सन्दीप पौडेलले लन्डन स्कुल अफ इकोनोमिक्सबाट मनोविज्ञानमा स्नातकोत्तर गरेका छन्। गत वर्ष उनी पढाइ सकेर नेपाल फर्के।
घर आएको केही समयमै उनले नातेदारको बिहेको कुरा सुनेछन्। घरपरिवारले रोजेर जुराएको सम्बन्धमा गाँसिने तयारीमा रहेछन् केटा र केटी।
युरोपेली देशमा प्रेम विवाह धेरै देखेका उनले यहाँ धेरैजसो परिवारले नै जोडी खोजिदिने चलनबारे छोटो अध्ययन गरे। बिहेका लागि केटाकेटी खोज्दा थुप्रै मापदण्ड हेरिन्छ। पृष्ठभूमि, उमेर, पढाइदेखि काम के गर्छन्, सबै बुझिन्छ।
यसमा निकै समय खर्चिन्छ र प्रक्रिया पनि लामो।
'मलाई यी सब त घरै बसेर पनि हेर्न सकिन्छ नि भन्ने भयो। अनि एउटा म्याट्रिमोनियल एप विकास गर्न सकिन्छ कि भन्ने लाग्यो,' सन्दीपले भने।
नेपाल फर्किएपछि सन्दीपले हाफ-फूल टेक्नोलोजी कम्पनी सञ्चालन गरिरहेका थिए। उनी अम्बे ग्रुपका कार्यवाहक निर्देशक पनि हुन्। आफैंले सञ्चालन गरिरहेको हाफ-फूल टेक्नोलोजीबाट उनले म्याट्रिमोनियल एप विकास गरे- 'पञ्चे बाजा'।
यसमा सन्दीपसहित ७ जनाको टोली छ।
कम्पनीका अनुसार यो एपको सहायतामा अविवाहित महिला र पुरुषले आफूलाई मिल्दो वर वा वधू खोज्न सक्छन्। डेढ महिनाअघि मात्रै सार्वजनिक यो एपमा अहिलेसम्म तीन हजारभन्दा बढीले साइन-अप गरिसकेको सन्दीपले जानकारी दिए।
पञ्चे बाजा एप एन्ड्रोइड फोनका लागि गुगल प्ले-स्टोर र आइफोनका लागि एप-स्टोरमार्फत् डाउनलोड गर्न सकिन्छ। अन्य थुप्रै सामाजिक सञ्जालझैं यसमा पनि मागिएका विभिन्न विवरण भरेर साइन-अप गर्नुपर्छ। साइन-अप गर्न आफ्नो थर, धर्म, आम्दानी, काम, शैक्षिक योग्यता, फोन नम्बर लगायत विवरण स्पष्ट बुझाउनुपर्छ।
'डेटिङ र विवाहमा धेरै फरक हुन्छ। बिहेका लागि केटा/केटी हेर्दा बढी सोचिन्छ। केटा/केटीको योग्यता खोजिन्छ। त्यसैले यसमा व्यक्तिगतसँगै व्यावसायिक विवरणसमेत भर्नुपर्ने बनाएका छौं,' सन्दीपले भने।
यो एप्लिकेसनको मुख्य उद्देश्य यसमार्फत् जीवनसाथी भेटाउनु हो। नेपालभित्र मात्र होइन, आप्रवासी नेपाली तथा गैर-नेपालीले पनि यो एपको सहायतामा आफूलाई मिल्दा जीवनसाथी खोज्न सक्छन्।
विदेशमा त थुप्रै डेटिङ तथा म्याट्रिमोनियल एप्लिकेसनहरू चलनमा छन्। नेपालमा पनि छन्। तर धेरै प्रयोगकर्ता एपको सुरक्षामाथि अन्यौलमा हुन्छन्। आफ्नो व्यक्तिगत विवरण दुरूपयोग होला भनेर डराउँछन्।
पञ्चे बाजा यसबारे सचेत रहेको सन्दीपको दाबी छ।
'हामीले प्रयोगकर्ताको व्यक्तिगत विवरण जाँच्न र झुटो अकाउन्ट बनाउन नदिन त्यहीअनुरूप सुरक्षा अपनाएका छौं। कुनै व्यक्तिले पञ्चे बाजामार्फत् कोहीसँग मिल्न चाहनुहुन्छ भने पहिले प्रयोगकर्ताको सेल्फी-भेरिफिकेसनबाट जाँच हुन्छ। त्यसपछि मात्र यो एप चलाउन सकिन्छ,' सन्दीपले सुरक्षा विधिबारे बताए।
प्रायः सामाजिक सञ्जाल तथा यस्ता डेटिङ र म्याट्रिमोनियल साइटमा साइन-अप गर्दा प्रोफाइल फोटो हाले पुग्छ। पञ्चे बाजामा फोटोले मात्र पुग्दैन, प्रयोगकर्ताले कम्पनीको नीतिअनुसार सेल्फी पनि खिच्नै पर्छ।
सन्दीपले भने, 'हामीले यसरी जाँच्दा अहिलेसम्म झन्डै ६ जनालाई अकाउन्ट बनाएर कुरा बढाउन अस्वीकार गरेका छौं।'
