नुवाकोटका २१ वर्षीय सुरज भट्ट एकदिन कलंकीस्थित आफ्नो डेरामा बसेर फेसबुक चलाउँदै थिए। उनले पठाओको एउटा पोस्ट देखे। पठाओले साइकलमा खाना डेलिभरी गर्ने मान्छे मागेको रहेछ।
घरमा साइकल थन्किएर बसेको थियो। बेरोजगार भएर बसेका सुरजलाई के चाहियो?
तत्कालै त्यहाँ दिइएको नम्बरमा फोन घुमाए। पठाओ कल सेन्टरका कर्मचारीले अफिसमै आएर राम्रोसँग बुझ्न सुझाए।
उनी मध्य-बानेश्वरस्थित पठाओ कार्यालय पुगे।
'फुड डेलिभरी कामका लागि तालिम लिनुपर्ने रहेछ। म दुई दिनपछि गएर तालिम लिएँ,' सुरजले सेतोपाटीसँग भने।
तालिममा उनले ठाउँका 'म्याप' कसरी हेर्ने, कम्पनीले दिएको सुविधा कसरी लिने, ग्राहकसँग कसरी कुराकानी गर्ने लगायत सिके। त्यसपछि सुरू भयो उनको साइकलबाट खाना डेलिभरी यात्रा।
पढ्ने र भविष्यमा केही गर्ने हुटहुटीले २०७२ सालमा नुवाकोटबाट काठमाडौं आएका सुरज साइकलमै कलेज जान्थे। आमाबुवाले खेतीपाती गरेर उनलाई पैसा पठाउँथे। उनका दुई भाइ भएकाले जिम्मेवारी पनि थियो।
'काम त गर्न परिहाल्यो। असनको कपडा पसलमा मासिक १५ हजार पारिश्रमिकमा काम गर्न थालेँ,' उनले सुरूआती दिन सम्झिए। पछि आफैं अनलाइनमार्फत् कपडा बेच्ने सोच बनाए र काम छाडे। आफ्नै व्यवसाय गर्न सोचेजस्तो सजिलो भएन। विभिन्न समस्याले उनको त्यो सपना अलपत्र पर्यो।
त्यसयता कामविहीन बसेका सुरज पठाओसँग जोडिएका हुन्। अहिले खाना डेलिभरी कामले खर्चको राम्रै भरथेग भएको छ। यसरी खाना डेलिभरी गर्न जाँदा उनले विभिन्न अनुभव पनि बटुलेका छन्।
'सुरूमा मलाई म्याप हेर्न त्यति राम्ररी आउँथेन। दोस्रोपटकको अर्डरमा तीन बजे आएको, ठाउँ अलमलिएर ५ बजे बल्ल पुगेँ। त्यो अर्डर क्यान्सिल नै भयो,' उनले भने।
नजिकै भए पनि म्याप हेर्न नजानेर अर्डर क्यान्सिल हुँदा उनलाई कामै छोडिदिऊँ जस्तो लागेछ।
'यो समस्या मैले अफिसमा राखेँ। अफिसका मान्छेले सुरूसुरूमा यस्तो समस्या हुन्छ, पिर मान्नु पर्दैन भनेपछि फेरि आत्मविश्वास बढ्यो,' उनले भने, 'अहिले त बानी परिसक्यो। त्यस्तो समस्या पर्दैन।'
साइकलमा ठूलो झोला बोकेर खाना डेलिभरी गर्न हिँड्दा उनलाई बाटामा कसैले जिस्काउँछन्, कसैले रोकेरै सोध्छन्। एकदिन पठाओकै मोटरसाइकल चालकले बाटामा रोकेरै सोधेछन्- कमाइ कस्तो हुन्छ? कति गाह्रो हुन्छ?
'मैले उहाँलाई सबै भनिदिएँ। मेरो कुरा सुनेर उहाँ अब म पनि यही गर्नुपर्यो कि क्या हो भन्दै हुनुहुन्थ्यो,' सुरजले अनुभव सुनाए।
यसरी खाना डेलिभरी गर्दा 'टिप्स' खासै नभए पनि कमाइ राम्रै हुने उनी बताउँछन्।
उनले साइकलबाटै दिनमा दस खेप डेलिभरी गर्दा एक हजार दुई सय पचास रूपैयाँसम्म कमाएका रहेछन्। जति खेप डेलिभरी गर्न सक्यो, उति बढी कमाइ हुने उनले बताए।
साइकलबाट डेलिभरी गर्दा इन्धनको पैसा बच्नुका साथै ट्राफिक जामको झमेला कम हुने उनको अनुभव छ। भन्छन्, 'काठमाडौंमा साइकल लेन छैन। भए पनि नाम मात्रैको हो। यसले चाहिँ बरू समस्या पारेको छ।'
रोजगारीको खोजीमा भएका तर मोटरसाइकल किन्न नसक्नेका लागि साइकलमै खाना डेलिभरी गरेर जीविकोपार्जन गर्न सकिने उनको तर्क छ।
सुरजले दिनभर साइकल पेलेर कमाएको पैसा आफ्नो पुरानो सपना पूरा गर्न प्रयोग गर्दैछन्।
बानेश्वरमा फोटोग्राफी र वेब डिजाइनिङ सिक्दै गरेका उनले भने, 'पठाओमा पैसा कमाउनुका साथै प्रविधिबारे पनि धेरै ज्ञान पाइरहेको छु। आवश्यक पैसा जम्मा भएपछि कपडाको फोटो आफैैं खिचेर वेबसाइटमा राखी अनलाइनमा कपडा बेच्ने लक्ष्य छ।'