनि निकै सजिलो भएको उनी बताउँछन्।
स्नातकको पहिलो वर्षदेखि नै काम गरेर पैसा कमाउन थालेपछि उनी भान्साको काममा रमाउन थाले। आफ्नो हातले पकाएर खुवाउन रूचि बढ्यो। तर जब उनी अर्को रेस्टुरेन्टमा काम गर्न गए, त्यहाँको तौरतरिकाले निराश भए। त्यहाँ उनलाई भान्सामा पकाउन दिइएन।
'ठूला र अनुभवी सेफहरूले मलाई खाना पकाउनै दिएनन्। हामीजस्ता भर्खरका नयाँ सेफलाई पकाउन आए पनि दिइँदैन, सिकाउनु त परको कुरा,' उनले भने, 'बरू भाँडा माझ्ने, तरकारी काट्ने, भाँडा ओसार्ने काममा मात्र अल्झाइन्छ। तर पनि म काममा घोटिइरहेँ। कयौं पटक त भनाभन पनि पर्थ्यो।'
बीस वर्ष उमेरदेखि नै हेभनले कार्यक्षेत्रको खुट्टा तानातान प्रवृत्ति झेले। पढाइको चिन्ता छँदै थियो। तर उनी हार नमानी डटिरहे, खटिरहे। साथीहरू घुम्न जाँदा उनी काममै व्यस्त हुन्थे। रमाइलो गर्ने त फुर्सदै पाउँथेनन्।
'बिहान ६ बजे कलेज गयो। कलेजपछि रेस्टुरेन्टमा राती दस बजेसम्म काम गर्थेँ। त्यो बीचमा कलेजको काम र परीक्षालाई पनि समय दिनुपर्थ्यो,' उनले भने, 'तर त्यही मिहिनेतले अहिले मलाई यहाँसम्म ल्याएको छ, काममा रमाइरहेको छु। अहिले मेरो ड्युटी नौ घन्टा हो तर १३ घन्टासम्म काम गरिरहेको हुन्छु।'
आफ्नो काम देखेर नयाँ र युवा सेफहरूले सिकिरहेको देख्दा उनलाई खुसी लाग्छ।
हेभनका अनुसार नेपालमा धेरै सिर्जनात्मक युवा सेफ छन् जसले होटल व्यवस्थापनमा ठूलो प्रभाव ल्याउन सक्छन्। तर उनीहरू अवसर पाउँदैनन्, विदेश जान बाध्य हुन्छन्। विदेशमा सेफले सम्मानका साथै राम्रो पैसा पनि पाउँछन्। यहाँ सेफ काम गरेर कमाउन मुश्किल भएको उनी बताउँछन्।
'नेपालमा युवा सेफलाई मार्गनिर्देशन गरिदिने मास्टरसेफ पाउन सजिलो छैन। सेफका लागि राम्रो तालिम जरूरी छ। तर न सरोकारवालाले, न सरकारले यसमा ध्यान दिएका छन्,' हेभन भन्छन्, 'सेफहरूका लागि भएका संस्था पनि हामी युवा सेफले कामको प्रस्ताव राख्दा वास्ता गर्दैनन्। साँच्चै भन्दा, यहाँ भान्सामा पनि राजनीति छिरेको छ।'
त्यसैले अचेल उनी युवा सेफहरूलाई यो क्षेत्रमा अघि बढ्न प्रोत्साहन गरिरहेका छन्। आफ्नो कार्यक्षेत्रमा जति बाधा आए पनि सामना गर्न सिक्नुपर्ने सुझाउँछन्।
भन्छन्, 'म २४ वर्षको उमेरमा कार्यकारी सेफ हुन सक्छु भने अरू पनि सक्छन्। प्रविधिसँग घुलमिल भएका युवाहरूको काम सिक्ने र गर्ने तरिका फरक छ। मिहिनेत र राम्रो अनुभव भए मभन्दा अझै कम उमेरकाहरू कार्यकारी सेफ बन्न सक्छन्।'