पञ्चे बाजामा साइन-अप गर्न १८ वर्ष कटेको हुनुपर्छ। आफ्नो उमेरसँग मिल्दो केटा/केटीसँग म्याच खोज्न सकिन्छ।
'म्याच भन्नाले दुई जनाबीच मेल कत्तिको छ भन्ने हो। विवरणअनुसार आफ्नो अनुकूलता हेरेर म्याच हुन्छ,' उनले भने, 'अहिलेसम्म जम्मा ३० जनाको म्याच भएको छ।'
हाल यसमा साइन-अप गर्दा महिला, पुरूष र अन्यको विकल्प छ। तर, छिट्टै तेस्रो लिंगी वा आफ्नो लैंगिक पहिचान खुलाउन नचाहनेका लागि पनि विकल्प ल्याउने सन्दीप बताउँछन्। त्यस्तै विधुवा/विधुर र डिभोर्स भएको विकल्प पनि राख्ने कम्पनीको योजना छ।
साइन-अप गरेपछि आफूले खोजेको उमेर, पढाइ, व्यवसाय, मासिक आम्दानी, रूचिको विषय, जातीयता छान्न सकिन्छ। पछि पुनः सम्पादन गर्ने सुविधा पनि छ। आफूलाई कोही मन परेको भए ती व्यक्तिको प्रोफाइल 'लाइक' गर्न सकिन्छ। नभए 'स्किप'।
लाइकले आफूलाई मन परेको बुझिन्छ भने स्किपले इच्छुक नभएको। तपाईंले लाइक गरेको व्यक्तिले तपाईंलाई पनि लाइक गर्छ भने बल्ल एकअर्कासँग च्याट गर्न सक्नुहुन्छ। यो च्याट कम्पनी र अन्य कुनै स्रोतले हेर्न नमिल्ने सन्दीपको भनाइ छ।
'किनभने यो इन्क्रिप्टेड हुन्छ,' उनले भने।
दुई जनाबीच कुराकानी सुरू गर्नुअघि कम्पनीले सेल्फी भेरिफिकेसन लिन्छ। कसैले आफ्नो सेल्फी पठाउँदैन वा गलत फोटो पठाउँछ भने त्यस्ता प्रयोगकर्ताले कुरा अघि बढाउने अनुमति पाउँदैनन्।
हाल सबै प्रयोगकर्ताको प्रोफाइल सार्वजनिक रूपमा देखिन्छ। भविष्यमा भने पञ्चे बाजाले 'प्रिमियम प्याकेज' विकास गर्ने योजना बनाएको छ। यो प्याकेजअनुरूप कुनै पनि प्रयोगकर्ताले आफ्नो प्रोफाइल गोप्य राख्ने र आफ्नो अनुकूलता अनुसारकालाई मात्र प्रोफाइल देखाउन मिल्ने हुन्छ।
'यसो हुँदा म्याच खोज्न चाहने तर आफ्नो प्रोफाइल सार्वजनिक गर्न नचाहनेलाई पनि सम्बन्ध विस्तार गर्न सहज हुन्छ,' सन्दीप भन्छन्, 'यसका लागि निश्चित शुल्क भने तिर्नुपर्ने हुन्छ।'
सन्दीपका अनुसार परिवारले मिलाएर गर्ने व्यवस्थित बिहे र प्रेम बिहेको सन्तुलन मिलाउने उद्देश्यले सुरू पञ्चे बाजाजस्ता मेट्रिमोनियल एपका चुनौती बेग्लै छन्।
पहिलो चुनौती, महिला र पुरुषको अनुपात नमिल्नु हो। डेढ महिनाभित्र साइन-अप गरेका प्रयोगकर्तामध्ये ८० प्रतिशत पुरुष र जम्मा २० प्रतिशत महिला रहेको उनले बताए।
'अझै पनि महिलाहरू यस्तो एपमा सुरक्षित महशुस गर्दैनन्। पुरुषहरू भने नयाँ कुरा परीक्षण गर्न भए पनि अघि सर्छन्,' त्यसैले यो अनुपात निकै असन्तुलित भएको उनी बताउँछन्। अनुपात सन्तुलनमा ल्याउन उनीहरू बजारमा प्रचार-प्रसारमा लागिरहेका छन्।
नेपालमा यस प्रकारको एप्लिकेसनले गति लेला त?
सन्दीपको विश्वास छ, यसका लागि धेरै समय लाग्दैन। यसबारे जानकारी गराउन भने आवश्यक छ। हाल मोबाइलमा मात्र उपलब्ध यो एप तीन महिनाभित्र वेबसाइटमार्फत् पनि चलाउन मिल्ने बनाउने कम्पनीको योजना छ।
'घरै बसेर आफूले खोजेजस्तो केटा/केटी खोज्न र उनीहरूसँग अनुकूलता मिलाउन पञ्चे बाजाले सघाउने हो,' सन्दीप भन्छन्, 'यो एपले नेपालमा हुने व्यवस्थित बिहे सहज बनाउँछ। त्यस्ता सम्बन्धलाई प्रेमले बाँध्न मद्दत पुर्याउँछ भन्ने विश्वास राखेका छौं।'