सोमबार बिहान करिब ९ बजे यूएन पार्कको स्थिति सामान्य थियो। समय ढल्किँदै जाँदा त्यहाँ पठाओ लेखेको कपडा लगाएका मोटरसाइकल र स्कुटर चालक संख्या बढ्दै गयो।
पार्कभित्र केही अगुवाहरूले सामान्य भाषण दिए। उनीहरूको भाषणको तात्पर्य एउटै थियो।
'हामीलाई पठाओले साह्रै पेल्यो, अब कि वार कि पार।'
त्यसपछि त्यो टोली सिधै मध्यबानेश्वरस्थित पठाओ कार्यालयतर्फ हानियो। यूएन पार्कबाट आउँदा सामान्य समयमा बिजुली बजारको आर्क ब्रिजबाट दाहिने मोडिन पाइँदैन। तर ठूलो संख्यामा मोटरसाइकल-स्कुटर हर्न बजाउँदै आएकाले होला ट्राफिक प्रहरीले सिधै दाइने जाने अनुमति दिए।
सबै मोटरसाइकल-स्कुटर पिंक पुल हुँदै मध्यबानेश्वरतर्फ लागे। पठाओ कार्यालय सदाझैं थिएन। गेटमा ताल्चा र गेटअगाडि सुरक्षा गार्ड र प्रहरी तैनाथ थिए। अरू बेला पार्किङ गर्ने ठाउँको गेटमा समेत ताल्चा लगाइएको रहेछ।
राइडर टोलीले पार्किङको गेट हल्लाउन र नाराबाजी गर्न थाले। पछि पार्किङ गेट खोलिएपछि सडक केही खाली भयो। तर नाराबाजी रोकिएन।
केही समयपछि पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यात निस्किए र गेटभित्रैबाट कुराकानी गर्ने प्रयास गरे। तर राइडरको हल्लाका कारण उनी हल्का रिसाएर भने, 'तपाईंहरूको हल्ला सकिएपछि मात्र मलाई बोलाउनुहोस्।'
उनी भित्र छिरे।
त्यो भिडमा दुईथरीका राइडर थिए।
एक, ढुंगा हान्ने। उस्तै अफिस परे जलाइदिने भन्ने।
अर्का, कुरा गरेरै समस्याको समाधान निकाल्ने।
पहिलो खालका राइडरले नै अगुवा भूमिका लिइहाले। एक जनाले पठाओ अफिसको अगाडिपट्टिको झ्यालमा ढुंगा हाने। त्यसपछि त ढुंगाको वर्षा नै भयो। लगभग त्यो घरका सबैजसो झ्यालका सिसा फुटे। प्रहरीले दंगा बल बोलायो र करिब दुई दर्जनलाई समात्यो।
यो घटना अचानक भएको भने होइन। यसको मूल बिउ एक हप्ताअगाडि रोपिएको थियो। राइडरहरूले एक साताअगाडि आफ्नो ११ बुँदे मागपत्र पठाओ कार्यालयमा बुझाएको राइडर अगुवा अर्पन कटवालले जानकारी दिए।
'राइडर/चालकको बीमा हुनुपर्ने, पठाओले लिँदै आएको २० प्रतिशत कमिशन ८ प्रतिशत बनाउनुपर्ने, सस्पेन्ड गर्नुअगाडि राइडरलाई जानकारी हुनुपर्ने जस्ता हाम्रा ११ बुँदे माग हुन्,' उनले भने, 'यी पूरा हुनुपर्छ।'
ग्राहकको मात्र नभई राइडरको पनि दोहोरो कुरा सुनुवाइ हुनुपर्ने, बडी प्रोटेक्टिभ गियर अनिवार्य गर्न नहुने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, सस्पेन्ड रेकर्ड हेर्न पाउनुपर्ने, यात्रु र चालक दुवैले राइड क्यान्सिल गर्न मिल्नुपर्ने लगायत पनि उनीहरूका माग हुन्। यी माग एक हप्ताभित्र पूरा गर्न राइडरहरूले कम्पनीलाई अल्टिमेटम दिएका थिए।
सोमबारको घटना उनीहरूका यही माग पूरा नभएको झोंक हो।
यसबारे हामीले पठाओसँग पनि सोध्यौं। राइडरले भने झैं उनीहरूलाई बेवास्ता नगरिएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातको दावी छ।
‘उहाँहरूको जायज मागको हामी सधैं सम्मान गर्छौं। दुई वर्षको प्रयासपछि बीमा कम्पनीलाई बीमा गराउन मनायौं। टोल फ्री हाल एउटा मात्र कम्पनीको मिल्ने भएकाले त्यसमा पनि काम गरिरहेका छौं। बडी प्रोटेक्टिभ गियर अनिवार्य नगर्न नीतिस्तरमै कुरा गरिरहेका छौं,' उनले सेतोपाटीसँग भने, 'सस्पेन्ड रेकर्ड आफ्नो हेर्न पाइन्छ। तर अरूको पाइँदैन। र अन्तिममा राइडरले पनि राइड क्यान्सिल गर्न पाउँछ तर बीच बाटोमा पाउँदैन।’
उनले राइडरहरूका लगभग माग पूरा भएको बताए।
अब राइडर र पठाओको बाँकी मुख्य कुरा भनेको पठाओले लिने कमिसन हो। पठाओले आफ्नो एपमार्फत राइड दिएवापत राइडरसँग २० प्रतिशत कमिसन लिन्छ। राइडरको सबभन्दा ठूलो अन्तुष्टि यही हो।
तर राइडरको यो मागमा कुनै पनि प्रकारको सम्झौता गर्न नसकिने बस्न्यात बताउँछन्।
विश्व बजारमा राइड सेयरमा २५ देखि ३० प्रतिशत कमिसन राख्ने चलन भए पनि पठाओले २० प्रतिशत मात्र राखेको उनको दावी छ।
‘सुरूदेखि नै हामीले २० प्रतिशत नै कमिसन लिन्थ्यौं। १५ प्रतिशत राइडरलाई छुट मात्र दिएका थियौं। त्यसैले त्यो बेला ५ प्रतिशत मात्र कमिसन हुन्थ्यो। अहिले पनि हामीले ३ देखि ५ प्रतिशतसम्म बोनस छुट दिइरहेका छौ,’ उनले भने, ‘हेर्दा २० प्रतिशत कमिसन देखिन्छ। तर हाम्रो पनि सर्भर, गुगल नेगिभेसन, प्रविधि, बीमा, राइडर बोनस, ग्राहक छुट लगायत थुप्रै खर्च छ। हामी राइडर र यात्रुलाई हरेक सेवा दिन्छौं, तर अहिलेको अवस्थामा कमिसन घटाउन सक्दैनौं।’
राइडरको मुख्य मागमै कम्पनी हलचल नगर्ने बताउँछ। त्यसैले पनि राइडरहरू आक्रोशित छन्। सोमबार पठाओ कार्यालय तोडफोड गर्नेलाई त प्रहरीले मुद्दा नै चलाउने तयारी थालेको छ। त्यस्तै पठाओले पनि उक्त आन्दोलनमा सहभागी सबै राइडरलाई सधैंका लागि सस्पेन्ड गर्ने बताएको छ।