ब्याडमिन्टन सबै उमेर समूहले रूचाउने खेल हो। विशेषगरी चिसो याममा सहरी क्षेत्रका खुला ठाउँमा ब्याडमिन्टन खेलेको देख्न सकिन्छ।
साथीभाइसँग खेल्दा रमाइलो हुने र शारीरिक व्यायाम पनि हुने भएकाले यो खेल धेरैको रूचिमा पर्छ। अझ ब्याडमिन्टन सानो क्षेत्रमा दुई जना मात्रै भए पछि सजिलै खेल्न मिल्छ। त्यसैले अचेल सहरका स-साना पार्क, मैदानमा ब्याडमिन्टन खेल्ने चलन बढ्दै छ।
झन् कोरोनापछि स्कुल-कलेजका विद्यार्थीलाई अलि फुर्सद भएको र दुरी राखेर खेल्न मिल्ने भएकाले यो खेलप्रति आकर्षण बढेको छ।
तर ब्याडमिन्टन खेल्दा एउटा समस्या सबैजसोलाई परिरहेको छ, र्याकेट (कसैकसैले ब्याट पनि भन्छन्) को तार बिग्रिने। एउटा मात्र तार चुँडिदा पनि खुकुलो भएर राम्ररी खेल्न समस्या भइरहन्छ।
त्यसैले हामी धेरैको घरमा बिग्रिएको र्याकेट थन्किएको हुन्छ। खेल्नै नमिल्ने भएपछि नयै किन्नुबाहेक विकल्प पनि हुँदैन। यसले खर्च बढाइहाल्छ।
तर र्याकेटको तार मात्रै पनि फेर्न मिल्छ भन्ने धेरैले भेउ पाएका हुँदैनन्। कहाँ फेर्ने भन्ने पनि थाहा हुँदैन अनि हामी सर्वसाधारणलाई ब्याडमिन्टन किन्दा के-कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने पनि थाहा हुँदैन। पसलमा गएर मनपरेको वा सस्तो लागेको किन्छौं।
यो जाडो र फुर्सदिलो समयमा उपयुक्त ब्याडमिन्टन किनेर वा भएकैलाई मर्मत गरेर कसरी खेल्न सकिन्छ त? र्याकेटमा समस्या देखिए कसरी समाधान गर्न सकिन्छ?
यिनै जिज्ञासाको समाधान खोज्दै हामी त्रिपुरेश्वरस्थित 'स्काइ फिट' पुग्यौं।
दशरथ रंगशालाको ठ्याक्कै अगाडि रहेको स्काइ फिट करिब १३ वर्षअघि खुलेको हो। यहाँ धेरै खेलकुद सम्बन्धी चाहिने सबै उपकरण पाइन्छ।
सञ्चालक मनोज श्रेष्ठले लामो समय खेलकुदका सामानको व्यापार गरेकाले उनलाई ब्याडमिन्टनका समस्या कसरी समाधान कसरी गर्न मिल्छ भन्नेबारे ज्ञान छ।
उनका अनुसार ब्याडमिन्टन बिग्रिएमा र्याकेटको तार मात्र फेरेर पुनः खेल्न मिल्छ। यसका लागि र्याकेटमा याँ तार हाल्ने विशेष मेसिन हुन्छ। तार मात्र परिवर्तन गर्दा धेरै महँगो पनि नपर्ने उनले बताए।
यस भिडिओ ब्लगमा हामीले र्याकेटको तार कसरी परिवर्तन गरिन्छ र ब्याडमिन्टन किन्दा कस्ता कुरा ध्यान दिनुपर्छ भन्ने विषय समावेश गरेका छौं।